ad ad

खेल


कोरोना चपेटामा विश्व चर्चित फुटबलर

कोरोना चपेटामा विश्व चर्चित फुटबलर

लक्ष्मी जि.सी
चैत १०, २०७६ सोमबार ११:१९,

चीनबाट शुरु भएको कोरोना भाइरस कोभिड–१९ ले महामारी रुप लिँदा यसले विश्व खेल जगतलाई नराम्रो असर पारेको छ। कोरोनासँग सावधानी अपनाउँदै विश्व खेल गतिविधि तथा नेपालका घरेलु प्रतियोगिताहरु स्थगित भइसकेका छन्।

विश्वका ठूला भनिएका युइएफए च्यापिम्पयन्स लिग, युरोपा लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’ र इंग्लिस प्रिमियर लिग अप्रिलसम्मका लागि स्थगित भएका छन्। जर्मनीको जर्मन बुन्डेस लिगा र फ्रान्सको फ्रेन्च लिग वान पनि स्थगित छ।

विश्वकप छनौटका खेलसँगै फिफा क्लब विश्वकप फुटबल, ब्याडमिन्टन एशिया च्याम्पियनसिन २०२० पनि स्थगित भइसकेका छन्। फुटबलसँगै लन्डन म्याराथन पनि पहिलो पटक स्थगित भएको छ। विश्वका खेलकुदसँगै नेपालमा हुने तय भएका एभरेष्ट प्रिमियर लिग इपीएल, बी डिभिजन लिग, मोफसलका फुटबल प्रतियोगिताहरु पनि स्थगित छन्।

कोरोनाबाट हालसम्म ३ लाख ५० हजार संक्रमित छन्। १५ हजार जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट सबै क्षेत्र आक्रान्त बन्दा खेल जगत पनि पीडित बनेको हो। फुटबलका ठूला हस्ती यसको चपेटामा परेका छन्। कोरोना भाइरस संक्रमणका कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको शनिबार निधन भयो। उपचारका क्रममा ७६ वर्षका सान्जको निधन भएको उनका छोरा लोरेन्जो सान्ज दुरानले ट्विटमार्फत जानकारी दिएका हुन्।

यसअघि कोरोना भाइरस संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षकको पनि मृत्यु भएको थियो। मालागास्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका २१ वर्षीय प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोनाको संक्रमणबाट मृत्य भएको छ। भाइरसको गम्भीर लक्षण देखिएपछि उनलाई अस्पतालमा लगिएको थियो। उनी क्यान्सर पीडित थिए। उपचारकै क्रममा उनको निधन भयो।

कोरोना भाइरस कै कारण स्पेनका दुई चर्चित खेल पत्रकारले ज्यान गुमाएका छन्। ५९ वर्षका जोसे मारिया क्यान्डेला र ७८ वर्षका टोमस डियाज भाल्डेसको मृत्यु भएको अन्तर्रािष्ट्रय खेलकुद पत्रकार संघ एआइपीएसले उल्लेख गरेको छ।

यस्तै इटालियन क्लब एसी मिलानका लिजेण्ड पाओलो माल्दिनी र उनका छोरालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। इटालीका पूर्व कप्तान तथा मिलानका टेक्निकल डाइरेक्टर माल्दिनी र उनका छोरा डानिललाई कोरोनाको संक्रमण देखिएको हो। कोरोना संक्रमण देखिएपछि दुवै जना अहिले क्वारेन्टाइनमा रहेको क्लबले जनाएको छ। मिलानले माल्दिनी र डानिललाई कोरोना भएको पुष्टि गर्दै दुवै जनाको स्वास्थ्य अवस्था ठिक रहेको बताएको छ।

चिनियाँ क्लब सानडोङ लुनिङले ३२ वर्षीय मारोउने फेलाइनीमा कोरोना भाइरसको लक्षण देखिएको पुष्टि गरेको छ। बेल्जियन तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर फेलाइनीको जियान अस्पतालमा उपचार भइरहेको छ। इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डिबाला, ड्यानीएल रुगानी र ब्लेइस म्याथुइडीमा पनि कोरोना संक्रमण रहेको थियो। उनीहरु हाल क्वारेनटाइनमा छन्।

फ्रेन्च मिडफिल्डर म्याथुइडीलाई पनि मंगलबार मेडिकल परीक्षण कोरोना भाइरस पोजेटिभ भेटिएको छ। यसैगरी रियल मड्रिडका स्ट्राइकर लुका जोभिच पनि क्वारेन्टाइनलमा बसेका थिए। लुकाको २ पटक कोरोनाको परीक्षण गरे पनि दुवै पटक नेगेटिभ आए पनि उनी १४ दिनका लागि क्वारेन्टिनमा बसेका थिए। उनी प्रेमीकाको जन्मदिन मनाउन स्पेनबाट सर्बिया पुगेपछि उनलाई सरकारले कारवाहीको चेतावनी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .