ad ad

खेल


दुई दशकनजिक आहारारा गोल्डकप, पोखरा फेरि तम्तयार

दुई दशकनजिक आहारारा गोल्डकप, पोखरा फेरि तम्तयार

लक्ष्मी जि.सी
फागुन १४, २०७६ बुधबार ९:४६,

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले गत साता निरीक्षण गरेसँगै आहारारा गोल्डकप पोखरा रंगशालामै हुने निश्चित भएको छ। फागुन २२ देखि शुरु हुने सो प्रतियोगिता चैत १ गते समापन गरिने कार्यक्रम छ।

रंगशालामा पूर्ननिर्माणको काम जारी रहँदा सहारा क्लबले आहारारा गोल्डकप आयोजनाका लागि वैकल्पिक मैदान खोज्नुपर्ने चर्चा पनि सिलवाल पोखरा जानुअघि सम्म चलेकै थियो।

रंगशालामा खेल हुन नसक्ने अवस्थामा पनि गोल्डकप नरोक्ने बरु सहाराको आफ्नै दोब्बिलास्थित मैदानमैं गरेर भएपनि निरन्तरता दिने सोचमा थियो आयोजक।

सदस्य सचिव सिलवालको निरिक्षणसँगै रंगशाला र आयोजनाको निरन्तरताबारे दुविधाको अन्त्य भएको छ।

यो निश्चिततासँगै आहारारा गोल्डकपको १८औं र क्याराभानका नाममा भएको पहिलो संस्करणलाई समेत जोड्दा १९औं संस्करणले सोही रंगशालामा निरन्तरता पाउने भएको छ।

पूर्ननिर्माणका लागि गतवर्ष रंगशाला भत्काइएकै अवस्थामा पनि सहाराले सोही मैदानमा गोल्डकप आयोजना गरेको थियो।

Pokhara Rangashala 2

त्यसो त, त्यसैले गर्दा सो प्रतियोगिताबाट अहिलेसम्मकै सबैभन्दा कम १ लाख रुपैयाँको हाराहारीमा मात्र नाफा भएको थियो। यसअघि साेही प्रतियाेगितामा ३५ लाखसम्म नाफा भएकाे थियाे। सहाराका लागि आयोजनाबाट नाफा आर्जन गर्नु बाध्यकारी जस्तै हो। कारण क्लबले सञ्चालन गर्दै आएको एकेडेमी र त्यहाँ आश्रित बालकहरुको खर्च त्यहि नाफाबाटै व्यवस्था गरिने भएकाले आहा गोल्डकपको आयोजनाले गर्ने कमाई महत्वपूर्ण रहँदै आएको छ।

यसपटक भने सहाराले गतवर्ष भन्दा बढी कमाई गर्ने अपेक्षा गरेको छ। गतवर्षलाई छाड्ने हो भने एउटा संस्करणमा औसतमा २० लाखभन्दा बढी नाफा हुने गरेको आयोजकहरु बताउँछन्।
पोखरा रंगशालाको फेरिएको मुहारका कारण पनि विगतमा भन्दा यसपटक बढि नाफा गर्ने आत्मविश्वास बढेको हो।

सुन्दर रंगशाला
१३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि हतारमा रंगशालाको पूर्ननिर्माण गरिएको थियो। २ महिनाभन्दा लामो समयदेखि पूर्ननिर्माणका अन्य काम जारी रहेकाले पहिलाभन्दा रंगशाला सुन्दर देखिएको छ।

१३ हजारभन्दा बढी दर्शक अट्ने सिट जडान गरिएको छ। रंगशालाले अन्तर्राष्ट्रिय स्तरको झल्को दिने भएको छ। विगतमा भन्दा व्यवस्थापनमा सहज हुने भएकोले पनि दर्शकसंख्यामा वृद्धि हुनसक्ने सम्भावना रहेको बताइएको छ।

AhaRaraCup 3

अविच्छिन्न आयोजना
विगतमा जस्तो अस्थाई प्यारापिट गर्नुपर्ने झन्झटबाट आयोजक अब मुक्त भएको छ। २०५८ बाट शुरु भएको यो प्रतियोगिता अहिलेसम्म कुनै पनि संस्करण रोकिएको छैन। सहाराको यो एउटा गौरवपूर्ण पक्ष हो। माओवादी द्वन्द्वका बेला पनि आहा गोल्डकपले निरन्तरता पाएकै थियो।

