ad ad

खेल


पोखरा रंगशालाको मुहार फेरिँदा सँगैको प्रशिक्षण मैदान निर्माण अलपत्र

पोखरा रंगशालाको मुहार फेरिँदा सँगैको प्रशिक्षण मैदान निर्माण अलपत्र

लक्ष्मी जि.सी
चैत ४, २०७६ मंगलबार १३:४७,

भूकम्पपछिको पूननिर्माण र त्यसलगत्तै आयोजना गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका कारण पोखरा रंगशालाको मुहार फेरिएको छ।

गत मंसिरमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबल प्रतियोगिता गरिएको पोखरा रंगशालाको रुप त्यसपछि पनि थप चम्किएको छ।

सागका लागि १३ हजार पुर्‍याइएको रंगशालाको दर्शक क्षमता बढाएर गतसाता सम्पन्न आहारारा गोल्डकपका लागि लक्षित गर्दै झन्डै १८ हजार पुर्‍याइएको छ।

अन्तर्राष्ट्रिय मैदानको झलक दिनेगरि रंगशालाको दर्शक क्षमता अझै थपेर २० हजार पुर्‍याउने लक्ष्य रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले घोषणा गरिसकेको छ।

अर्को बर्ष आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि पोखरा रंगशालालाई मुख्य आयोजनास्थलको रुपमा तयार गरिँदैछ। त्यसैले आउने दिनमा समेत सो रंगशालाको स्तरोन्नति गर्ने कामले प्राथमिकता पाउने देखिन्छ।

पोखरा रगंशाला परिसरभित्रै बहुउदेश्यीय कभर्ड हल, आर्चरी मैदान, क्रिकेट स्टेडियम, भलिबल कोर्ट, स्विमिङ पुल लगायतका खेलकुद पुर्वाधार छन्। तीमध्ये कुनै बनिसकेका छन् भने कुनै बन्ने प्रक्रियामा छन्।

तर, त्यहि रंगशालासँगै जोडिएको फुटबल प्रशिक्षण मैदान निर्माणको काम भने अहिले अलपत्र अवस्थामा छ। साग सकिएसँगै प्रशिक्षण मैदान निर्माणको काम पनि ठप्प छ।

१३औं सागका बेला नेपाली महिला टोलीले प्रशिक्षणका लागि नेपाली सेनाको विजयपुरस्थित मैदान र सहारा क्लबको दोब्बिलास्थित एकेडेमीको मैदानमा प्रशिक्षण गरेका थिए।

बहुउद्देश्यीय कभर्ड हलसँगै रहेको सो फुटबल प्रशिक्षण मैदानका लागि ९२ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
तर अहिलेसम्म त्यसका लागि ३० लाख रुपैयाँ मात्र प्राप्त भएको र त्यहि रकम बराबरको काम मात्र भएको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए।

‘हामीले माग गरेको बजेटमध्ये ३० लाख रुपैयाँ मात्र प्राप्त भयो। त्यही पैसाले हामीले माटोहरु भर्ने काम गरेका थियौं,’ उनले भने, ‘त्यसपछि बजेट थपिएको छैन। आएपछि हामी काम सुरु गर्नेछौ।’

उनका अनुसार बजेट अभावमा मंसिरदेखि नै निर्माणकार्य रोकिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट बजेट प्राप्त नभए स्थानीय निकायसँग गुहारेर भए पनि योजना पुरा गर्ने लक्ष्य रहेको योगीले सुनाए।

‘प्रदेश सरकार र पोखरा नगरपालिकासँग यो प्रस्ताव राख्नेछौं,’ उनले थपे, ‘साधनस्रोत समयमा उपलब्ध हुने हो भने हामी ३ महिनामा काम सक्नेछौं।’

उनले स्थानीय निकायहरुसँग सहयोगका लागि प्रस्ताव पेश गरिसकेको बताए।

Pokhara training 1

राखेपका इन्जिनियर प्रमिश ताम्राकारका अनुसार प्रशिक्षणका लागि बन्न लागेको मैदान १ सय १५ मिटर लम्बाई र ७३ मिटर चौडाईमा फैलिएको छ।

मैदानको वरिपरि जाली लगाउन, चेन्जिङ रुम र नाली बनाउनका लागि समेत गरेर ९२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

‘त्यसका लागि रकम अभाव भएको बताइएकोले अहिले मैदानको मात्रै काम हुनेछ,’ उनले भने

उनका अनुसार पोखरा रंगशालाकै दुबोलाई काटेर प्रशिक्षण मैदानमा दुबो सारिनेछ। १३औं सागका लागि भारतबाट दुबो ल्याएर पोखरा रंगशालामा सारिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .