फेरि छिट्टै अर्को प्रतियोगितामा खेल्न स्वदेश फर्कने अठोटसहित अर्जुन कुमाल भारतकाे नयाँ दिल्ली फर्किसकेका छन्।
अर्जुन तिनै कलिला खेलाडी हुन् जसले शनिबार सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध गण्डकी प्रदेशबाट पहिलो खेल खेल्दै सबैको ध्यान ताने।
सिनियर क्रिकेटको डेब्यूमै ओपनिङको भूमिकामा उत्रेका १५–वर्षे अर्जुनले बलियो टोलीविरुद्ध ३६ रन जोडेर उनले सुरुमै सबैको ध्यान तान्न सफल भएका हुन्।
अर्जुनमा सम्भावना देखेरै अहिले उनलाई सहयोग गर्न अघि सर्नेको संख्या पनि बढ्दो छ। प्रधानमन्त्री कप सम्पन्न गरी उनी अहिले नयाँ दिल्ली फर्केका छन्। सानो सानो सहयोगको पनि कति ठूलो अर्थ हुन्छ भन्ने अर्जुनले अनुभूति गरेका छन्।
यसै क्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य गण्डकी प्रदेशका राजेश गुरुङले अर्जुनको भारतबाट आउने जाने खर्च बेहोरे।
पोखरा ऐकेडेमीले उनलाई प्रशिक्षण दिनुका साथै आवास र खानाको व्यवस्था मिलायो। टोलीसँगै काठमाडौं आएर गण्डकीले खेलेका सबै ४ खेलमा सहभागी भका उनी अहिले भारत फर्केका छन्।
फर्कदा उनले भविष्यमा नेपालका लागि सिनियर क्रिकेट खेल्ने सपना पनि देखेर गए। उमेर समूहमा त देशलाई प्रतिनिधित्व गर्ने अनुभव उनले बटुलिसकेका छन्। एउटा सफलताले अर्को सफलताका लागि प्रेरित गर्छ नै। अर्जुनको हकमा पनि त्यो लागु हुने संकेत देखिएको क्रिकेट क्षेत्रमा सक्रिय व्यक्तिहरुको बुझाइ छ।
कलिला अर्जुनको खेलबाट नेपाली क्रिकेट क्षेत्र निकै प्रभावित भयो भने यहाँको क्रिकेट समुदायबाट पाएको स्नेह तथा साथ सहयोगबाट उनी पनि उत्तिकै खुशी भए।
भारत फर्कने बेलामा उनले आफूलाई सहयोग गर्ने सबैलाई सम्झिए। उनले भनेका थिए, ‘पोखरा एकेडेमी, राहुल उपाध्याय, जिम्मी गुरुङ, रिजन प्रजु, राजेश गुरुङ सर र गण्डकी प्रदेश क्रिकेटलाई धन्यवाद दिन्छु। अर्को प्रतियोगिता खेल्न फेरि आउने छु।’
अर्जुन गण्डकी प्रदेशबाट खेल्नुअघि भारतमा राहुल शर्मा उपाध्याय संलग्न रहेको एकेडेमीमा खेल्ने गर्थे। राहुल आफै पनि गण्डकी प्रदेशका खेलाडी हुन्।
राहुलले भारतबाट पोखरा फर्केका बेला गण्डकीका प्रशिक्षक प्रजुसँग अजुर्ननलाई सो टोलीबाट खेलाइदिन आग्रह गरे। प्रजुले टोलीमा सल्लाह गरेपछि उनलाई खेलाउन नेपाल बोलाएका थिए। सोहि पहलस्वरुप दुई वर्षअघि आयोजित यू–१६ अन्तरप्रदेश मनमोहन कप खेल्न प्रजुले अर्जुनलाई बोलाए।
अर्जुनसँगै गण्डकीले जुनियर खेलाडीलाई मौका दिएको थियो। प्रजु भन्छन्, ‘हाम्रा जुनियरहरुले अन्य प्रदेशका खेलाडीले भन्दा राम्रो खेले। जसले गर्दा हामीले राम्रा खेलाडी उत्पादन गरेको सन्देश गएको छ। १५ बर्षको अर्जुनले सिनियरसँग खेल्दा राम्रो गरे।’
प्रदेशको क्रिकेट विकासका लागि आर्थिक पाटो भने बाधक रहँदै आएको छ। त्यहि कुरा अनुभूति गरेर दिल्लीदेखि अर्जुन आउनेजाने खर्च व्यवस्थापनका लागि राखेप सदस्य गुरुङ अघि सरे। यसरी साथ सहयोग जुटाएर अर्जुनलाई खेल्ने वातावरण बनाइएको थियो। प्रशिक्षक प्रजु भन्छन्, ‘त्यहि हिसाबले अर्जुनले प्रदर्शन पनि गरे।’
सम्भव भयो भने यू–१६ का केहि खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाउने योजना पनि प्रजुले सुनाए।
प्रजुलाई अर्जुनको अनुशासन उनको अर्को बलियो पक्ष लाग्यो। उनले भने, ‘सिनियर खेलाडीलाई अभिभावक जस्तो मान्ने र हरेक समय सिक्न खोज्ने उनमा खेल्ने भोक छ।’
अर्जुनले गण्डकी प्रदेशबाट पहिलो प्रतियोगिताको रुपमा मनमोहन कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका थिए। मनमोहन कपमा खेलेपछि उनले मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गरेको १६ वर्ष मुनिको प्रतियोगिता खेले। लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका अर्जुनले यु–१६ राष्ट्रिय टोलीबाट इस्टर्न रिजनको अनुभव बटुले।
यसरी राम्रो क्रिकेट खेल खेल्दै आएका अर्जुन पोखरामा प्रधानमन्त्री कप एक दिवसीय छनोट खेल्दा उत्कृष्ट ब्याट्सम्यान नै चुनिए। अहिले भारत फर्कदै गर्दा पनि उनी स्वदेशमै रहेर क्रिकेट खेल्ने चाहना बोकेरै गएका छन्। त्यो भावना बुझेर गण्डकी प्रदेश क्रिकेटका सचिव सुमनराज कार्की अर्जुनलाई सहयोग गर्न आफूहरु तयार रहेको बताउँछन्।
‘हामी व्यक्तिगत रुपमा पनि एकडेमी चलाइरहेका छौं। त्यसमा अर्जुनलाई निःशुल्क खेलाउन तयार छौं। अर्जुनजस्ता राम्रा खेलाडी उत्पादन गर्न गण्डकी प्रदेश सहयोग गर्न तयार छ,’ कार्कीले भने, ‘हामीले कसरी खेलाउन सक्छौं भनेर योजना बनाइरहेका छौं। उनी नेपालमा खेलेर बस्न सक्ने वातावरण बनाउन हामी लाग्छौं।’
यो पनि: भारतमा क्रिकेट सिकेर सोमपाल र सन्दीपको पदचाप पछ्याउँदै अर्जुन
सँगसँगै गण्डकी प्रदेशको प्रदर्शनमा विगतमा भन्दा सुधार भएकोमा पनि कार्की खुसी व्यक्त गर्छन्।
‘अहिले प्रदेशबाट छनोट खेलाएर टोली बनाउँदा निकै सुधार भएको छ,’ उनले भने, ‘युवा खेलाडी भएपनि टोलीको प्रर्दशनबाट हामी सन्तुष्ट छौं।’
उनले अब आफूहरु विभागीय टोलीलाई नै चुनौती दिनसक्ने गरी टिम तयार गर्न लाग्ने बताए।
उमेर समूह हुँदै राष्ट्रिय टोलीको कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लले पनि प्रधानमन्त्री कपमा अर्जुनको खेललाई राम्रैसँग नियाले।
‘हाम्रोमा ५० ओभरको खेल कम हुन्छ। यस्तोमा युवाहरुले खेल्नु भनेको म्याच एक्सपोजर पाउनु मुख्य कुरा हो,’ मल्ल भन्छन्, ‘पछि उनीहरुले नै सिनियर टोलीलाई नेतृत्व गर्ने हो। यो एउटा मौका हो। नेपाली टिमलाई प्रतिनिधित्व गर्नेभन्दा पनि भविष्यमा टोलीलाई जिताउने खेलाडी नै आउन् भन्ने हो।’
गुरु-चेला साझेदारी
अघिल्लो साता मंगलबार कर्णाली प्रदेशविरुद्ध टस जितेर ब्याटिङ रोजेको गण्डकी प्रदेश ४२.३ ओभरमा २ सय ४ रनमा अल आउट भएको थियो।
गण्डकीले कमजोर सुरुवात गरेको थियो। ८ ओभरमा टोलीले २७ रन जोड्दा माथिल्लो क्रमका दीपेश खत्री, समिर कंडेल र दीपक डुम्रे आउट भइसकेका थिए। अर्कोतर्फ ओपनर अर्जुन भने टिकिरहेका थिए।
पाँचौं नम्बरमा राहुल क्रिजमा गए। राहुल तीनै खेलाडी हुन् जसले भारतमा अर्जुनलाई क्रिकेटको गुण सिकाए। कठिन अवस्थाबाट अर्जुन र राहुलले ८९ रनको साझेदारी गर्दै टोलीलाई अघि बढाए। तथापी गण्डकी त्यो खेलमा पराजित भयो।
एकातर्फ गुरु र अर्कोतर्फ चेलाले ब्याटिङ गरेको दृष्य नेपाली क्रिकेटमा देख्न पाउनु दुर्लभ नै हुन्छ। त्यो खेलमा राहुलले अर्धशतक पूरा गरे। अर्जुन भने राष्ट्रिय प्रतियोगितामा अर्धशतक बनाउनबाट थोरै रनले चुके। उनले ४६ रन बनाए।
राहुलले पहिलो खेलमा मौका पाएनन्। प्रदेश १ विरुद्धको खेलमा भने राहुल र अर्जुनले ओपनिङ गरेका थिए। तर राहुल दोस्रो ओभरमै खाता नखोली बोल्ड भए।
राहुलले छनोटमा नवलपुरबाट खेल्दै राम्रो गरेर प्रदेश टोलीमा छानिएका हुन्। अर्जुन भने गण्डकी प्रदेश छनोटमा उत्कृष्ट ब्याट्सम्यान चुनिदै पहिलो पटक राष्ट्रिय प्रतियोगिताका लागि सिनियर टोलीमा परे।
राहुलले नयाँ दिल्लीको जनकपुरीमा रहेको एयरलाइनर क्रिकेट एकेडेमीमा अर्जुनलाई सानैदेखि क्रिकेट सिकाएका हुन्।
‘अर्जुनले सानैबाट ओपनिङ गर्दै आएको छ। भारतमा म खेल्न जाँदा उसलाई पनि लिएर जान्थेँ। अर्जुनले ७ वर्षदेखि नै हाम्रै एकेडेमीमा सिक्दै आएको छ,’ राहुलले पुराना दिन सम्झिए, ‘आफूले सुरुबाटै अर्जुनलाई स्वदेशबाट खेलाउने योजना बनाएको सुनाए। भारतबाट घर फर्कंदा पोखरामा यू–१६ छनोट भइरहेको थियो। अनि मैले रिजन प्रजुसँग अर्जुनका बारेमा कुरा गरेको थिएँ।’
प्रजुले स्वीकृति जनाएपछि राहुलले अर्जुनलाई पोखरा पठाए। उनले छनोटमा अनि यू–१६ प्रतियोगितामा राम्रो गरे। यू–१६ देखि राष्ट्रिय प्रतियोगितासम्म अर्जुनले खेल्दा सबैभन्दा खुसी आफू हुनेगरेको राहुल बताउँछन्। त्यसमाथि प्रधानमन्त्री कपमा गुरु–चेलाबीच साझेदारी गर्नु उनीहरुका लागि एउटा अविष्मरणीय क्षण बन्यो।
यस्तो रह्यो अर्जुनको प्रदर्शन
प्रधानमन्त्री कपको उद्घाटन खेलमै गण्डकी प्रदेशले आर्मीको सामना गरेको थियो। खेलमा गण्डकी ९८ रनले पराजित भयो। टोलीको हारमा पनि अर्जुनले भने आफ्नो क्षमता प्रदर्शन गरे।
अर्जुनले ५४ बल खेल्दै ६ चौकासहित ३६ रन जोडे। दोस्रो खेलमा गण्डकीले प्रदेश १ लाई २ विकेटले हरायो। त्यो खेलमा पनि अर्जुनले अघिल्लो खेल जस्तै धैर्यता देखाए। ६८ बल खेलेका उनले ५ चौका प्रहार गर्दै ३५ रन बनाउँदा रन आउट भए।
तेस्रो खेलमा गण्डकी प्रदेश कर्णालसँग ५ विकेटले पराजित भयो। तर, त्यसमा पनि अर्जुनले आफ्नो भूमिकालाई न्याय गरे। १ सय ६ बल खेल्दै ६ चौका हानेका अर्जुनले ४६ रन बनाए। एपीएफविरुद्ध समूह चरणको अन्तिम खेल ६ विकेटले गुमाउँदा अर्जुन भने ११ बल खेल्दा खाता नखोली आउट भए।
प्रधानमन्त्री कपमा समग्रमा राम्रो प्रदर्शन गर्दै सबैको ध्यान तानेर फेरि अर्को प्रतियोगितामा सहभागी हुने योजनासहित अर्जुन र राहुल दिल्ली फर्केका छन्।
यो पनि:
क्रिकेटर पृथुको कमब्याक, भन्छन्– आफूलाई प्रमाणित गर्न इख राखेर खेल्दैछु
प्रतिक्रिया