ad ad

खेल


ठूला ब्रान्डको रोजाइमा स्टार खेलाडी

ठूला ब्रान्डको रोजाइमा स्टार खेलाडी

लक्ष्मी जि.सी
फागुन १६, २०७६ शुक्रबार १२:३२,

ठूला कम्पनीहरुले आफ्ना उत्पादनको प्रचारका लागि विज्ञापनमा चर्चित खेलाडीहरुको सहयोग लिने प्रचलन संसारभर बढ्दो छ। त्यही ट्रेन्ड समाएकाे छ नेपाली बजारले पनि।

नयाँ ‘प्रोडक्ट’ लाई पहिलोपटक बजारमा ल्याउँदा वा भइरहेकै उत्पादनलाई नयाँ रुप, साजसज्जा र विशेषतासहित उपभोक्तामाझ लोकप्रिय बनाउने योजनालाई सफल पार्न खेलाडीहरुको साथ लिने अभ्यास बढ्दो छ।

स्वास्थ्य र प्रतिस्पर्धाका दृष्टिकोणमा खेलाडीलाई उदाहरणीय रुपमा लिने गरिन्छ। उनीहरुले अन्तर्राष्ट्रिय मञ्चमा देशलाई नै प्रतिनिधित्व गरिरहेका हुन्छन् भने देशकै तर्फबाट अर्को मुलुकको खेलाडीसँग ज्यानको बाजी लगाएर लडिरहेका हुन्छन्।

राष्ट्रिय खेलाडीले हार्दा देशले हार्छ भने उनीहरुले जित्दा देशले नै जित्छ। त्यसैले उनीहरुप्रति युवा पुस्ता मात्र नभई आममानिसहरुको विशेष आकर्षण र सम्मान हुन्छ। र, त्यो ‘क्रेज’लाई आफ्ना उत्पादनको बिक्री र प्रवर्द्धनमा उपयोग गर्न चाहन्छन्, व्यवसायिक संस्थाहरु।

अन्तर्राष्ट्रिय फुटबलका सफल खेलाडी क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सीदेखि अन्य खेलाडी विभिन्न विज्ञापनमा देखिन्छन्।

उनीहरुले फुटबलबाट जति आम्दानी गर्छन्, त्योभन्दा बढी विज्ञापनबाट कमाउने गरेको पाइन्छ। भारतको सबैभन्दा लोकप्रिय खेलका रुपमा रहेको क्रिकेट टोलीका कप्तान विराट कोहली, पूर्वकप्तान महेन्द्रसिंह धोनी पनि ठूला कम्पनीका विज्ञापनमा मोडलिङ गर्दै आएका छन्। खेलाडीहरुको समग्र क्रेज र युवा पुस्तामा अझ बढी प्रभाव पर्ने भएकाले पनि व्यापारिक कम्पनीको रोजाइमा खेलाडीहरु पर्ने गरेका हुन्।

gyanendra malla brand 1ज्ञानेन्द्र मल्ल

नेपालमा पनि खेलाडीलाई विज्ञापनमा प्रयोग गर्ने परम्परा सुरु भएको लामो समय भइसकेको छ। पहिले सानो संख्याका खेलाडीमा सीमित यो अभ्यास अहिले फैलिँदो छ।

पछिल्लो केहि वर्षयता सबैभन्दा बढी विज्ञापनमा देखिने खेलाडी हुन् राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का। अहिलेसम्म उनी झन्डै दुई दर्जन कम्पनीको ब्रान्ड एम्बेसडर बनिसकेका छन्।
यहि हप्ता मुलुककै दुई ठूला कम्पनीको ब्रान्ड एम्बेसडर बनेका पारस अहिले ११ वटा कम्पनीको उत्पादनहरु प्रबद्र्धनमा सघाएका छन्।

बुधबार महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुपले खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गर्यो। २ वर्षका लागि ब्रान्ड एम्बेसडर बनेका उनी महिन्द्राको एक्सयुभी३०० गाडीसहित घर फर्केका थिए।

उनको त्यो सम्झौतालाई नेपालको सन्दर्भमा एउटा लोभलाग्दो ‘डिल’ को रुपमा हेरिएको छ। त्यसकै एक दिनअघि मात्र नेपाल टेलिकमले पनि उनलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो। नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले युवा पुस्तामा पारसको निकै राम्रो प्रभाव रहेकाले प्रचारका लागि प्रभावकारी हुने ठानेर सम्झौता गरिएको बताए।

पारस अहिले अग्नी ग्रुप, नेपाल टेलिकमसँगै नेसनल लाइफ इन्सुरेन्स, मगंलम पाइप, म्याजिक सुज, नेपाल टेलिकम, हिमालयन ह्वाइट हाउस कलेज, महालक्ष्मी केवल, रुस्लान क्रिकेट, भिरोतो र टुइस्टर कम्पनीका एम्बेसडर छन्।

