ad ad

राजनीति


मन्त्री पोखरेलले भने : निजी विद्यालयले सामुदायिकको गुणस्तर सुधार्ने प्रस्ताव शिक्षा मन्त्रालयको होइन

मन्त्री पोखरेलले भने : निजी विद्यालयले सामुदायिकको गुणस्तर सुधार्ने प्रस्ताव शिक्षा मन्त्रालयको होइन

नेपालखबर
जेठ १८, २०७७ आइतबार १२:३२,

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बजेट भाषणमा आएको निजी विद्यालयले सामुदायिक विद्यालय विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मा लिने भन्ने प्रस्ताव मन्त्रालयको नभएको प्रस्ट पारेका छन्।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै मन्त्री पोखरेलले बजेट भाषणको बुँदा नम्बर १६६ मा आएको कुरा शिक्षा मन्त्रालयका प्रस्ताव नभएको प्रस्ट पारेका हुन्।

बजेट भाषणको बुँदा नम्बर १६६ मा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्र्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेबारी लिनुपर्ने उल्लेख छ।

मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको सबलीकरण र सुदृढीकरणका निम्ति गैरसरकारी क्षेत्र र विकास साझेदारको सहयोग पुरक कार्यक्रमका विद्यालय व्यवस्थापन र स्वामित्व यथावत रुपमा रहनेगरी परिचालन गर्ने बताएका छन्।

‘बजेट वक्तव्यको बुँदा नम्बर १६६ मा उल्लिखित व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सबलीकरण र सुदृढीकरणका निम्ति गैर सरकारी क्षेत्र, विकास साझेदारहरूको सहयोग र योगदानलाई पूरक कार्यक्रमका रूप विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत रहने गरी परिचालन गरिने छ’, मन्त्री पोखरेलद्वार जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक शिक्षाको सबलीकरण हामी सबैको साझा दायित्व हो। यस क्रममा निजी क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सार्वजनिक विद्यालयले आवश्यक ठहर गरेका विषयमा सहयोग गर्नेसम्मको दायित्व र भूमिका निर्वाह गर्नु उचित हुन्छ र सो प्रयोजनका लागि सरकारले एक मापदण्ड तयार गरी निजी क्षेत्रको साझेदारीमा सार्वजनिक विद्यालयको सुदृढीकरणको लागि आवश्यक कोष स्थापना गर्ने विकल्पमा जान उपयुक्त हुने धारणा व्यक्त गर्दछु।’

मन्त्री पोखरेलले कोरोनाको संकटका बेला पनि शिक्षा मन्त्रालयमा बजेट बढ्नु सकारात्मक भए पनि कतिपय विषयमा अपुग भएको बताएका छन्। उनले प्रारम्भिक बालविकास तथा शिक्षामा काम गर्ने शिक्षक र विद्यालय कर्मचारीहरू अत्यन्त न्यून वेतनमा काम गरिरहेको र उनीहरुको तलब बढाउन माग गरे पनि त्यो भएको भन्दै अर्थमन्त्रीसँग पुनः अनुरोध गरेको बताएका छन्।

‘शिक्षा लगायत विज्ञान तथा प्रविधि क्षेत्रमा व्यापक बजेट बृद्धि गर्नुपर्ने हुँदाहुँदै पनि अहिलेको विषम परिस्थितिमा संकटसँग जुध्नै पर्ने बाध्यताले गर्दा अपेक्षाकृत रुपमा बजेट बृद्धि हुन सकेको भने छैन’, विज्ञप्तिमा भनिएको छ, ‘यो बजेट वक्तव्यमा परेका कतिपय बुँदाहरूका सम्बन्धमा सरोकारवालाहरूले उठाएका सवालहरूमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’

मन्त्री पोखरेलले मुलुक कोरोनाका महामारीका कारण आक्रान्त रहेको र लामो समयदेखि लकडाउन जारी रहेको वर्तमान परिस्थितिमा बजेट वक्तव्यमा आएका केही अनपेक्षित विषयलाई लिएर तरंगित नहुन सबैमा अपिल समेत गरेका छन्।

उनले शिक्षा क्षेत्रमा प्रविधिको व्यापक प्रयोग गर्दै विद्यार्थीको सिकाइलाई सुचारु गर्नका निम्ति विभिन्न माध्यम अवलम्बन गरी विद्यार्थीलाई घरमै सिक्ने वातावरण बनाउन सरकार लागि परेकोले यसलाई सफल पार्न सम्बद्ध सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेलिदिनु आग्रह समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .