ad ad

समाज


अमेरिकास्थित क्युबाली राजदूतावासमा राति ३० राउन्ड गोली प्रहार

अमेरिकास्थित क्युबाली राजदूतावासमा राति ३० राउन्ड गोली प्रहार

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार ७:२४,

संयुक्त राज्य अमेरिकाको वासिङटनस्थित क्युबाली राजदूतावासमा गोली प्रहार भएको छ।

अमेरिकी अधिकारीका अनुसार बिहीबार राति एक व्यक्तिले गोली प्रहार गरेका हुन्।

प्रहरीले गोली हानेको आशंकामा टेक्सास राज्यको अब्रेका ४२ वर्षीय अलेक्जान्डर अलाजोलाई पक्राउ गरेको छ।

गोली प्रहारबाट दूतावासमा सामान्य क्षति भएको तर कुनै पनि व्यक्तिलाई चोटपटक नलागेको अमेरिकी अधिकारीले बताएका छन्। 

स्थानीय सञ्चारमाध्यमका अनुसार ती व्यक्तिले दूतावासमा करिब ३० राउन्ड गोली प्रहार गरेका थिए।

वासिङटन महानगरीय प्रहरीका प्रवक्ता ह्युज क्यारिउले एक वक्तव्य जारी गर्दै प्रहरीले तत्कालै शंकास्पद ती व्यक्तिलाई गिरफ्तार गरेको जानकारी दिएका छन्। उनको साथबाट एक थान बन्दुकसमेत बरामद भएको उनले बताएका छन्।

कुन उद्देश्यले गोली प्रहार गरिएको भन्ने खुल्न बाँकी रहेको अमेरिकी प्रहरीले जनाएको छ।

वासिङटनस्थित अडाम्स मोर्गनमा रहेको दूतावासआसपास ठूलो संख्यामा बार र रेष्टुराँ भए पनि लकडाउनका कारण अहिले यो क्षेत्र शान्त छ।

राजदूतावासले सार्वजनिक गरेका तस्बिरमा गोलीले भवनका बाहिरी भित्ता, झ्यालमा प्वाल परेको देखिएका छन्।

क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले क्युबाको हवानास्थित अमेरिकी कार्यवाहक राजदूत मारा टेकाजलाई विदेश मन्त्रालयमा आमन्त्रण गरेर क्युबाका तर्फबाट गोलीकाण्डको कडा शब्दमा भर्त्सना गरेका छन्।

कार्यबाहक राजदूत टेकाजले पनि क्युबाली दूतावासमा भएको घटनाप्रति कडा शब्दमा निन्दा गरेका छन्।

सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले क्युबाली राजदूतावासमा कार्यरत अमेरिकी कर्मचारीमा सामूहिक रूपमा गम्भीर स्वास्थ्य समस्या देखिएपछि अमेरिकामा रहेका १५ क्युबाली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो।

ओबामा प्रशासनले क्युबाप्रति अमेरिकी नीतिमा परिवर्तन गर्न थाले पनि ट्रम्प प्रशासनले क्युबामाथि व्यापार र यात्रामा कडा प्रतिबन्ध पुनः लगाएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .