फुटबल र भलिबल पहिलेदेखि नै लोकप्रिय खेल रहँदै आएको पोखरामा केही वर्षयता क्रिकेट पनि थपिएको छ।
पोखरा प्रिमियर लिग (पीपीएल)को दुई संस्करणको सफल आयोजनाले पोखरामा क्रिकेटको पनि भविष्य राम्रो भएको संकेत गरेको थियो। पोखरेली दर्शकले फुटबल र भलिबललाई जस्तै क्रिकेटलाई पनि माया गर्ने पीपीएलले पुष्टि गरेको थियो।
पोखरा रंगशालाभित्रै फुटबलसँगै क्रिकेट मैदान छ। फुटबलका लागि भव्य रंगशालाको पुनर्निर्माण भइसकेको छ। जहाँ १३औँ दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबल पनि आयोजना भएको थियो।
सँगैको क्रिकेट मैदानमा सागको महिला क्रिकेट आयोजना भएको थियो। साग आयोजना भएको एक वर्ष पूरा हुनै लाग्दा अहिले त्यो क्रिकेट मैदान आफैँ संरक्षणको पर्खाइमा छ।
पीपीएलको दुई संस्करण आयोजनाले त्यो मैदानको मुहार नै फेरिएको थियो। कोरोना महामारीका कारण तेस्रो संस्करण आयोजना हुनसकेन। परिणामतः त्यो मैदान हाल कम चासोमा परेको छ।
अब पोखराको क्रिकेट मैदान संरक्षणका लागि फेरि अर्को ठूलो प्रतियोगिता कुर्नुपर्ने देखिएको छ। यद्यपि मैदान संरक्षणका लागि कामै नभएको होइन, जति हुनुपर्ने हो त्यतिचाहिँ नभएको पक्कै हो।
भौतिक पूर्वाधार निर्माण र त्यसको संरक्षण फरक विषय हुन्। निर्माणपछिको संरचना नेपाली खेलकुदकै मुख्य चुनौतीको विषय रहँदै आएको छ।
पीपीएल आयोजना गर्दाको सुरुवातमा क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले मैदानका लागि झण्डै ४२ लाख रुपैयाँ खर्च गरेको थियो। क्रिकेटलाई विकेन्द्रीकरण गर्ने लक्ष्यका साथ नै पोखरामा पीपीएल आयोजना गरेको क्विन्सका अध्यक्ष छुम्बी लामा बताउँछन्।
क्रिकेट खेल्दा माछापुच्छ्रे हिमाल पृष्ठभूमिमा देखिन्छ। त्यस्तो दृश्यले कसको मन लोभ्याउँदैन र! पीपीएलको पहिलो संस्करण आयोजना हुँदै गर्दा क्रिकेट विश्वकपको ट्रफी पोखरा पु¥याइएको थियो।
माछापुच्छ्रेलाई पृष्ठभूमिमा राखेर खिचिएको विश्वकप ट्रफीको फोटोले विश्वभर चर्चा पाएको थियो। सामाजिक सञ्जालमार्फत पनि त्यत्तिकै प्रचार भएको थियो।
‘पोखरामा पनि क्रिकेटको विकास होस् भनेर हामीले प्रतियोगिता गरेका थियौँ। त्यहाँ खेल्न आउने विदेशी खेलाडीले पनि ‘बेस्ट पिच’ भएको अनुभव हामीसँग साटेका थिए’, नेपाल क्रिकेट संघ (क्यान)का सदस्य समेत रहेका लामाले भने, ‘माछापुच्छ्रेको काखमा बसेर खेल्दा खेलाडीले छुट्टै आनन्द मान्छन्। तर मैदानप्रतिको बेवास्ता देख्दा दुःख लाग्छ।’
सरकारले पूर्वाधारमा ध्यान दिने हो भने त्यो जस्तो राम्रो पिच नेपालमै नहुने उनको दाबी छ।
पोखरा क्रिकेट मैदानका लागि अहिले २५ लाख रुपैयाँ मात्र विनियोजन भएको छ। त्यो रकम पनि नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खर्च गरिने बताइएको छ। तर, फागुनमा आयोजना हुने भनिएको नवौँ राष्टिय खेलकुद हुने सम्भावना पनि न्यून देखिएको छ।
काम अलपत्र, बजेट फ्रिज
त्यसो त मैदानका लागि बजेट नभएकाले पूर्वाधार निर्माणका थप काम रोकिएको भने होइन। संघीय र प्रदेश सरकार समन्वय अभावमा विनियोजित बजेट पनि ‘फ्रिज’ भएको थियो।
उक्त क्रिकेट मैदान निर्माणका लागि संघीय सरकारले ३ करोड र प्रदेश सरकारले १ करोड गरी ४ करोड रुपैयाँ विनियोजन भएको थियो।
‘तर समन्वय भएन। यत्तिकैमा कोरोनाको महामारी आयो। काम हुनसकेन। अन्ततः आएको बजेट त्यसै ‘फ्रिज’ भयो’, जिल्ला क्रिकेट संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले नेपालखबरसँग भने।
यो वर्ष २५ लाख मात्र विनियोजन भएको उनको भनाइ छ।
सिग्देलले भने, ‘मैदान निर्माणका लागि ३ करोड २५ लाख रुपैयाँको योजना थियो। गत वर्ष ३ करोडको काम सक्ने र नपुग रकम अर्थात् २५ लाख रुपैयाँ यो वर्ष विनियोजन हुने थियो तर त्योअनुसार काम हुन नसक्दा अगाडि बढ्न सकेन।’
नवौँ खेलकुदका लागि भने जिल्ला संघले मैदान खेल्नयोग्य बनाउने उनले बताए।
उनले थपे, ‘नवौँका लागि १ करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौँ। त्यसको लागि इन्जिनियरलाई काम सुरु गर्न पनि भनिसकेका छौँ। बजेटको लागि अब छिट्टै केन्द्रलाई जानकारी गराएर काम सुरु गर्छौँ।’
पहिले मैदानको काम सकेर प्यारापिट निर्माण गर्ने उनले जानकारी दिए।
संघीयता कार्यान्वयन भएको लामो समयसम्म पनि केन्द्र र प्रदेश सरकारबीच समन्वय नहुँदा खेलकुदको पूर्वाधार निर्माणमा समस्या भएको उदाहरण यो मैदान एक हो।
पोखरा क्रिकेट मैदानलाई पहिला प्रदेश सरकारले निर्माण गर्ने भनिएको थियो। फेरि संघीय सरकारले पनि लगानी गर्ने भएपछि प्रदेश सरकारले अर्को मैदानबारे योजना अघि सारेको थियो।
पशुपतिघाटमा क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकार लागेको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी बताउँछन्।
‘पोखरा रंगशालाभित्रको मैदान निरीक्षण र संरक्षण गर्ने जिम्मा हाम्रो हो। त्यो हामीले गरिरहेका छौँ’, उनले भने, ‘पहिलेको पैसा पनि निकासा भएको छैन, संघमार्फत केही काम भइरहेको छ।’
क्रिकेट मैदानमा अहिले घाँस लामो भएको छ। स्कोर बोर्डहरु यत्रतत्र छन्।
क्षेत्रीय खेलकुदका प्रमुख योगीले भने, ‘स्कोर बोर्डहरु खोलेर राख्ने कुरा भइरहेको थियो। पहिला बनाउँदा हेभीखालको निर्माण गरियो। हामीले खोलेर राख्छौँ। पिचमा उम्रेको घाँस हो त्यो काटेपछि ठीक हुन्छ।’
अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भइसकेको पोखराको एउटै क्रिकेट मैदान संरक्षणको पर्खाइमा रहँदा अर्कोतर्फ प्रदेश सरकार फेरि अर्को रंगशाला निर्माणमा जुटेको छ।
खेलकुदका भौतिक पूर्वाधार निर्माण हुनु आफैँमा राम्रो भए पनि बनिसकेका संरचनालाई जोगाउने पहलकदमी नहुनु निकै दुःखद हो।
प्रतिक्रिया