अहिले देशकै ठूलो र निरन्तर आयोजना हुने थोरै प्रतियोगितामध्ये एक हो आहा गोल्डकप। गोल्डकपमा आहा राराको नाम जोडिएको १८ वर्ष पुरा हँदैछ। आहारारा मुख्य प्रायोजकको रुपमा जोडिएको भएपनि यो प्रतियोगिताकै पर्यायवाचीका रुपमा स्थापित भइसकेको छ।

Pokhara Rangashala new

सहाराको इतिहास
मुख्यतः सामाजिक भावना राखेर सुरु भएको सहारा क्लबले समय वित्दै जाँदा आफ्नो परिचयलाई पनि फराकिलो बनाएको छ। २०५५ सालमा वसन्त थकालीको नेतृत्वमा सक्रिय युवाहरुले सहारा क्लव गठन गरेका थिए।

पोखरा बसपार्कलाई व्यवस्थित गर्न सार्वजनिक शौचालय निर्माण गर्दै अघि बढेको सहाराले २०५७ मा फुटबल आयोजनामा हात हालेको थियो। पहिलो वर्ष उसले जिल्लास्तरको सहारा कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो।

अर्को वर्ष २०५८ मा ए डिभिजन क्लबहरुलाई समेटेर प्रतियोगिता आयोजना शुरु गर्यो। १८ वर्षअघि शुरु भएको सो यात्रा अहिलेसम्म जारी छ।

२०५९ सालमा पोखराको हिमश्री फुड्सको उत्पादन आहा रारा गोल्डकपको मुख्य प्रायोजनबाट प्रतियोगिताले निरन्तरता पाइरहेको छ। सांगठनिक रुपमा पनि सहारा व्यापक बनेको छ।
विदेशमा बस्ने कास्की (पोखरेली) र आसपासका जिल्लाका नेपालीले सहारा युके, सहारा हङकङ, सहारा अष्ट्रेलिया गठन गर्दै सहारालाई अन्तर्राष्ट्रियरुपमा विस्तार गरेका छन्।

AhaRaraCup 2

सहारा एकेडेमी
सहारा क्लबले २०५८ सालबाट आफ्नै एकेडेमी स्थापना ग¥यो। सुरुको दुई वर्ष प्रशिक्षणको व्यवस्थापन मात्र गरेको क्लबले २०६० बाट आवासीय रुपमा यसले बालकहरुलाई राख्न थाल्यो।
२०६१ सालबाट भने यसले कठिन परिस्थितीका २० जना बालकहरु राख्न थाल्यो। राष्ट्रिय टोलीका पुर्वकप्तान अनिल गुरुङ, अहिले एकेडेमीकै प्रशिक्षक विष्णु गुरुङ सहाराको पहिलो ब्याचका खेलाडी हुन्।

पछि अजित भण्डारी, सुशिल लामा, लक्ष्मण जि.सी., नविन श्रेष्ठलगायत सहाराले उत्पादन गरेका खेलाडी हुन्।

सहाराले २०६२ सालमा पोखराको दोविल्लामा एकेडेमीसहित फुटबल मैदानका लागि जग्गा खरिद भवन निर्माण गर्नुका साथै मैदान तयार पार्यो। अहिले तेस्रो ब्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालक आश्रित छन्।

विगत २०७० सालदेखि दोविल्लामा सञ्चालित एकेडेमीले आवासीय रुपमा निशुल्क शिक्षा, स्वास्थ्य लगायत फुटबल प्रशिक्षण समेत दिदै आएको छ। अनाथहरुको आश्रयस्थल सहारा एकेडेमीमा बाबुआमा मध्ये एकजना नभएका बालकलाई आवासीय सुविधा दिइन्छ।

नियमित क्लवहरु
क्याराभान गोल्डकपदेखि नै नेपाल पुलिस क्लब प्रतियोगिताको नियमित सहभागी हो। छैटौ संस्करणमा मात्र सहभागी नभएको मनाङमस्र्याङदी क्लव प्रतियोगिताको अर्को नियमित क्लव हो।
अहिलेसम्म नेपाल पुलिस क्लबले ६ पटक उपाधि उचालेको छ भने ३ पटक उपविजेता बनेको छ। मनाङले ५ पटक उपाधि जित्दा त्यति नै पटक उपविजेतामा सीमित बनेको थियो।

