ad ad

खेल


विभागीय टोलीबिना नेपालमा महिला फुटबल सम्भव छैनः गोलकिपर एन्जिला

विभागीय टोलीबिना नेपालमा महिला फुटबल सम्भव छैनः गोलकिपर एन्जिला

लक्ष्मी जि.सी
जेठ १८, २०७७ आइतबार १२:२७,

भनिन्छ, फुटबलमा गोलकिपर सबैभन्दा अपजसे भूमिका हो। खेल जित्दा नामै आउँदैन, हार्दाको दोष सधैँ बेहोर्नुपर्छ। नेपाली महिला राष्ट्रिय टोलीकी नम्बर एक गोलकिपर एन्जिला तुम्बापो सुब्बाको भोगाइ पनि यस्तै छ।

‘१० वटा बल बचाए पनि एउटा गोल खाइयो भने त्यही आलोचनाको विषय बन्छ,’ एन्जिला भन्छिन्, ‘स्ट्राइकरले १० वटा गल्ती गरेर खासै फरक पर्दैन। एउटा गोल मात्र गरे पनि उसको सबै गल्ती छोपिन्छ। सायद फुटबल रोमाञ्चक हुनुको एउटा कारण यो पनि हो।’

तर, गोलकिपरको भूमिका कति महत्वपूर्ण छ, त्यो एन्जिलाले राम्ररी बुझेकी छन्।

‘खेल जिताउन किपरको ठूलो भूमिका हुन्छ। किपरले पछाडिबाट सबै खेल देखेको हुन्छ। टोलीलाई गाइडेन्स गर्न, कराएर जोस बढाउन सक्छ,’ उनी भन्छिन्।

हाल उनी विभागीय टोली एपीएपको गोलकिपर पनि हुन्।

इलामकी एन्जिलाले १३ वर्षको उमेरमा फुटबल खेल्न सुरु गरेकी थिइन्। १५ वर्षको उमेरमा एपीएफमा आबद्ध भएकी उनी त्यसको दुई वर्षमै राष्ट्रिय टोलीमा छनोट भएकी थिइन्।

फुटबलका लागि उर्वर मानिन्छ इलाम। उनलाई पनि त्यहाँको माहोलले फुटबलमा लाग्न प्रेरित गर्‍यो।

‘दिदी–दाइहरु खेलेको देखेर मलाई पनि खेल्न मन लाग्यो,’ २३ वर्षीया एन्जिला भन्छिन्।

जिल्ला हुँदै पूर्वाञ्चल टोलीमा छनोट भएपछि उनले २०६८ सालमा धनगढीमा भएको छैठौँ राष्ट्रिय खेलकुदमा भाग लिने मौका पाएकी थिइन्। त्यतिबेला उनी टोलीको दोस्रो रोजाइकी किपर थिइन्। संयोगवश, पहिलो रोजाइकी किपर कक्षा ११ को परीक्षा दिन जानुपर्ने भयो। त्यसपछि एञ्जिालले पूर्वाञ्चल टोलीको गोलपोस्ट सम्हाल्ने मौका पाइन्।

एपीएफको खेलकुद विभागमा कार्यरत डीएसपी प्रेमकुमार श्रेष्ठ र प्रशिक्षक नरकुमार राई उनको खेलबाट प्रभावित भए। उनलाई एपीएफले सम्झौताको प्रस्ताव राख्यो। त्यहीबेलादेखि उनको खेल जीवनले नयाँ दिशा समात्यो।
***
इलामका स्थानीय प्रतियोगिता खेल्न सुरु गर्दा उनी मिडफिल्डर थिइन्। त्यति बेला उनी पान्दाम नामक स्थानीय क्लबबाट खेल्थिन्। गोलकिपर बस्न उनलाई मन पर्दैनथ्यो। तर, एउटा प्रतियोगिता खेल्दा किपर नआएपछि उनले त्यो जिम्मेवारी लिइन्।

‘त्यो दिन मलाई किपर राख्दा खुब रिस उठेको थियो,’ उनी सम्झिन्छिन्, ‘तर, सायद मैले राम्रो गोलकिपिङ गर्ने देखेर होला, सिनियर दाइहरुले मलाई निरन्तरता दिन सल्लाह दिनुभयो।’

‘मिडफिल्डमै खेलेको भए पनि यहाँसम्म चाहिँ आउथेँजस्तो लाग्छ,’ उनले थपिन्, ‘तर, अहिले किपरमा जुन परिचय पाएको छु, सायद त्यो पाउँथिनँ होला।’

उनी एपीएफमा आबद्ध भएकी थिइन्। तर, महिला फुटबल प्रतियोगिता नै विरलै हुन्थे। त्यसले कहिलेकाहीँ उनलाई लाग्थ्यो, फुटबल नै छाडिदिऊँ।

‘जाँगर मर्दै गएको थियो। एक समय त खेल्नै छाडौँ जस्तो भएको थियो। महिला फुटबललाई एन्फाले पनि खासै वास्ता गर्दैनथ्यो,’ उनले भनिन्, ‘अहिले अवस्था अलिक बदलिएको छ। खेलहरु पनि भइरहेका छन्।’
***
महिला फुटबलमा नेपाली टोली दक्षिण एसियामा बलियो मानिन्छ। तर, नेपालले हालसम्म क्षेत्रीय उपाधि जित्न सकेको छैन। नेपालका लागिसबैभन्दा ठूलो चुनौती भारत बन्ने गरेको छ। दक्षिण एसियाली खेलकुद (साग) होस् वा साफ च्याम्पियनसिपको चौथोबाहेक सबैको फाइनलमा नेपाल भारतसँगै पराजित हुँदै आएको छ ।

स्वदेशमा १० महिनाको फरकमा साफ च्याम्पियनसिप (२०७५ फागुन, विराटनगर) र १३ औं साग (२०७६ मंसिर, पोखरा) आयोजना भएको थियो। दुवै प्रतियोगिता फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो। दुवैमा नेपाल पराजित भएको थियो।

साग र साफ खेल्नुअघि भने नेपालले भारतीय टोलीलाई कडा चुनौती दिएको थियो। ओलम्पिक छनोटमा बराबरी खेलेको नेपालले २०७५ मा हिरो गोल्डकपमा भारतलाई उसकै भूमिमा हराएको थियो। नेपालले अहिलेसम्म भारतमाथि जितेको त्यो एकमात्र खेल हो।

ती सबै प्रतियोगितामा पहिलो रोजाइकी किपर एन्जिला नै थिइन्।

‘ओलम्पिक छनोटमा भारतसँग बराबरी भयो र हिरो गोल्डकपमा जित्यौं पनि। त्यो बेलामा टिम स्पिरिट राम्रो थियो। एक खालको जोस पनि थियो,’ उनले भनिन्।

खेल जीवनकै सबैभन्दा आनन्ददायी क्षण त्यही भएको उनी बताउँछिन्।

‘जुन दिन राष्ट्रिय टोली जर्सी लगाएँ, त्यो सबैभन्दा खुसीको क्षण थियो,’ उनले भनिन्, ‘त्यसपछि भारतलाई हराउँदा र बराबरीमा रोक्दा सबैभन्दा बढी खुसी लागेको थियो।’

महिला फुटबलमा नेपालले जेजति सफलता प्राप्त गरेको छ, त्यसको श्रेय उनी विभागीय टोली (एपीएफ, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब) लाई दिन्छिन्।

‘अहिले जति महिला खेलाडी र महिला फुटबल छ त्यो विभागको कारण नै हो, उनले भनिन्, हामीलाई विभागले नै धानेको छ। विभागकै कारण महिला फुटबल चलेको छ भन्दा फरक पर्दैन।
***
समकालीन खेलाडीमा उनी फरवार्ड सावित्रा भण्डारी साम्बाको फ्यान हुन्।

‘साम्बा एकदमै क्षमतावान् खेलाडी हुन्,’ एन्जिलाले भनिन्, ‘पुरुषहरु पनि उनको खेल हेरेर फुटबल खेल्न प्रेरित हुन्छन् जस्तो लाग्छ।’

अहिले राष्ट्रिय टोलीमा डिफेन्स र किपरबीच समन्वय मिल्न नसकेको उनी महसुस गर्छिन्। तर, यदि साम्बाजस्तै अर्को खेलाडी हुने हो भने भारतलाई हराउन सक्नेमा उनी निश्चित छिन्।

‘हामी छोटो पास खेल्छौं। भारतीय खेलाडीहरु लामो पास खेल्छन्। मैले देखेको अन्तर भनेको त्यही हो,’ उनले भनिन्, ‘साम्बाजस्तै अर्को एक जना खेलाडी हुने हो भने मलाई लाग्छ, हामी भारतलाई हराउन सक्छौं।’

उनी राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङ र वर्तमान कप्तान एवं गोलकिपर किरण चेम्जोङको खेलबाट प्रभावित छिन्।

‘म किरण दाइको खेलको भिडियो हेर्छु र सिक्ने कोसिस गर्छु,’ उनले भनिन्।

विराटनगरको साफ च्याम्पियनसिपको फाइनलमा आफ्नो गल्तीकै कारण गोल खाएको उनी ठान्छिन्।

‘हामीविरुद्धको फ्रिकिकमा म पोस्टबाट अलि अगाडि बढेकी थिएँ,’ उनले सम्झिइन्, ‘सायद म अलि पछाडि बसेको भए खेलले अर्को मोड लिन सक्थ्यो। यद्यपि खेलमा यदि र तरको धेरै ठूलो अर्थ हुन्न।’

आफ्नो कमजोरीलाई हमेसा सुधार्न उनी प्रयासरत छिन्।

‘मेरो जम्पमा अलि समस्या छ,’ उनले भनिन्, ‘म त्यसलाई सुधार्ने प्रयास गरिरहेकी छु।’

भविष्यमा गोलकिपर प्रशिक्षक बन्ने सपना देखिकी उनी नयाँ खेलाडीलाई सफलताका लागि मेहनत गर्न सल्लाह दिन्छिन्।

‘अहिले दायाँबायाँ सोच्ने समय होइन,’ उनी भन्छिन्, ‘देशको लागि सोचेर खेल्ने। सँगै आफ्नो लागि अध्ययन पनि गर्नुपर्दछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .