ad ad

खेल


कोरोना असरः खेलकुद ठप्प, के हुन्छ भविष्य?

कोरोना असरः खेलकुद ठप्प, के हुन्छ भविष्य?

लक्ष्मी जि.सी
बैशाख १९, २०७७ शुक्रबार ७:१७,

 कोरोना भाइरस (कोभिड–१९) को असर सबै मानिसको सामान्य जनजीवनमा परेको छ। कोरोनाले महामारी रुप लिएपछि विश्व खेलकुद ठप्प छ। ३९ दिनअघि लकडाउन सुरु भएपछि नेपाली खेलकुदको अवस्था पनि उस्तै छ।

दक्षिण एशियाली खेलकुद (साग)को सफल आयोजना, नेपाल क्रिकेट संघ (क्यान) ले पाएको अन्तर्राष्ट्रिय मान्यता र नेपाली खेलाडीको सफलताले खेलकुदतर्फ आम चासो बढिरहेकै सन्दर्भमा कोरोना असरले नेपाली खेलकुद रफ्तारलाई ब्रेक लगाइदिएको हो।

फुटबलको विश्वकप छनोट, ओलम्पिक तयारी, विश्व क्रिकेट लिग—२ र चर्चित खेलाडी समावेश हुने घरेलु क्रिकेटका प्रतियोगिता रोकिएका छन्। कोरोना कहरले खेलाडीको दैनिकी पनि विस्तारै पट्यारलाग्दो बनिरहेछ। प्रतियोगिता र प्रशिक्षण रोकिँदा उनीहरु घरमै सीमित हुन पुगेका छन्। घरमै रहेर फिट हुनुपर्ने नयाँ चुनौती उनीहरुलाई छ। लकडाउनको समयमा धेरै खेलाडी घरमै ‘सेल्फ ट्रेनिङ’मा छन्। एक हदसम्म यो राम्रो भए पनि त्यतिले मात्र वास्तविक प्रशिक्षणको आवश्यकता पूरा गर्न सक्ने छैन।

विश्वमा जसरी कोरोना संक्रमण फैलिएको छ त्यसको तुलनामा नेपालमा कम छ। यद्दपि अहिलै ढुक्क हुने अवस्था भने छैन। नेपालमा ४ पटक लकडाउन मिति थप भयो। अहिलेको मुख्य प्रश्न यो होः लकडाउन खुलेपछि खेल गतिविधि कसरी अघि बढ्छन्? नेपाली खेलकुद क्षेत्रका निर्णायकहरु अहिले यही सवाल वरिपरि घुमिरहेछन्।

nepali footballनेपाली फुटबल खेलाडी। फाइल तस्विर

नेपालमा लोकप्रिय तीन वटा ‘मास गेम’ छन्। फुटबल, क्रिकेट र भलिबल। तीनवटै क्षेत्रका खेल गतिविधि शून्य अवस्थामा छन्। यी तीन खेलका पदाधिकारी भन्छन्, ‘कोरोनाले सम्पूर्ण काममा असर पारेको छ। कुनै एउटा मात्र होइन।’

पूर्व निर्धारित तालिकअनुसार खेल हुन सकेको भए २०७६ चैत १३ मा नेपालले चाइनिज ताइपेइ र चैत १८ मा अष्ट्रेलियासँग खेल्नु पर्ने थियो। त्योसहित बी डिभिजन लिग, मोफसलका नकआउट प्रतियोगिता अनिश्चित कालका लागि स्थगित भए।

क्रिकेटमा विश्वकप छनोट लिग—२ अन्तर्गत नेपाल, आयोजक नामिबिया र स्कटल्यान्डबीच अप्रिल २० देखि २७ सम्म त्रिकोणात्मक सिरिज तय थियो। जुन दोस्रो साता नेपाल, आयोजक पपुवान्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) बीच त्रिकोणात्मक सिरिज निर्धारित थियो। दुवै सिरिज स्थगित भए। चैत १ गते सुरु हुने भनिएको इपीएल रोकियो।

भलिबलको वैशाख अन्तिम साताबाट एनभिए राष्ट्रिय महिला–पुरुष क्लब लिग, राष्ट्रिय पुरुष भलिबल टोली सहभागी हुने एभीसी सेन्ट्रल जोन भलिबल तथा भलिबल संघको नयाँ नेतृत्वको लागि साधारण सभा तयारी पूर्व निर्धारित थिए। कोरोनाको कारण सेन्ट्रल जोन सेप्टेम्बरका लागि सारिएको छ। क्लब लिग अनिश्चित कालका लागि स्थगित भइसकेको छ। साधारण सभा के हुने हो अझै निश्चित छैन।

गत वर्ष व्यस्त खेल मध्ये एक थियो, भलिबल। कोरोनाको कारण अहिले भलिबलसँगै सबै खेलकुद ‘प्यारालाइज’ अवस्थामा रहेको नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा बताउँछन्।

prativa mali3भलबिल कोर्टमा प्रतिभा माली (जर्सी नं.११)। फाइल तस्विर: प्रविन कोइराला

‘अब चुनाव आउन लाग्यो, वार्षिक क्यालेन्डर बनाउन थियो तर कोरोनाको कारण सबै स्थगित भएको छ’, उनी भन्छन्, ‘लकडाउनका कारण हामी सबै घरमा छौं। अब स्थिति समान्य भएपछि काठमाडौंमा उपलब्ध पदाधिकारी र सदस्यकोे बैठक गर्ने तयारीमा छौं। यो बेलामा खेलाडी मात्र हैन सबै दिक्क भएको अवस्था छ।’

खेलाडीसँग प्रत्यक्ष भेट गर्न नपाए पनि फोनबाट जानकारी लिइरहेको अध्यक्ष शर्मा बताउँछन्। उनका अनुसार संघका महासचिव जितेन्द्र बहादुर चन्द र मुख्य प्रशिक्षक समेत रहेका सचिव जगदिश भट्ट नियमित खेलाडीसँग सम्पर्कमा छन्।

२०७६ चैत पहिलो साता कीर्तिपुर क्रिकेट मैदानमा चर्चित खेलाडी क्रिस गेलसहित अन्य अन्तर्राष्ट्रिय खेलाडीले खेल्ने निश्चित भएको थियो। सरकारले त्यसअघि सम्पूर्ण खेल गतविधि स्थगित गरेपछि एभरेस्ट प्रिमियर (इपीएल) क्रिकेट रोकियो। निर्वाचन र निलम्बन फुकुवापछि नेपाल क्रिकेट संघ (क्यान) ले गति लिने संकेत देखाएको थियो। लकडाउनले क्यानको गतिमा पनि ब्रेक लागेको छ।

घरेलु मैदानमा केही महिनाअघि पहिलो पटक एक दिवसीय क्रिकेट सिरिज आयोजना हुँदा नेपाली टोलीले ओमानसँग दुवै खेलमा पराजित भए पनि अमेरिकासँगको दुवै खेल जितेको थियो। स्थानीय स्तरमा शून्य अवस्थामा रहेको क्रिकेटलाई तीन फ्रेन्चाइज टी–ट्वान्टी लिगले गतिशील बनाएका थिए। क्यान चुनाव र निलम्बन फुकुवा भएपछि नेपाली क्रिकेटले गति लिने आशा गरिए पनि त्यस्तो हुन सकेन।

योजनाअनुसार काम गर्न नसकेको क्यानका सचिव तथा प्रवक्ता अशोकनाथ प्याकुरेल पनि स्वीकार्छन्। ‘लकडाउन छोटो समयको लागि होला भन्ने सोचेका थियौं तर परिस्थिति त्यस्तो रहेन। लामो समयदेखि रोकिएका प्रतियोगिताहरु अगाडि बढाउने भनेर काम गरेका थियौं’, उनी भन्छन्, ‘लकडाउनका कारण अब त्यो कसरी गर्ने भन्ने अन्योल छ। स्थानीय प्रतियोगिताहरु रोकिएका थिए त्यसलाई सुरु गर्ने योजानामा थियौं तर परिस्थिति फेरियो।

nepali cricketनेपाली क्रिकेट खेलाडी। फाइल तस्विर

‘क्रिकेट खेलाडीको पारिश्रमिक काटिने छैन
कोरोनाका कारण सिर्जना भएको अप्ठ्यारो सबैका लागि हो। यो अवस्थामा खेलाडीको पारिश्रमिक काट्ने योजना नभएको महासचिव प्याकुरेल बताउँछन्। क्यानले केही अगाडि मात्र पुरुष र महिला टोलीका खेलाडीसँग ६ महिनाको ‘सेन्ट्रल कन्ट्याक’ गरेको छ। महिलालाई पारिश्रमिक दिन थालिइएको यो पहिलो पटक हो।

‘यो बेलामा हामी खेलाडीको तलब काट्ने पक्षमा छैनौं’, उनी भन्छन्, ‘अहिले ठूला देशहरुमा पनि खेलाडीको तलब रोक्ने काम गरेका छन्। आइसीसीले अहिलेसम्म के गर्ने भनेर हामीलाई केही भनेको छैन। हामी खेलाडीको पारिश्रमिक काट्नु हुँदैन भन्नेमा छौं।’

नेपालको अर्को मुख्य खेल फुटबल हो। तर कोरानाका कारण सबै फुटबल प्रतियोगिता स्थागित छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राई लकडाउनपछि युद्धस्तरमा काम गर्ने बताउँछन्। ‘यो समय हाम्रो लागि पक्कै पनि सहज छैन। हामीले खेलाडीहरुको बारेमा जानकारी पनि लिइरहेका छौ। केही खेलाडीलाई सहयोग पनि गरिरहेका छौं’, उनी भन्छन्।

फुटबलसहित सबै खेलमा असर परेको उल्लेख गर्दै एन्फा प्रवत्ता राई स्थगित प्रतियोगिताबारे एन्फाले निर्णय लिने बताउँछन्। ‘वैशाखभित्र खुल्यो भने नयाँ ढङ्गले अगाडि जान्छौं। जेठ असारसम्म पुग्यो भने फरक ढङ्गले सोच्नुपर्ने हुन्छ’, उनी भन्छन्, ‘यस बारेमा हामी छलफल गरेर निर्णय लिनेछौं।’ कोरोना कहरकै कारण वैशाख २२ गते परेको ‘एन्फा—डे’मा के गर्ने भन्ने पनि निश्चित छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .