ad ad

खेल


कोरोनाले फेर्‍यो खेलाडीको दैनिकीः आफैँ तालिमदेखि मोबाइलमा गेमसम्म

कोरोनाले फेर्‍यो खेलाडीको दैनिकीः आफैँ तालिमदेखि मोबाइलमा गेमसम्म

लक्ष्मी जि.सी
चैत ५, २०७६ बुधबार १२:१३,

कोरोना भाइरसले विश्वका १५९ देशलाई असर गरिरहँदा नेपालमा पनि सुरक्षा सावधानी अपनाउन थालिएको छ। नेपालमा कोरोना भाइरस संक्रमण देखिएको छैन तर कतिपय प्रसिद्ध अन्तरार्ष्ट्रिय खेलाडीहरुको अनुभव सुखद छैन।

कोरोनाकै कै कारण स्पेनको एट्लेटिको पोर्टाडा अल्टा क्लबका फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाले केही समयअघि ज्यान गुमाए। युरोप क्षेत्रका अन्य कतिपय खेलाडी र प्रशिक्षक समेत संक्रमणमा परेका छन्। यो असरलाई ध्यानमा राख्दै त्यहाँ युरोपियन च्याम्पियन्सिपसहित घरेलु लिगहरु स्थगित गरिएका छन्। युरो कप एक वर्ष पछि सारिएको छ।

स्पेनिस क्लब भ्यालेन्सियाका ५ खेलाडीलाई कोरोना संक्रमण भएको छ। अहिले उनीहरुको आइसोलेसनमा उपचार भइरहेको छ। इटालियन क्लब युभेन्टसका ड्यानियल रुगानी र फ्रेन्च मिडफिल्डर ब्लेइस म्याथुइडी पनि कोरोनाबाट संक्रमित भएका छन्।

नेपाल कोरोना उच्च जोखिममा रहेको भन्दै खेलकुदका सबै गतिबिधि बन्द गर्न सरकारले निर्देशन दिएपछि यतिबेला यहाँ पनि खेल गतिविधि ठप्प छन्। प्रतियोगिता, अन्य सार्वजनिक कार्यक्रम, प्रशिक्षण समेत रोकिएपछि सधैँ व्यस्त रहने खेलाडीहरु यतिबेला फुर्सदिला बनेका छन्।

अरुबेला परिवारलाई समय दिन नपाउने उनीहरु अहिले परिवारसँगै छन्। तर कहिलेसम्म यही अवस्था रहने हो भन्ने अनिश्चयले खेलाडीहरु दिक्क मानिरहेका छन्। प्रतियोगितासँगै अभ्यास स्थगित हुँदा खेलाडीहरु छटपटीमा छन्।

‘जताततै कोरोना–कोरोना भनिरहेका छन् यसकै कारण अहिले विदा जस्तै छ। अहिले ट्रनिङ पनि बन्द छ’, राष्ट्रिय भलिबल टोलीकी सदस्य निरुता ठगुन्ना भन्छिन्, ‘ट्रेनिङ नहुँदा के गर्ने गर्ने हुने रहेछ। खेल्न नपाउँदा नरमाइलो हुने रहेछ।’

नेपाल एपीएफसँग आवद्ध निरुता प्रशिक्षण र प्रतियोगिताबिहीन हुँदा अप्ठ्यारो परेको बताउँछिन्। ‘दिनभर घरमै बसेर दिन कटाउन गाह्रो हुने रहेछ’, उनी थप्छिन्, ‘आफैँ फिजिकल ट्रेनिङ गर्छु।’ समर्थकहरुलाई उनको आग्रह छ, ‘गतिविधि नभए पनि भलिबललाई माया गरिरहनू होला। जति सक्दो छिटो कोरोना नियन्त्रणमा आएपछि खेल गविविधि सुरु हुनेछन् नै।’

कोरोना त्रासको कारण दैनिकी अस्तव्यस्त बनेको राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा सुनाउँछिन्। ‘कोरोनाको त्रासको कारण नै अफिसले १५ दिन बिदा दिए पनि घर नजान भनिएको छ। स्ट्याण्ड वाइ बस्नु केही परेमा बोलाउँछु भनेको छ, एपिएफकी उनले भनिन्, समय कटाउन कहिले कहीँ मोबाइलमा पब्जी खेल्छु। अर्को महिना परीक्षा भएकोले पढ्छु। बिहान आफैँ प्रशिक्षण गर्छु, फिट त हुनु पर्यो।’

थाइल्याण्डमा गत महिना एसीसी इष्टर्न रिजन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता खेलेर नेपाल फर्केका क्रिकेटर पवन सराफ यतिबेला गृह जिल्ला बाराको कलैयामा छन्। ‘लामो समयपछि परिवारसँग बस्न पाएको छु। घरमै आफैँ ट्रेनिङ गरिरहेको छु’, उनी सुनाउँछन्, ‘धेरै मान्छे जम्मा भएको ठाउँमा गएको छैन। स्यानिटाइजर र मास्क प्रयोग गरिरहेको छु।’

राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विकेश कुथुले भने कोरोनाको कारण राष्ट्रिय टोलीको ट्रेनिङ र मोफसलका प्रतियोगिता सबै डामाडोल भएको बताउँछन्। फागुन ३ गते लिगको अन्तिम खेलका दौरान उनी घाइते भएर आराम गरिरहेका थिए। मछिन्द्रविरुद्धको त्यो अन्तिम खेलमा घाइते भएका आर्मीका गोलकिपर विकेश अहिले चोटमुक्त भएका छन्। तर यही बेला कोरानाका कारण फुटबल गतिविधि बन्द छ। ‘घरेलु मैदानमा अब खेल्न पाइने भयो भन्ने सोचेको थिएँ। खुसी लागेको थियो। कोरोनाका कारण सबै रोकियो’, उनी सुनाउँछन्।

फिट रहिरनका लागि अन्य खेलाडीले जस्तै उनी पनि बिहान जिम र साँझ फुटसल जाने गरेको बताउँछन्। ‘जे भए पनि सेल्फ ट्रेनिङ गर्नै पर्यो, उनी भन्छन्, ‘फेमिली विजनेशमा सहयोग गर्छु। बाँकी समय घरमै बस्छु। घर बस्न बस्न गाह्रो हुने रहेछ। परिवार भने खुसी छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .