ad ad

खेल


राखेपको बागडोर सम्हाल्न आँट गर्ने यी तीन महिला

राखेपको बागडोर सम्हाल्न आँट गर्ने यी तीन महिला

लक्ष्मी जि.सी
साउन १, २०७७ बिहिबार ११:३४,

छ दशकभन्दा अघि गठन भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्तिका लागि पहिलोपटक खुला आह्वान हुँदा ३ जना महिलाले पनि आवेदन दिएका छन्।

उनीहरु लामो समय खेल क्षेत्रको अनुभव बटुलेकादेखि राजनीतिक पृष्ठभूमि बोकेकासम्म छन्।

आवेदन दिनेमा राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ, भलिबलकै पूर्वखेलाडी निलम बज्राचार्य र राजनीतिक पृष्ठभूमि भएकी मिना श्रेष्ठ छन्।

यी ३ मध्ये कम्तीमा १ जनाको नाम सदस्यसचिवका लागि सिफारिस हुने पक्का छ। किनकि सदस्यसचिव छान्न गठित सिफारिस समितिले अन्तिम ३ को नाम सिफारिस गर्दा कम्तीमा १ महिला समावेश गर्नैपर्ने खेलकुद ऐनमा उल्लेख छ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा इन्दिरा निरौला र रिम रानाभाट रहेको सिफारिस समिति युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले गत साता पूर्णता दिएका थिए।

वि.सं. २०१५ सालमा स्थापना भएको राखेपमा अहिलेसम्म महिला सदस्यसचिव नियुक्त भएको इतिहास छैन। एकपटक छनोट समयका लागि शकुन्तला नगरकोटीले कार्यवाहक सदस्यसचिवको जिम्मेवारी पाएकी थिइन्। राखेपमा अहिलेसम्म १९ जना सदस्यसचिव भएका छन्।

तर नगरकाेटीबाहेक महत्वपूर्ण जिम्मेवारी भने हालसम्म पुरूषले नै पाएका छन्। यस्ताेमा तीन महिलाले सदस्यसचिवमा दाबी पेश गरेका हुन्। 

यस्ता छन् राखेपको बागडोर सम्हाल्न आँट गरेका तीन महिला –

अञ्जु श्रेष्ठ
anju sth

महिला भलिबल टोलीकी पूर्वकप्तान अञ्जु श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवका लागि आवेदन दिएकी छन्। श्रेष्ठले २०५३ सालमा धनगढीमा भएको राष्ट्रिय भलिबल प्रतियोगिता खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। सन् १९९९ मा स्वदेशमा आयोजना भएको आठौँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले कांस्य पदक जित्दा उनी टोलीकी सदस्य थिइन्।

श्रीलंकामा सन् २००६ मा भएको १०औँ सागमा नेपालले कांस्य जित्दा उनले कप्तानी सम्हालेकी थिइन्। हाल लक्ष्मीनारायण ट्रष्टको अध्यक्ष रहेकी श्रेष्ठ जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षक पनि हुन्। एफआईभीबी लेभल टु प्रशिक्षक तालिम पूरा गरेकी अञ्जुले व्यवस्थापन र शिक्षाशास्त्रमा स्नातक गरेकी छिन्।

निलम बज्राचार्य
nilam bajracharya

नेपाली महिला टोलीले पहिलोपटक वि.सं. २०४४ सालमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाकी सदस्य थिइन्। अर्थशास्त्रमा स्नातकोत्तर गरेकी बज्राचार्यले सदस्यसचिवमा नियुक्ति भए पनि नभए पनि पछिल्लो पुस्ताको लागि केही सन्देश जाओस् भनेर आवेदन दिएको बताउँछिन्।

विद्यालयस्तरको वीरेन्द्र शिल्ड, जिल्ला हुँदै अञ्चलस्तरीय भलिबल खेलिसकेकी छन्। पछि अध्ययनलाई निरन्तरता दिन बज्राचार्य खेलक्षेत्रबाट टाढा भए पनि अहिले खेल क्षेत्रमा नै निरन्तर लागेको बताउँछिन्।

मिना श्रेष्ठ
kp meena
प्रधानमन्त्री ओलीसँगै मिना श्रेष्ठ।

राजनीतिक पृष्ठभूमिकी मिना श्रेष्ठ तत्कालीन एमालेको युवा तथा खेलकुद विभाग केन्द्रीय सदस्य थिइन्। केपी शर्मा ओलीले प्रधानमन्त्री भएर नौ महिने कार्यकाल सम्हाल्दा श्रेष्ठ स्वकीय उपसचिवको रुपमा रहेकी थिइन्।

खेल र खेलाडी जीवनको अनुभव नभएकी श्रेष्ठ आफूलाई राजनीतिज्ञको रुपमा नै चित्रण गर्न रुचाउँछिन्। सुनसरी पार्टी जिल्ला कमिटीको ३ कार्यकाल सदस्य थिइन्। जनसांस्कृतिक मञ्च इटहरीमा रहेर कार्य गरिसकेकी छिन्।

खेल क्षेत्रमा प्रत्यक्ष संलग्न नभए पनि खेलको माध्यमबाट देशलाई अगाडि बढाउने भिजन आफूसँग रहेको उनको दाबी छ। बडी बिल्डिङ संघमा विगत ६ वर्षदेखि सल्लाहकारको रुपमा कार्यरत रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .