ad ad

खेल


क्रिकेट खेलाडीको बाँकी तलब दिलाउन क्यानले थाल्यो पहल

क्रिकेट खेलाडीको बाँकी तलब दिलाउन क्यानले थाल्यो पहल

लक्ष्मी जि.सी
भदौ १, २०७७ सोमबार १२:१४,

कोरोना महामारीका कारण क्रिकेट खेलाडीको आयस्रोत सुकेको छ। थुप्रै खेलाडीले आर्थिक संकटको सामना पनि गरिरहेका छन्। त्यसैले लामो समयदेखि रोकिएको राष्ट्रिय क्रिकेट टोलीको तलब दिलाउन नेपाल क्रिकेट संघ (क्यान) ले पहल सुरु गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०१९ यता राष्ट्रिय टोलीलाई तलब दिन बाँकी छ। यसअघि पनि लामो समय तलब नपाएका खेलाडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा सन् २०१७ र २०१८ को तलब एकमुष्ट बुझेका थिए।

आईसीसीले पछिल्लो पटक २०७५ माघमा १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ राखेपको खातामा पठाएको थियो। त्यसयता राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले मासिक पारिश्रमिक बुझ्न पाएका छैनन्। पुरुषतर्फ २०१९ मा २४ खेलाडीसँग आईसीसीले सम्झौता गरेको थियो। सम्झौतामा रहेका खेलाडीमध्ये ए ग्रेडले ३५ हजार, बी ग्रेडले २५ हजार र सी ग्रेडकाले १५ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन्।

क्यानले तलबका लागि उपत्यकामा उपलब्ध खेलाडीलाई हस्ताक्षर गर्न डाकेको छ।

२०१९ को तलब वितरणका लागि प्रक्रिया सुरु गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

‘क्यानले सबै प्रक्रिया पूरा गरेर आईसीसीमा पठाउँछ, त्यसपछि आईसीसी तलब पठाउँछ,’ उनले भने।

सचिव प्याकुरेलले कोरोना संक्रमणको अवधिको तलब नकाटिदिन आईसीसीलाई आग्रह गर्ने बताएका छन्।

‘यो समयमा प्रतियोगिता नहुँदा खेलाडीलाई आर्थिक समस्या परेको छ। त्यसैले कट्टा नगरी उपलब्ध गराउन पहल गर्नेछौं,’ उनले भने।

क्यानले यो वर्षबाट महिला राष्ट्रिय खेलाडीलाई पनि मासिक पारिश्रमिक दिने घोषणा यसअघि नै गरिसकेको छ।

खेलाडीहरुलाई तलब दिने प्रक्रिया सुरु गर्नु राम्रो भएको राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले बताए। उपत्यकामा रहेका खेलाडी हस्ताक्षर गरिसकेको र बाहिरका खेलाडीले हस्ताक्षर गर्न बाँकी रहेको बताइएको छ।

कोभिड १९ को महामारीले नेपाली क्रिकेटलाई पनि नराम्ररी प्रभावित गरेको छ। चैत १ गतेबाट सुरु गर्ने तय भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) कोभिड १९ कै कारण स्थगित भएको थियो।

ईपीएल रोक्न पर्ने अवस्था हुन्थेन भने क्रिकट र क्रिकेट खेलाडी चर्चाको शिखरमा हुन्थे। वेस्ट इन्डिजका खेलाडी क्रिस गेल आउने खबरले त ईपीएल सुरु हुनुअघि नै सनसनी पैदा गरेको थियो। तर, महामारीका कारणसबै खेल गतिविधि ठप्प भए।

अझै पनि कोरोना महामारीको अन्त्य हुने समय र नेपाली खेलकुदले कहिलेबाट गति लिन सक्ला भन्ने अनुमान गर्न सकिन्न। फुटबल, क्रिकेटलगायत केही खेलका राष्ट्रिय टोलीले प्रशिक्षणमा जुट्ने तयारी गर्दा गर्दै कोराना संक्रमितहरुको संख्या बढ्न थालेपछि पुनः प्रशिक्षण रोकिएको छ। जसका कारण खेलाडीको मनोबल मात्र कमजोर भएको छैन, बिस्तारै आर्थिक रुपमा पनि खेलाडीलाई अप्ठेरो पर्न थालेको छ।

त्यसमाथि राष्ट्रिय क्रिकेट खेलाडीले आईसीसीबाट पारिश्रमिक समयमा पाएका छैनन्। विभाग (सेना, प्रहरी, सशस्त्र) मा नहुने र आर्थिक अवस्था कमजोर भएको खेलाडीलाई अप्ठेरो परेको राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ऐरीले बताए।

‘डेढ वर्षयता पारिश्रमिक पाएका छैनौं। विभागमा हुनेको नियमित तलब आउँछ। क्रिकेट लगायत सबै ठप्प छ,’ नेपाल पुलिस क्लबमा आबद्ध उनले भने, ‘विभागमा नहुनेलाई गाह्रो छ। विभागमा हुनेको हकमा पनि काठमाडाँैमा डेरा भाडा र खानामा ठिकै हुन्छ। नियमित आम्दानीको श्रोत नहुनेलाई त समस्या छ।’

राष्ट्रिय टोली एवं एपीएफका सदस्य अभिनास बोहोराले पनि यो कठिन समयमा खेलाडीलाई आईसीसीबाट आउने तलब आए केही सहज हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .