ad ad

खेल


फुटबलमा विभेदः महिला खेलाडीकाे पारिश्रमिक पुरुषकाे भन्दा आधा

फुटबलमा विभेदः महिला खेलाडीकाे पारिश्रमिक पुरुषकाे भन्दा आधा

लक्ष्मी जि.सी
फागुन २७, २०७६ मंगलबार १३:५०,

सफलताको संभावना बढी रहेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले अब महिला फुटबललाई पनि उत्तिकै प्राथमिकता दिने बताउँदै आएको छ।

राष्ट्रिय महिला टोलीको प्रदर्शनलाई हेर्दा दक्षिण एसियामा नेपाल भारतभन्दा मात्र पछि रहेको छ। पछिल्लो डेढवर्ष महिला टोलीले खेलेका सबै ४ नकआउट प्रतियोगितामा फाइनल यात्रा तय गरेको छ।

त्यस्तै पहिलोपटक सहभागिता जनाएको ओलम्पिक छनोटमा पनि नेपाली महिला टोलीले दोस्रो चरणसम्म पुगेको थियो।

नतिजा उत्साहजनक भएपनि एन्फाले महिला र पुरुष टोलीका खेलाडीलाई दिने पारिश्रमिकमा भने चरम विभेद गर्दै आएको छ।

राष्ट्रिय पुरुष टोलीका खेलाडीले मासिक १५ हजार रुपैयाँ तलब पाउँदा महिला खेलाडीले भने त्यसको आधा भन्दा पनि कम ७ हजार रुपैयाँमात्रै पाउँछन्।

यसअघि महिला खेलाडीले मासिक ५ हजार र पुरुष खेलाडीले १० हजार रुपैयाँ पाउँथे। एन्फाले पछिल्लो पटक महिला खेलाडीको २ हजार र पुरुषको ५ हजार पारिश्रमिक बढाएको थियो।

एन्फाका प्रवक्ता किरण राई र राष्ट्रिय पुरुष टोलीका सदस्य विक्रम लामा भने महिलाको दाँजोमा पुरुषहरुको खेल बढी हुने भएकोले पारिश्रमिक पनि बढी हुनु स्वभाविक भएको तर्क गर्छन्।

तर पछिल्लो एकवर्ष (२०१९)को तथ्याङ्कअनुसार सिनियर टोलीतर्फ पुरुषभन्दा महिला टोलीले बढी खेलेका छन्।

FootballTeam male 1

समान प्रकृतिको जिम्मेवारीका लागि पारिश्रमिकमा आफुहरुलाई विभेद गरेको महिला फुटबलरले आवाज उठाउने गरेका छन्। तर, त्यसको सुनुवाई भने भएको छैन। परिवर्तनको नारासहित नेतृत्वमा आएको नयाँ कार्यसमितिले पनि विभेद हटाउने पहल गरेको छैन।

एन्फाले दिने पारिश्रमिकले काठमाडौंको महंगीमा बाँच्न कठिन हुने महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाको भनाई छ।

‘एन्फाको तलबले कोठाभाडा समेत तिर्न गाह्रो छ। पुरुष खेलाडीको तुलनामा हामीलाई कम सोँच्ने गरिन्छ। खेलमा हामीले पनि उत्तिकै मेहनत गर्नपर्छ, तर मासिक तलब बुझ्दा पुरुषको भन्दा आधा कम लिनुपर्दा नमज्जा त लाग्छ नि,’ उनले भनिन्।

बराबरी नै हुनुपर्छ वा पर्दैन भन्ने माग भन्दा पनि आधाभन्दा बढीको भिन्नता हुँदा निकै नै विभेदपूर्ण अनुभुति भएको उनले बताइन्।

‘हामी बराबर नै दिनुपर्छ भन्दैनौ, तर खेलेर बाँच्न सकियोस्। हामी सीमित खेलाडी विभागीय टोलीहरुमा (सेना, प्रहरी) छौ, बिभागीय टोलीमा नहुने खेलाडीलाई झन् गाह्रो हुन्छ,’ उनले थपिन्।

पुरुष टोलीका विक्रमले महिलाका प्रतियोगिताहरु कम हुनेहुँदा यसमा एन्फाले सोँच्नुपर्ने बताउँछन्।

‘हाम्रो चाहना पनि समान हुनपर्छ भन्दा पनि एन्फाले महिला टोलीलाई पनि राम्रो गरोस् भन्ने चाहान हो। हाम्रोभन्दा धेरै गर्दा पनि फरक पदैन,’ उनले भने।

अहिले प्राप्त सुविधाले महिला खेलाडीलाई जीवनयापनमा सहज नहुनेमा विक्रम सहमत छन्।

‘उहाँहरुको हाम्रो जस्तो धेरै खेल पनि हुँदैन, सीमित प्रतियोगिता मात्र हुन्छ। बिभागमा हुनेलाई केहि सहज होला,’ उनले थपे, ‘सबैको राम्रो जागिर नहुन पनि सक्छ। स्थानीय प्रतियोगिता कम छन्। स्थानीय प्रतियोगिता कम हुँदा क्लबले पनि दिँदैन,’ उनले थपे।

पुरुषको दाँजोमा महिला खेलाडीको अन्य नियमित आम्दानी नहुने भएकाले एन्फाले दिने सुविधामा उसले बिचार गर्नुपर्ने उनको तर्क छ।