पारस व्यापारिक संस्थाहरुसँग आवद्ध हुँदा आर्थिक अवस्थामा टेवा पुग्ने बताउँछन्।

‘यसले खेलाडीलाई निकै राम्रो गर्छ, खेलाडी विजनेश कम्पनीसँग जोडिँदा उनीहरुलाई आर्थिक रुपमा पनि बलियो बनाउँछ,’ उनले भने, ‘खेलले समाजलाई जोड्ने भएकाले पनि सायद खेलाडी उहाँहरुको रोजाइमा परेको हुनसक्छ।’

कुनै पनि व्यापारिक कम्पनी वा अरुले यसै विश्वास नगर्ने र त्यसका लागि खेलाडीले पनि आफुलाई प्रमाणित गर्नुपर्ने तर्क पारसको छ।

कुनै कम्पनीको ब्रान्ड एम्बेसडर बन्नका लागि खेलाडीले पनि निकै मेहनत गर्नुपर्ने खड्काको अनुभव छ।

‘प्रतिस्पर्धामा प्राप्त हुने सफलताको पनि निकै महत्वपूर्ण अर्थ हुन्छ,’ उनले भने, ‘खेलमा जति धेरै मेहनत गरेपनि नतिजा नआउने हो भने कसैले वास्ता गर्दैन।’

त्यसैले गर्दा पनि निरन्तर मेहनतबिना स्थापित खेलाडी बन्न र टिक्न नसकिने उनले बताए।

पारससँगै अन्य क्रिकेटर पनि व्यापारिक संस्थाहरुको रोजाइमा छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित हुँदै गएका नेपाली राष्ट्रिय टोलीका स्टार स्पिनर सन्दीप लामिछाने पनि ठुला स‌ंस्थाहरुकाे राेजाइमा छन्। 

उनी अहिले ७ वटा कम्पनीसँग जोडिएका छन्। टाटा मोटर्स, सानिमा बैंक, एनसेल, जेभियर इन्टरनेशनल कलेज, सुट्स दयाट फिटलगायत कम्पनीका उनी ब्रान्ड एम्बेसडर हुन्।

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल कोशी मल्टीपल कलेज र रुस्लान क्रिकेटको ब्रान्ड एम्बेसडर छन्।

अन्य क्रिकेटर शरद भेषावकर रुस्लान क्रिकेट र नेपाल बगंलादेश बैंकको एम्बेसडर छन्। वसन्त रेग्मी पनि बंग्लादेश बैंकसँग आबद्ध छन्।

क्रिकेट मात्र हैन फुटबल, भलिबलका खेलाडीहरु पनि बिभिन्न कम्पनीमा आवद्ध छन्। पछिल्लो समय राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ पेय पदार्थ १०० प्लसको ब्रान्ड एम्बेसडर हुन्। यस्तै भलिवलकी स्टार स्पाइकर प्रतिभा माली सेन्चुरी बैंकको एम्बेसडर रहिसकेकी छन्।

kiran chemjong 1किरण चेम्जोङ

तर धैरै व्यापारिक घरानाको नजर भने क्रिकेटमा नै परेको देखिन्छ।

पारस महासचिव रहेको क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलाडीलाई विभिन्न कम्पनीसँग जोड्ने अभियान नै सुरु गरेको थियो। जसको फलस्वरुप केहि बैंकले क्रिकेटरलाई आफ्ना ब्रान्ड एम्बेसडर बनाएका थिए।

सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले आफुहरु अहिले पनि खेलाडीलाई विभिन्न कम्पनीसँग जोड्नका लागि प्रयासरत रहेको बताउँछन्।

‘हामी प्रारम्भिक चरणमैं छौँ र यसका लागि काम गरिरहेका छौं। व्यवसायिकता विकास हुँदै जाँदा कम्पनीहरु जोडिने क्रम बढ्दो छ। यसले खेलाडीलाई सहज हुनेछ,’ उनले भने।

पाण्डेको बुझाईमा खेलाडीलाई ब्रान्ड एम्बेसडर नियुक्त गर्न व्यापारिक प्रतिष्ठानहरुको इच्छा देखाउने क्रम बढ्दो छ। खेलाडीलाई अनुबन्ध गर्न कम्पनीहरु अझ त्यसमा पनि बैंकहरु बढी इच्छुक भएको उनको अनुभव छ।

‘उदियमान खेलाडीलाई पनि अनुबन्ध गर्न विभिन्न कम्पनीहरुले चासो देखाउन थालेका छन्। हामीले पनि त्यसका लागि पहल लिइरहेका छौ,’ पाण्डेले भने।

पोशाकको छनोट वा जीवनशैलीको अनुसरण गर्दा युवापुस्ताको ठूलो संख्याले खेलाडीलाई नै ‘रोलमोडेल’ ठान्छन् र उनीहरुकै सिको गर्छन्। त्यसको सिधा प्रभाव पर्छ, उनीहरुले प्रयोग गर्ने सामानदेखि खानपिनको रोजाइसम्म। त्यसैले गर्दा नै पछिल्लोसमय ठूला कम्पनीको रोजाइमा परेका छन् खेलाडीहरु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .