१३औं दक्षिण एसियाली खेलकुद (साग) र राष्ट्रिय खेलकुद दुई इभेन्टसँगै नेपाली खेलाडीले २०७६ मा आआफ्ना प्रदर्शनमा निखारता ल्याए। कतिले व्यक्तिगत प्रदर्शनमा इतिहास रचे। सागमा पदक संख्यामा दोस्रो विजेता बनेकाे नेपालले ५१ स्वर्ण, ६० रतज र ९५ कास्य गरी २ सय ६ पदक बाहिर जान दिएन।
पुरुष यू-२३ फुटबलमा स्वर्ण, पहिलोपटक महिला टोलीले सागमा रजत, महिला ह्यान्डबल टोलीले रजत, महिला बास्केटबल टोलीले रजत पदक जित्दै समूहगत खेलको सम्भावना उजागर गरे। साथै व्यक्तिगत खेलमा पनि नेपाली खेलाडीले इतिहास रचेका छन्। सागमा व्यक्तिगत खेलतर्फ महिला खेलाडीको प्रदर्शन उच्च रह्यो। वर्षभरिका समग्र खेललाई हेर्ने हो केही पुरुष खेलाडीका लागि पनि वर्ष २०७६ विशेष रह्यो। त्यस्ता केही खेलाडीको यहाँ चर्चा गरेका छौं।
सुवास तामाङ (गल्फ)
सागमा पौडीकी गौरिका सिंहले ४ स्वर्ण पदक जित्दै कीर्तिमान बनाएकी थिइन्। त्यसबाहेक तीन खेलाडीले दोहोरो स्वर्ण पदक जिते। त्यसमा १७ वर्षे गल्फर सुवास तामाङ पनि हुन्।
सुवासले गल्फको एकल र टिम इभेन्टमा स्वर्ण हासिल गर्दै कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास बनाएका हुन्। सागमा नेपालले स्वर्ण पदक जितेको त्यो पहिलो पटक हो। सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित प्रथम स्थान हासिल गरे। उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारेका थिए।
मण्डेकाजी श्रेष्ठ (कराँते)
मण्डेकाजी श्रेष्ठले १३ औं सागमा कराँतेमा दोहोरो स्वर्ण पदक जितेका थिए। नेपालका लागि दोहोरो स्वर्ण पदक जित्ने ३ खेलाडीले मध्ये मण्डेकाजी एक हुन्। उनले एकल र टिम कातामा स्वर्ण पदक जितेका हुन्।
एउटा सागमा दुई स्वर्ण पदक जित्ने मण्डे पहिलो नेपाली खेलाडी हुन्। १३ औं सागमा दोहोरो स्वर्ण पदक जित्ने मण्डे, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुभाष तामाङ हुन्। सबैभन्दा बढी गौरिका सिंहले पौडीमा ४ स्वर्ण पदक जितिन्। आठौं सागपछि नेपालले यस पटक तेक्वान्दो र कराँतेमा ठूलो सफलता हात पारेको हो। १३ औं सागमा कराँतले १० र तेक्वान्दोले १२ स्वर्ण पदक जित्यो। यसअघि आठौं सागमा कराँते र तेक्वान्दोले समान १४ स्वर्ण पदक जितेका थिए।
प्रिन्स दाहाल (ब्याडमिन्टन)
ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालका लागि वर्ष २०७६ सुखद रह्यो। ब्याडमिन्टनको युवा विश्व वरियतामा ३२ औं स्थानबाट छलाङको मार्दै उनी सातौं स्थानसम्म पुगे।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले जारी गर्ने वरियतामा शीर्ष ७ मा पर्ने उनी पहिलो नेपाली खेलाडी हुन्। गत वर्ष प्रिन्सले ११ प्रतियोगिता खेल्दै १० हजार ४०० अंक जोडेका थिए। १३ औं सागमा पनि पदक जितेका उनले कोरोना भाइरसका कारण खेलकुद गतिविधि बन्द हुनु केही अघि मात्र दुई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता खेल्दै प्रि–क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका थिए। प्रिन्स डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वार्टरफाइनलसम्म पुगेका उनले ७ खेलमा ५ मा जित र २ मा हार व्यहोरे।
सन्दीप लामिछाने (क्रिकेट)