२०६१ सालबाट सहभागी भएको रुस्लान थ्रीस्टार क्लवले ५ पटक आहाराराको उपाधि आफ्नो पोल्टामा पारिसकेको छ भने १ पटक उपविजेता बनेको थियो।

यस्तै २०६२ सालमा अफ्रिकन युनाइटेड क्लवले उपाधि जित्दा २०७० मा आयोजक सहारा क्लवले १ पटक उपाधिको स्वाद लिन पाएको छ।

२०६० सालदेखि खेल्न शुरु गरेको नेपालकै बलियो विभागीय टोली त्रिभुवन आर्मी क्लवले भने यो गोल्डकपको उपाधी हासिल गर्न सकेको छैन। १२ पटक सहभागी हुँदा आर्मी ४ पटक उपविजेता बनेको छ।

क्याराभानको नाममा गरिएको पहिलो आयोजनामा ५० हजार रुपैयाँ प्रथम पुरस्कार राखेर सुरु गरिएको थियो। क्याराभानको नामबाट एक सिजनमात्र खेलियो भने त्यसले पछि आहारारा गोल्डकपको नाम पायो।

आहारारा नामाकरण गरिएपछि पहिलो र दोश्रो संस्करणमा प्रथमलाई २५ हजार रुपैयाँ पुरस्कार राखिएको थियो।

त्यसपछि हालसम्म आइपुग्दा पुरस्कार राशीमा उल्लेख्य वृद्धि गरिएको छ। यसवर्ष आयोजना हुने १९औं संस्करणको विजेताले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

यसअघि विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ पुरस्कार पाएका थिए।

आरा रारा गोल्डकपमा यो पटक ए डिभिजनका ७ सहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन रुस्लान थ्रीस्टार र उपविजेता त्रिभुवन आर्मीसहित नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब, ब्रिगेड ब्वाइज, नेपाल पुलिस क्लब, एपीएफ क्लब र संकटा क्लब सहभागी हुनेछन्। यस्तै झापा–११, गान्टोक सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लब छन्।

AhaRaraCup 4

आहाराराका विजेताहरु
क्याराभान गोल्डकप २०५८– नेपाल पुलिस क्लव– मनाङमर्स्याङदी क्लव २–१
आहारारा गोल्डकप २०५९– नेपाल पुलिस क्लव– फ्रेण्ड्स क्लव १–०
आहारारा गोल्डकप २०६०– मनाङमर्स्याङदी क्लव–नेपाल पुलिस क्लव ३–१
आहारारा गोल्डकप २०६१– मनाङमर्स्याङदी क्लव – नेपाल पुलिस क्लव ३–२
आहारारा गोल्डकप २०६२– अफ्रिकन युनाइटेड क्लव–नेपाल पुलिस क्लव २–०
आहारारा गोल्डकप २०६३– थ्रीस्टार क्लव– मनाङमर्स्याङदी क्लव १–१ (४–३)
आहारारा गोल्डकप २०६४– नेपाल पुलिस क्लव–एपीएफ क्लव २–०
आहारारा गोल्डकप २०६५– पुलिस क्लव– त्रिभुवन आर्मी ५–०
आहारारा गोल्डकप २०६६– नेपाल पुलिस क्लव–त्रिभुवन आर्मी १–०
आहारारा गोल्डकप २०६७– थ्रीस्टार क्लव–मनाङमर्स्याङदी क्लव १–०
आहारारा गोल्डकप २०६८– मनाङमर्स्याङदी क्लव–जावलाखेल युथ क्लव २–०
आहारारा गोल्डकप २०६९– थ्रीस्टार क्लव–सहारा क्लव १–०
आहारारा गोल्डकप २०७०– सहारा क्लव– मनाङमर्स्याङदी क्लव १–०
आहारारा गोल्डकप २०७१– थ्रीस्टार– मनाङमर्स्याङदी क्लव १–०
आहारारा गोल्डकप २०७२– मनाङमर्स्याङदी क्लव– त्रिभुवन आर्मी १–०
आहारारा गोल्डकप २०७३– मनाङमर्स्याङदी क्लव– सहारा १–०
आहारारा गोल्डकप २०७४– नेपाल पुलिस क्लव– थ्रीस्टार १–०
आहारारा गोल्डकप २०७५– थ्रीस्टार–त्रिभुवन आर्मी २–२ (सडेनडेथमा थ्रीस्टार विजयी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .