आईसीसी टी-२० विश्वकपमा दोस्रो जित हासिल गरेसँगै इङ्ग्ल्यान्डको पनि सुपर ८ मा पुग्ने सम्भावना कायमै छ।
शनिबार राति भएको खेलमा डीएलएस मेथडमा नामिबियालाई ४१ रनले हराएसँगै इङ्ग्ल्यान्डको पनि सुपर ८ मा पुग्ने सम्भावना यथावत् रहेको हो।
तर यसका लागि समूह चरणको अन्तिम खेलमा स्कटल्यान्ड हार्नुपर्ने हुन्छ।
समूह बीको अहिले जारी अन्तिम खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई हराए मात्र इङ्ग्ल्यान्ड सुपर ८ मा पुग्नेछ। अन्यथा इङ्ग्ल्यान्ड विश्वकपबाटै बाहिरिनेछ।
३ खेलमा अपराजित अस्ट्रेलिया ६ अंकका साथ शीर्ष स्थानमा छ। ४ खेलबाट ५ अंक भएको इङ्ग्ल्यान्ड दोस्रो र एक खेल कम खेलेको स्कटल्यान्ड समान ५ अंकसहित तेस्रो स्थानमा छन्।
चार खेलमध्ये एक जितेको नामिबिया २ अंक बनाउँदै विश्वकपबाट बाहिरियो। यो समूहबाट चारै खेलमा पराजित ओमान यसअघि नै बाहिरिसकेको छ।
गएराति भएको खेलमा इङ्ग्ल्यान्डले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो।
वर्षाका कारण मैदान ओसिलो भएपछि खेल १० ओभरमा छोट्याइएको थियो। नामिबियाका लागि ओपनर माइकल भान लिगेंनले ३३ रन बनाए। निकोलस डेभिन १८ रन बनाउँदा रिटायर्ट आउट लिए। डेभिड वाइसले २७ रन थपे।
त्यसअघि नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १० ओभरमा ५ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो।
इङ्ग्ल्यान्डका ह्यारी ब्रुक ४७ रनमा अविजित रहे। जोनी बिस्ट्रो ३१, मोइन अली १६ र लियाम लिभिङस्टोमले १३ रन थपे।
गएराति नै समूह एअन्तर्गत भारत र क्यानडाबीचको खेल भने वर्षाका कारण रद्द भएको छ। अमेरिकाको लाउन्डरहिलमा वर्षाका कारण खेलमा टससमेत हुन सकेन।
खेल रद्द भएसँगै दुवै टोलीले समान १ अंक बाँडेका छन्। समुह एबाट भारत अपराजित रहँदै सुपर ८ मा पुगेको छ।
वर्षाले खेल रद्द भएपछि आयोजक अमेरिका सुपर ८ मा पुगेको छ। ४ खेलबाट ३ अंक भएको क्यानडा विश्वकपबाट बाहिरिएको छ।
Shares
प्रतिक्रिया