विश्वका धेरैजसो चर्चित फ्रेन्चाइज क्रिकेट लिगको अनुभव लिइसकेका लेग स्पिनर सन्दीप लामिछानेका लागि वर्ष २०७६ विशेष रह्यो। उनले यो वर्ष टि–ट्वान्टी अन्तर्राष्ट्रिय करिअरमा १ सय विकेटको कोषेढुङ्गा पार गरे।
एसीसी इस्ट्रन रिजन टि–ट्वान्टी क्रिकेटमा मलेसियाविरुद्धको खेलमा उनले ३ विकेट लिँदै सय विकेट पूरा गर्ने पहिलो खेलाडी बने। घरेलु मैदानमा नै भएको विश्वकप लिग—२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा ६ विकेट लिँदै सनसनी मच्चाए। त्यो उनको खेल जीवनको उत्कृष्ट प्रदर्शन थियो।
कुशल मल्ल (क्रिकेट)
विश्वकप छनोट लिग २ अन्तर्गत अमेरिकाविरुद्धको डेब्यू खेलमा अर्धशतक पूरा गर्ने विश्वका सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान कुशल मल्लले बनाएका थिए। त्यसपछि उनको चर्चा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा भयो।
नेपालको खस्कँदो पारीलाई मल्लले ५१ बलमा ५० रन बनाउँदै सम्हालेका थिए। नेपाली खेलाडी रोहित पौडेलको कीर्तिमानलाई उनले भंग गरिदिए। रोहितकै ठाँउमा टोलीमा मौका पाएकै खेलमा कुशलले उनकै कम उमेरको कीर्तिमान भंग गरेका हुन्। रोहितको नाममा १६ वर्ष १ सय ४६ दिनको कीर्तिमान थियो। त्यसलाई तोडेका कुशल त्यो दिन १५ वर्ष ३ सय ४० दिनका थिए। रोहितले युएई विरुद्धको खेलमा यो रेकर्ड बनाएका हुन्।
सन्तोष साहुखल (फुटबल)
करिब ६ वर्षपछि आयोजना भएको सहिद स्मारक ए डिभिजन लिग आयोजना हुँदा उपाधि दौड रोचक रह्यो। अन्तिम खेल छिनोफानो भएको लिगको उपाधि मछिन्द्र क्लबले पहिलो पटक जित्दा त्रिभुवन आर्मी क्लबले फेरि उपविजेता चित्त बुझायो।
लिगमा उपाधि दौडको रोमाञ्चकता आफ्नो ठाँउमा थियो। त्यसबाहेक च्यासल क्लबका फरवार्ड सन्तोष साहुखल चर्चामा रहे। कारण उनले लिगमा एक सय गोल पुरा गरेका थिए। घरेलु लिगमा सय गोल पूरा गर्ने उनी पहिलो खेलाडी हुन्। पुष २३ गते नेपाल पुलिस क्लबविरुद्धको खेलमा गोल गर्दै उनले सयौं गोल पूरा गरेका हुन्। २०६० सालमा थ्री स्टारबाट लिगमा डेब्यू गरेका उनले पहिलो सिजनमै ६ गोल गरेका थिए। पछिल्लो समय जापान बासोबास गर्दै आएका सन्तोष लिगकै लागि स्वदेश फर्केका थिए। लिगमा ९४ खेलाडीले गोल गर्दा २ खेलाडीले मात्र ह्याट्रिक पुरा गरे। जसमा थ्रीस्टारका सन्जोक राई र पुलिसका जुमानु राई रहे। यसपटकको लिगमा सरस्वती क्लब रेलिगेसनमा प¥यो।
किरण सिंह बोगटी (एथलेटिक्स)
१३ औं सागमा किरण सिंह बोगटीले म्याराथनमा स्वर्ण पदक जित्दै धेरैलाई आश्चर्यमा पारे। त्यस अघिसम्म म्याराथनमा नेपालले स्वर्ण पदक जित्छ भन्ने अनुमान कसैको थिएन। एपिएफका किरणले २ घण्टा २१ मिनेट १७ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक पक्का गरेका थिए।
भारतका रसपाल सिंहलाई ३९ सेकेन्डले पछि पार्दै उनले पहिलो स्थान प्राप्त गरेका हुन्। नेपालले सागमा २४ वर्षपछि म्याराथनमा स्वर्ण पदक जितेको हो। सन् १९९५ को सातौं सागमा टिका बोगटीले स्वर्ण स्वर्ण पदक दिलाएका थिए। १० औं सागमा राजेन्द्र भण्डारीले पनि म्याराथनमा स्वर्ण पदक जितेका थिए। पछि रुटको विवादका कारण त्यसलाई रोड रेसका रुपमा परिणत गरिएको थियो। टिका बोगटी अघि बैकुण्ठ मानन्धरले तीन वटा सागमा लगातार स्वर्ण जित्दै ह्याट्रिक गरेका थिए। तेस्रो सागमा मानन्धरले बनाएको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमानलाई भने अहिलेसम्म कसैले तोड्न सकेका छैनन्।
अजित यादव (एथलेटिक्स)
एसियाली युथ एथलेटिक्स च्याम्पियन रहिसकेका अजितकुमार यादवबाट १३ औं सागमा ठूलो अपेक्षा गरिएको थियो। उनले लगातार उच्च प्रदर्शन गरेका कारण उनीबाट पदकको अपेक्षा गर्नु स्वभाविक थियो। तर, मंसिरमा आयोजना हुने सागको तयारीमा रहेका अजितले स्वास्थ्यमा खराबी आएपछि भदौ मै बन्द प्रशिक्षण त्याग्नु परेको थियो।
छनोट दौरान ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका उनले झन्डै एक किलोमिटर बाँकी रहँदा पेटमा दुखाई महसुस गरे। त्यसपछि उनले दौड बीचमै त्यागे। स्वास्थ परिक्षण गराउँदा उनमा हेपाटाइटिस ‘बी’ को लक्षण देखिएको थियो। डाक्टरले कम्तिमा पनि दुई देखि ३ महिना आराममा गर्नु पर्ने भनेका थिए।
साग खेल्न नपाए पनि उनी सोचेभन्दा छिट्टै ठिक भएर फर्केका थिए। मंसिरबाट प्रतिस्पर्धामा फर्केका अजितले भाग लिएका तीनै प्रतियोगितामा पहिलो स्थान प्राप्त गरे। मंसिरमा धारा नेपालगन्ज म्याराथन अन्तर्गत १० किमी दौड जितेका अजितले पुसमा काठमाडौं म्याराथन र मदन भण्डारी स्मृति ठमेल रोड रेसमा ५ किमीमा स्वर्ण पद जित्न सफल भए। नेपालगन्जमा ३१ मिनेट ४० सेकेन्डमामा दौड पूरा गर्दै १० किमीको उपाधि जितेका थिए। एपिएफका अजितले काठमाडौं म्यराथनको ५ किमी दौड १७ मिनेट १९. ९१ सेकेन्ड र फागुनमा ठमेल रेसमा १६ मिनेट १४.०१ सेकेन्डमा दौड पूरा गरे। स्वास्थ्य समस्याबाट मुक्त भएपछि उनले पुनः आफ्नो पुरानै लयमा फर्किने संकेत गरेका छन्।
अन्जन विष्ट (फुटबल)
विश्वकप छनोटमा गोल गर्ने एकमात्र खेलाडी बनेका अन्जन विष्टको त्यसपछिको यात्रा कठिन रह्यो। अनुशासनका कारण ४५ दिनको निलम्बनमा परेका उनले ए डिभजन लिग खेल्न पनि कुर्नुपर्यो। त्यसबीचमा राष्ट्रिय टोली र साग टोलीबाट उनी बाहिरै रहे। उनी बिनाको टोलीले सागमा स्वर्ण पदक जितेको हो। विश्व कप छनोटमा नेपालले अहिलेसम्म ५ खेल खेल्दा १ मात्र खेल चाइनिज ताइपेविरुद्ध २–० जितेको थियो। दुवै गोल अन्जनले गरेका थिए।
कात्तिक ३० मा उनी राष्ट्रिय टोलीसँगै भुटान यात्रामा निस्कनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) पुगेका थिए। तर, उनीसँगै विमल घर्तीमगर, सन्तोष तामाङ र दीनेश राजवंशीले टोलीसँगै भुटान यात्रा गर्न पाएनन्। अघिल्लो रातको घटनालाई कारण देखाउँदै उनीहरु भुटान यात्राबाट ड्रप गर्ने निर्णय सुनाइयो। ४ जना लगेज बोकेर घर फर्किए।
अघिल्लो राती डिस्को गएर मादक पदार्थ सवेन गर्दै अनुशासन तोडेको अभियोगमा उनीहरुलाई टोलीमा सामेल गरिएको थिएन। कारवाही मुक्त भएपछि मनाङ मस्र्याङ्दीका लागि उनले उच्च प्रदर्शन गरे। उनी तीन खेलमा म्यान अफ दी म्याच नै घोषित भए। त्यही प्रदर्शनका आधारममा उनले राष्ट्रिय टोलीमा पुनरागमन पाए। तर कोरोना भाइरसका कारण गत महिना दशरथ रंगशालामा चाइनिज ताइपे र अष्ट्रेलियाविरुद्ध तय विश्व कपको छनोट खेल स्थगित हुनपुग्यो।
प्रतिक्रिया