‘हामीले नियमित क्लबबाट खेलेर आम्दानी गरिरहेका हुन्छौ, तर महिलाहरुको त्यस्तो हुँदैन। केही मात्र बिभागमा छन्,’ उनले भने, ‘महिला खेलाडीहरुका लागि अझै धेरै सुविधाहरु हुनुपर्छ। हामीहरुले धेरै खेल्न पाउँछौ, त्यहाँबाट केही राम्रो आम्दानी हुन्छ।’

भाषणमा प्राथमिकतामा राखेपनि व्यवहारमा भने एन्फाको विभेद प्रष्ट झल्किने महिला खेलाडीको गुनासो छ।

तर एन्फा प्रवक्ता किरण राई भने महिलाको तलब विगतमा भन्दा बढेको र क्रमिकरुपमा बढ्दै जाने दाबी गर्छन।

‘अन्तर्राष्ट्रियस्तरमा पनि गतिविधि पनि पुरुष फुटबलकै बढि छ र लगानी पनि पुरुषमै बढि छ,’ उनले भने, ‘नेपालको अवस्था पनि त्यस्तै हो। महिलाको तुलनामा पुरुषहरुले अन्तराष्ट्रिय खेल धेरै खेलिरहेका छन्। त्यही हिसाबमा पुरुषहरुको तलब धेरै हो। तर महिलाहरुको लागि हामी आफ्नो क्षमताको हिसाबले गरिरहेका छौ।’

एन्फाको आर्थिक क्षमतामा बृद्धिसँगै महिलाहरुको कार्यक्रम, पारिश्रमिक र गतिविधिलाई तिव्रता दिने योजनामा रहेको प्रवक्ता राईले बताए।

‘पुरुषहरुको गतिविधि महिलाहरुभन्दा धेरै छ, हामीले त्यसकै आधारमा सुविधा तय गर्नुपर्छ,’ उनले थपे।

महिला–पुरुषको पारिश्रमिक बराबर गर्नुभन्दा पनि जीविकोपार्जनको भरपर्दो आधार हुनेगरि सुविधा बढाउनेबारे आगामी दिनमा एन्फाले सोच्ने उनको तर्क छ।

पछिल्लो डेढ बर्षमा महिला र पुरुष टोलीले खेलेका खेल
महिला फुटबलमा सन् २०१९ को नतिजालाई मात्र हेर्ने हो भने ओलम्पिक छनोटको दोस्रो राउण्डसम्म पुग्नुलाई ठुलो उपलब्धिका रुपमा लिन सकिन्छ। यो बीचमा महिला टोलीले ४ वटा फाइनल खेल्दा सबैमा उपविजेता भयो। गत चैतमा विराटनगरमा भएको साफ च्याम्पियनसिपमा आयोजक राष्ट्र समेत रहेको नेपाल भारतसँग ३–१ ले पराजित भएको थियो।

गत भदौमा किर्गीस्तानमा भएको नादेझ्दा कपको फाइनलमा उज्वेकिस्तानविरुद्ध ३–२ ले पराजित भयो। यस्तै घरेलु मैदानमा भएको १३औं दक्षिण एशियाली खेलकुद सागमा भारतसँग २–० ले स्तब्ध हुँदै उपविजेतामा नै सीमित भएको थियो।

यो बीचमा नेपालले विराटनगर, किर्गिस्तान र पोखरामा गरि ४ वटा प्रतियोगिता खेल्यो। ओलम्पिक छनोटको पहिलो र दोस्रो राउण्डमा समान ३ खेल गरी ६ खेल खेल्दा चीनमा स्थानीय क्लवसँग ३ मैत्रीपुर्ण खेल खेलेको थियो।

यहि अवधिमा पुरुष टोलीले विश्वकप छनोटका ५ खेल खेल्दा १ मा मात्र जित हासिल ग¥यो। नेपालले २०१९ मा चाइनिज ताइपेइलाई २–० ले पराजित गर्नु नै पुरुष टोलीको ठुलो उपलब्धीको रुपमा मानिन्छ।

यो बीचमा नेपालले कुवेतसँग २, मलेसिया र चाइनिज ताइपेइ र म्यानमारसँग समान १ मैत्रीपुर्ण खेल खेलेको छ।

महिला फुटबल
हिरो गोल्डकप भारत २०१९ फेबु्रअरी: नेपाल–म्यानमार १–३
साफ च्याम्पियनसिप विराटनगर २०१९ मार्च: नेपाल–भारत १–३
नादेझ्दा कप म्यानमार २०१९ अगष्ट: नेपाल–उज्वेकिस्तान २–३

ओलम्पिक क्वालिफायरः दोस्रो चरण
१३औं दक्षिण एशियाली खेलकुद पोखरा २०१९: नेपाल–भारत ०–२

पुरुष फुटबल
फिफा विश्वकप छनोट २०२२
२०१९ सेप्टेम्बरः नेपाल–कुवेत ०–७
२०१९ सेप्टेम्बरः नेपाल–चाइनिज ताइपेई २–०
२०१९ अक्टोबरः नेपाल– अष्ट्रेलिया ०–५
२०१९ अक्टोबरः नेपाल–जोर्डन ०–३
२०१९ नोभेम्बरः नेपाल– कुवेत ०–१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .