असारे झरीसँगै कञ्चनपुरमा हाफ् म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भएको हाफ म्याराथुन दौड प्रतियोगिता सोमवार सम्पन्न भएको हो।
सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीले पहिलो पटक कञ्चनपुरमा गरेको हाफ म्याराथन प्रतियोगिता झरीबीच नै सम्पन्न भएको छ।
प्रतियोगितामा पुरुष तर्फ सशस्त्र प्रहरी बलका सन्तोष विष्ट र महिला तर्फ बेलौरीकी रेखा चन्द प्रथम भएकी छिन्। सशस्त्र प्रहरी बलका विष्टले १ घण्टा १५ मिनेट ३३ सेकेन्ड र रेखाले १ घण्टा ३९ मिनेट ५२ सेकेन्डमा निर्धारित दुरी पार गरेर प्रथम भएका हुन्। पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत झलारीदेखि शुरु भएको म्याराथन महेन्द्रनगर कर्बडहलमा पुगेर समापन गरिएको थियो।
यस अघि भीमदत्त नगरपालिकाद्वारा ६ महिना अघि भएको जैविक मार्ग म्याराथन प्रतियोगितामा सशस्त्र प्रहरीकै जवान विष्ट प्रथम भएका थिए। द्वितियमा पुरुष तर्फ सुमन मादिन, महिला तर्फ लक्ष्मी बम, तृतियमा पुरुषतर्फ लक्ष्मण भण्डारी र महिलातर्फ कविता जनाला भएकी छिन। यस्तै पुरुषतर्फ चौथो स्थान सन्तोष बोहरा, महिलातर्फ अमृत नाथ, पाँचौँ पुरुषतर्फ अनिल देवकोटा, महिलातर्फ लक्ष्मी सुनार र छैटौँमा पुरुषतर्फ भिमदत्त भट्ट र महिलातर्फ ममता भट्ट भएकी छिन्।
सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा हाफ म्याराथुन दौड प्रतियोगिता भएको थियो। सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष लाल बहादुर शाहीले पुरुष र महिला हाफ म्याराथुन प्रतियोगिताका विजेतालाई नगद पुरस्काका साथै प्रमाण पत्रले सम्मान गरिएको बताएका छन्।
यद्यपी विजेता खेलाडीहरुले घोषित पुरस्कार रकम पुरै नपाएको भन्दै आयोजकको आलोचना भएको छ। प्रथमलाई एकलाख, द्वितियलाई ६० हजार, तृतीयलाई ४० हजार, चौथो स्थान हासिल गर्नेलाई २५ र पाचौँ स्थान हासिल गर्नेलाई १५ हजार तथा छैटौँलाई १० हजार रुपैया नगद पुरस्कार घोषणा गरिएको थियो।
तर उक्त घोषित पुरस्कार रकम पुरै विजेता खेलाडी नपाएर विजेताले मात्र ७५ हजार, द्धितियले ४५ हजार र तृतीय स्थान ओगट्नेले ३० हजार पुरस्कार पाएको भन्दै आयोजकको चर्को आलोचना भइरहेको छ। विजेता रकममा केही प्रतिशत कर काटिएको हुन सक्ने एकथरीको तर्क छ।
प्रतिक्रिया