कुनै बेला उनलाई लाग्थ्यो, भलिबल उनको जीवन हो। भलिबल नखेले दिनै अधुरो हुन्छ। उनै प्रतिभा माली हिजोआज भलिबल कोर्टमा प्रवेश गरेकी छैनन्। कोरोना लकडाउनका कारण खेल ठप्प भएर होइन।
उनको यो दुःखद कथा चार महिना अघि सुरु भएको हो।
नेपालको भलिबल इतिहासमा २०७६ अहिलेसम्मकै सफल वर्ष रह्यो। यो सफलता पछाडि प्रतिभाको योगदान मुख्य छ। नेपाली खेल जगतमा ठोस योगदान छोड्न सफल उनी यतिबेला अप्ठ्यारो अवस्थामा छिन्।
२०७६ कात्तिकमा बंगलादेशमा एभिसी सेन्ट्रल जोन च्याम्पियन बन्दै महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्यो। मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि नेपालले रजत पदक हात पार्यो। ३६ वर्षे साग इतिहासमा नेपाली महिला भलिबलले पाएको यो अहिलेसम्मकै ठूलो सफलता हो। ती दुवै ऐतिहासिक सफलतामा मुख्य खेलाडीमध्ये एक हुन्— प्रतिभा।
साग लगत्तै व्यावसायिक खेलका लागि मालदिभ्स पुगेकी उनले त्यहाँ पनि आफ्नो टोलीलाई च्याम्पियन बनाइन्। नेपाल फर्किए लगत्तै आफ्नै क्लबले आयोजना गरेको महिला भलिबल प्रतियोगितामा प्रतिभाको टोली दोस्रो भयो। यहाँसम्म सबै ठिकठाक थियो। सागपछि लगातार महिला भलिबल प्रतियोगिता भइरहे। तिनमा न्यु डायमण्ड एकेडेमी र प्रतिभाको प्रदर्शन अझ निखारियो।
२०७६ माघ १० गते प्रतिभाका लागि फरक दिनको रुपमा उदायो। अहिले उनी जुन अवस्थामा छिन् त्यसको सम्बन्ध त्यही शुक्रबारसँग जोडिन्छ। त्यो दिन त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा पाँचौं एनभीए क्लब च्याम्पियनसिप फाइनल खेल थियो। न्यु डायमण्डकी उनले तेस्रो सेटमा एपिएफविरुद्ध ‘स्पाइक’ प्रहार गर्ने प्रयास गरिन्। जम्प गरेर ‘ल्यान्डिङ’ गर्ने क्रममा भूइँमा ढलिन्। त्यसले उनलाई अस्पताल पुर्यायो। शल्यक्रियापछि १७ दिन अस्पताल बसिन् अनि घर फर्किइन्।
प्रतिभा अस्पताल भएकै बेला ढोरपाटनको महिला भलिबल डबल लिग भएको थियो। दर्शकले लोकप्रिय खेलाडी उनलाई निकै सम्झिए तर देखेनन्। आफू बिना टोलीले राम्रो प्रदर्शन गरेको प्रतिभा बताउँछिन्। तर परिणाम भने त्यस्तो आएन। उनको टोली डबल लिगमा चौथो भयो।
पर्वतको दिदीबहिनी कप र फागुनमा नेपालगन्जमा प्रधानमन्त्री कपमा भाग लिएर उनको टोली फर्कियो। यी खेलमा प्रतिभा मैदानमा थिइनन्। चोटका कारण टेलिभिजन दर्शकमै सीमित रहिन्।
खेल जीवनमा उतारचढावलाई प्रतिभाले स्वभाविक मानेकी छिन्। कोरनाका कारण सरकारले लकडाउन गरेपछि सबै खेल गतिविधि ठप्प छन्। सधैँ कोर्टमा व्यस्त रहने खेलाडीलाई घरमा सीमित हुनुपर्दा सहज नहुने उनी बताउँछिन्। वैशाखीको सहारा बिना हिँडडुल गर्न थालेकी उनी अहिले फिजियोथेरापी गराइरहेकी छिन्।
‘अझै पनि घुँडा खुम्चाउन गाह्रो हुन्छ। फिजियो गरिरहेकी छु। आउने दिनमा हेरौं कस्तो सुधार हुन्छ’, उनी भन्छिन्, ‘सोचेजस्तो सुधार भए ८—९ महिनापछि कोर्टमा फर्कन सक्छु भन्ने विश्वास छ।’ लकडाउनपछि उनी फिजियोका लागि नियमित अस्पताल जान सक्दिनन्। समय—समयमा थेरापिष्ट घरमै आएर फिजियो गराइदिने गरेका छन्।
पछिल्लो समय लगातारको प्रशिक्षण र प्रतियोगिताले आराम नपुगेका कारण भलिबल खेलाडी धेरै घाइते भएको हुनसक्ने उनको अनुमान छ। ‘लगातारको प्रशिक्षण र प्रतियोगिताका कारण खेलाडीलाई विश्राम नपुगेजस्तो लाग्छ। त्यस कारण पनि खेलाडीहरु धेरै चोटग्रस्त भएका छन्’, उनी सुनाउँछिन्।
प्रतिभा मात्र होइन राष्ट्रिय टोलीकी अरु महिला खेलाडी पनि घाइते छन्। राष्ट्रिय टोलीकी महत्वपूर्ण सदस्य एवं एपिएफकी सरस्वती चौधरी, एपिएफकै नविका चौधरी र एपिएफकै कप्तान विनिता बुढाथोकी घाइते छन्। केही समय उनीहरु कोर्ट बाहिरै रहनेछन्।
भविष्य सुरक्षित हुने अपेक्षासाथ धेरै खेलाडीको रोजाइमा विभागीय टोली (सेना, पुलिस र सशस्त्र) हुने गर्छ। न्यु डायमण्डकी उत्पादन प्रतिभाले विभागीय टोलीको प्रस्तावलाई भने स्वीकार गरिनन्।
‘मलाई प्रस्ताव आएको थियो तर आफूले भलिबल सिकेको क्लब छाडेर जान मन लागेन’, उनी भन्छिन्, ‘सिनियर दिदीहरुले क्लब छाड्दा क्लबको टोली कमजोर भएको मलाई अनुभव छ। अहिले मैले छोडे त्यसले टोलीलाई असर पर्न सक्छ भन्ने लागेर छाडीजान मन लागेन।’
भनिन्छ, मनैदेखि सोचेको कुरा पूरा हुन्छ। प्रतिभाको सोच पनि यतिबेला भलिबल वरिपरि मात्र घुमिरहेछ। चोटमुक्त भएर भलिबलमा फर्किने प्रतीक्षामा रहेकी उनले भविष्यमा पनि यही खेलसँगै रहिरहने सुनाइन्। भनिन्, ‘जति सक्छु खेल्छु। खेल्न छोडेपछि पनि भलिबलमै लाग्ने इच्छा छ। प्रशिक्षक, रेफ्री वा अरु कुनै भूमिकामा भलिबलसँगै रहनेछु।’
Shares
प्रतिक्रिया