प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोलीको दबदबा रहँदै आएको छ।
पहिलो संस्करणमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब संयुक्तरुपमा विजेता बनेका थिए। दोस्रोमा एपीएफ र गतवर्ष पुलिस क्लब च्याम्पियन बनेको थियो।
एपीएफ र पुलिसले उपाधि जित्दा फाइनलमा दुवैले आर्मीलाई नै हराएका थिए। फाइनलमा एपीएफले ६ विकेट र पुलिसले ४ विकेटले हराएका हुन्।
यसपटक पनि आर्मी फाइनलमा पुगेको छ। यस प्रतियोगितामा लगातार चौथो फाइनल खेल्ने एक मात्र टोली आर्मी नै हो। तर एकल विजयी बन्ने उसकाे सपना अझै पुरा भएकाे छैन।
फाइनलमा अर्को सशक्त टोली छ एपीएफ। दुई वर्षअघि जस्तै फाइनलमा आर्मी र एपीएफ भिड्दैछन्।
यसपाली आर्मी पहिलो पटक एकल च्याम्पियन बन्ला कि एपीएफ फेरि आर्मीमाथि हावी होला भन्ने सबैको जिज्ञासाबीच यी दुई टाेली शनिबार फाइनलमा भिड्दैछन्।
राउन्ड रोविन लिगमा पनि एकै समूहमा रहेका यी दुई विभागीय टोलीबीचका खेल निकै रोचक बनेका थिए।
जसमा एपीएफले आर्मीलाई ६ रनको झिनो अन्तरले निराश पारेको थियो। समूह चरणको त्यो हारलाई आर्मीले पक्कै बिर्सेको छैन। त्यो हार र दुई वर्षअघिको फाइनलको हारलाई रोक्न आर्मीले फेरि एक पटक आफ्नो पुरा शक्ति लगाउने बताएको छ।
अर्कोतर्फ एपीएफ आफ्नो विजयी छविलाई कायम राख्ने योजनामा मैदानमा उत्रनेछ।
यसपटक फाइनल पुग्नका लागि सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली पुलिसलाई ३० रनले हराएको थियो। आर्मीले बागमती प्रदेशमाथि ९४ रनले जित हासिल गरेको थियो।
आर्मीका कप्तान विनोद भण्डारीले फाइनल भनेर नभई एउटा खेलका रुपमा फाइनललाई लिइने बताएका छन्।
‘हामीले इतिहास के बनाउने भनेर सोच्ने होइन, खेलमा राम्राे प्रर्दशन गर्ने हो। रणनीति कस्तो हुन्छ त्यो भोलिकै अवस्था हेरेर मात्र थाहा हुन्छ,’ उनले भने।
विभागीय टोली भनेर मात्र खेल राम्रो खेलिन्छ भन्ने नभएको उल्लेख गर्दै विनोदले थपे, ‘खेल हो त्यसमा कहिले कसले जित्छ कहिले कसले।’
एपीएफलाई उनी सन्तुलित टोली मान्छन्।
‘एपीएफ सन्तुलित टोली भएकोले हामी त्यसैअनुसारको रणनीति बनाएर मैदानमा उत्रने छौं,’ विनोदले भने, ‘ठूलो प्लेयर भनेको ठूलो खेलको लागि हो, हिजो के भयो भनेर सोच्ने हैन, अब के गर्ने भनेर सोच्ने हो।’
एपीएफका कप्तान शरद भेषावकर आफूहरुमा उपाधिको भोक रहेको सुनाउँछन्।
उनले भने, ‘यो टिम गेम हो। त्यसैले यसमा व्यक्तिगत प्रर्दशन गौण हुन्छ।’
दोस्रो पटक उपाधिको नजिक पुग्दा खुसी रहेको उल्लेख गर्दै शरदले भने, ‘उपाधि जित्नुअघि त्यसको नजिक पग्नु ठूलो कुरा हो।’
उनले प्रतियोगिताका दौरान चोट लागेका खेलाडी ठीक हुने क्रममा रहेको बताए।
शरदले फाइनलअघि प्रदेशका टोलीको पनि समीक्षा गरे।
‘समूह चरणका खेललाई हेर्दा प्रदेशका टोलीहरु बलियो बनेर आएका छन्। विभागीय नै बलियो भन्ने मात्र पनि हुँदैन किनकी विभागमा पनि प्रदेशबाटै खेलाडी आउने हुन् त्यसैअनुसार अभ्यास गर्ने हुन्,’ उनले भने।
शरदले आफ्नो व्यक्तिगत प्रदर्शन पनि सुधार्न प्रयास गर्ने योजना सुनाए। उनले भने, ‘मैले आफूलाई पनि प्रमणित गर्नु छ, तर उपाधि टिमको लागि भएकोले त्यसै अनुसार खेल्नेछौं।’
कोभिड-१९ को महामारीका कारण झन्डै एक वर्ष रोकिएको क्रिकेटका खेलहरु बल्ल सुरु भएका छन्। कोरोना संकटसँगै आयोजित पहिलो प्रतियोगितामै उपाधी जितेर आफूलाई बलियो टोलीको सन्देश दिन आफ्नो पुरै शक्तिका साथ मैदानमा उत्रने दुवै टोलीको दाबी छ।
सफलता कसले पाउनेछ त्यसका लागि भने शनिबारको खेल हेर्नुपर्नेछ।
प्रतिक्रिया