बोरुसिया डर्टमुन्डले जर्मन कपमा सानदार सुरुवात गरेको छ। गएराति भएको खेलमा डर्टमुन्डले डुइसबर्गलाइ ५–० को फराकिलो अन्तरले हराउँदै सिजनको उत्कृष्ट सुरुवात गरेको हो।
खेलको १५औं मिनेटमा जेडन सान्चोको गोलमा डर्टमुन्डले अग्रता लिएको थियो। ३०औं मिनेटमा जुड बेलिन्घमले गोल गर्दै डर्टमुन्डमा नयाँ इतिहास रचे।
यसै सिजन दोस्रो श्रेणीको इंग्लिस क्लब बर्मींघमबाट जर्मनी पुगेका उनले क्लबका सबैभन्दा कान्छा गोलकर्ताको कीर्तिमान समेत बनाए। ३८औं मिनेटमा थोर्गन हाजार्डले गोलमा टोलीले ३–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा ३–० को अग्रता बनाएको डर्टमुन्डले दोस्रो हाफमा थप २ गोल गर्यो।
खेलको ५०औं मिनेटमा जिओ रेइनाले फ्रिकिकमा गोल गर्दै अग्रता फराकिलो पारे। वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका कप्तान मार्को रिउसले ५८ औं मिनेटमा गोल गरेका थिए। चोटका कारण मैदान बाहिर रहेका उनी पुनरागमन खेलमा मैदान छिरेको १ मिनेटमा नै गोल गरेका थिए।
प्रतिक्रिया