ad ad

खेल


गौतम गम्भीर : आक्रामक खेलाडीदेखि रणनीतिक प्रशिक्षकसम्म

गौतम गम्भीर : आक्रामक खेलाडीदेखि रणनीतिक प्रशिक्षकसम्म

नेपालखबर
असार २६, २०८१ बुधबार १७:५३,

४२ वर्षको उमेरमा गौतम गम्भीर भारतीय क्रिकेट टोलीको इतिहासमै सबैभन्दा कान्छो मुख्य प्रशिक्षक बनेका छन्। हालै सम्पन्न टी–२० विश्वकप क्रिकेटसँगै राहुल द्रविडको कार्यकाल सकिएपछि गम्भीर मुख्य प्रशिक्षक बनेका हुन्।

परिवारसँग समय बिताउने भन्दै द्रविडले सो कार्यकाल लम्ब्याउन मानेका थिएनन्। उनको ठाउँ राष्ट्रिय टोलीमा उनकै ब्याटिङ साझेदार रहेका भीभीएस लक्ष्मणले लिनसक्ने अड्कल काटिएको थियो। तर, लक्ष्मणले आफू नेसनल क्रिकेट एकेडेमीमै रहन चाहेको बताए। जसले गर्दा नयाँ प्रशिक्षकले मौका पाए।

गएको छसात महिनामा भएका अनपेक्षित घटनाहरूले गम्भीरलाई यो जिम्मेवारी प्राप्त गर्न सघायो।

गत नोभेम्बरमा गम्भीरले आईपीएल टोली लखनउ सुपरजायन्टको मेन्टोरबाट अचानक राजीनामा दिए। सो टोलीलाई यसअघि दुई सिजन उनले नकआउट चरणमा पुर्‍याएका थिए। त्यसपछि उनी आईपीएलकै कोलकाता नाइट राइडरसँग आबद्ध भए, जहाँ उनले क्याप्टेनका रूपमा दुईपटक, २०१२ र २०१४ मा उपाधि उचालेका थिए।

उनी २०१८ मा क्रिकेटबाट सन्न्यास लिएपछि राजनीतिमा लागेका थिए। २०१९ मा दिल्लीबाट चुनाव जितेर उनी भाजपाको सांसद भएका थिए। तर, मार्चमा उनले आफू फेरि क्रिकेटमा लाग्ने भन्दै राजनीति छाड्ने जानकारी नेतृत्वलाई दिए।

र, जब कोलकाताले एकपछि अर्को राम्रो प्रदर्शन गर्दै ट्रफी उचाल्यो, तब भारतीय राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मा उनलाई दिनुपर्ने आवाज उठ्न थाल्यो।

भारतमा मुख्य प्रशिक्षक छान्ने प्रक्रिया जटिल छ। बीसीसीआईले सञ्चारमाध्यममार्फत पहिले आवेदन माग्छ। स्वदेशी र विदेशी दुवैखाले उम्मेदवारले आवेदन दिन सक्छन्। ३० टेस्ट वा ५० ओडीआई खेलेको र ६० वर्षमुनिको हुनुपर्ने लगायतका विभिन्न मापदण्ड तोकिन्छन्।

आवेदनलाई बीसीसीआईको सल्लाहकार समितिले समीक्षा गर्छ। र, छनोट भएका सीमित उम्मेदवारलाई अन्तर्वार्तामा बोलाइन्छ। जसले क्रिकेटलाई अघि बढाउने आफ्नो भिजन प्रस्तुत गर्नुपर्छ।

जसले सबैभन्दा गतिलो रणनीति र प्रक्रिया अघि सार्छ, उसलाई यो जिम्मेवारी दिइन्छ। तर, गम्भीरको हकमा कोही प्रतिस्पर्धी भएनन्। त्यसैले यो काम सजिलोगरी भयो।

यसपटक बीसीसीआईले आवेदन माग गर्नेबित्तिकै केही विदेशी प्रशिक्षकसम्म प्रस्ताव पुगेको चर्चा ती उम्मेदवार आफैँले गरे। तर, त्यो चर्चा यसै सेलायो। 

विगतमा गुटफुट, पक्षपात र क्षेत्रीय संकीर्णताबाट बच्न विदेशी प्रशिक्षकको खोजी हुन्थ्यो। तर, आजभोलि भारतको लोकाचार, संस्कृति र मनोविज्ञान बुझ्ने स्वदेशी प्रशिक्षकलाई प्राथमिकता दिइन्छ।

भारतीय टोलीका पूर्व ओपनर र महिला टोलीका पूर्वप्रशिक्षक डब्ल्यू रमनले यो जिम्मेवारीमा रुचि देखाएका थिए। तर, ५९ वर्षको उमेरमा बीसीसीआईलाई मनाउने ३ वर्षे योजना आफूसँग नरहेको महसुस गरे र पछि हटे।

आईपीएलमा कोलकातालाई जिताएपछि गम्भीर यसै पनि प्रमुख दाबेदार थिए। त्यसैले द्रविडले छाडेपछि गम्भीरको नियुक्ति अपरिहार्य हुन पुग्यो।

यसै पनि गम्भीर यो जिम्मेवारीका लागि योग्य थिए। आईपीएलबाहेक पनि भारतीय टोलीका खेलाडीका रूपमा उनको राम्रो रेकर्ड छ। स्टालिस बायाँ हाते ब्याट्सम्यान उनले २००३ मा डेब्यु गरेका थिए। 

भारतका सबैभन्दा सफल ओपनरमध्ये रहेका उनले हरेक फर्म्याटमा राम्रो प्रदर्शन गरे। उदाहरणका लागि २००९ मा न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा उनले १३७ रन बनाउन ४३६ बल खेले। जसले यो खेल बचायो। र, भारतले सिरिज पनि जित्यो।

त्यसको दुई वर्षअघि पहिलो टी२० विश्वकप फाइनलमा भारतले पाकिस्तानविरुद्ध खेलेको थियो। जसमा गम्भीर सबैभन्दा बढी ७५ रन बनाएका थिए। त्यसैगरी, २०११ को एक दिवसीय विश्वकपम फाइनलमा श्रीलंकाविरुद्ध उनले ९७ रन बनाए।

२०१२ मा अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिज ४–० ले गुमाएपछि भारतको कप्तानमा एमएस धोनीको ठाउँ गम्भीरले लिने अपेक्षा गरिएको थियो। तर, बोर्ड अध्यक्षले हस्तक्षेप गरेपछि गम्भीर कप्तान बन्न पाएनन्। 

गम्भीरको व्यवहार आक्रामक र ठाडो छ। उनी हम्मेसी मुस्कुराउँदैनन्। जसका कारण आलोचकहरू उनीसँग कुरा गर्न कठिन रहेको बताउँछन्।

गम्भीर भने राम्रो प्रदर्शनभन्दा स्टार खेलाडीमा ध्यान केन्द्रित गर्ने भारतको चलन आफूलाई मन नपर्ने बताउँछन्। भारतीय क्रिकेटको भलाइलाई खेलाडीको ब्रान्ड भ्यालुले छोप्न नहुने उनको तर्क छ।

भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको काम सबैभन्दा प्रतिष्ठित जागिरमा पर्छ। यसमा अपार प्रतिष्ठा र शक्तिका अलावा वार्षिक १० लाख डलर तलब र त्यसमाथि बोनस पनि प्राप्त हुन्छ।

तर, क्रिकेटको उन्माद रहेको देशमा यो जिम्मेवारी निकै बोझिलो र दबाबपूर्ण छ। पूर्ववर्ती राहुल द्रविड र रवि शास्त्रीहरूको सफलताका कारण अपेक्षा अझ बढेको छ।

आउँदो ३ वर्ष भारतीय टोली निकै व्यस्त रहनेछ। यो वर्ष भारतले च्याम्पियन्स ट्रफी खेल्नेछ भने अर्को वर्ष टेस्ट च्याम्पियनसिप। त्यस्तै २०२६ मा टी२० विश्वकप र २०२७ ओडीआई विश्वकप छ।

गम्भीरले ड्रेसिङ रुमका सुपरस्टारहरूलाई सम्हाल्नुपर्नेछ, खेलाडीहरूको पुस्तान्तरणलाई व्यवस्थापन गर्नुपर्ने छ र क्रिकेटमा भारतको दबदबा कायम राख्न तिनको सोच, रणनीति र सीपलाई बदल्नुपर्नेछ।

मुख्य प्रशिक्षक हुनु प्रतिष्ठाको विषय हो तर गम्भीरको सामुन्ने अति कठिन काम छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .