‘मूलपानी क्रिकेट रंगशाला अझै बनेको छैन!’
मंगलबार खेलकुदसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको अनभिज्ञता हो यो।
प्रधानमन्त्रीको उक्त भनाइलगत्तै उनकै पछाडि रहेका राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले ‘अब दुई वर्षभित्र बन्ने’ जानकारी दिए।
प्रधानमन्त्रीले त्यसपछि हाँस्दै अब चाँडै रंगशाला तयार हुने आश्वासन दिए।
राखेपले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्रीसामु धेरै प्रश्नहरु गरिए। देशभरिका रंगशालाकाे निर्माणबारे प्रश्नहरू सुरू भए। उनलाइ प्रश्नहरू पहिले नै टिपेर दिइएकाे थियाे। एक एक गर्दै पढ्दै उनले त्यसकाे जवाफ पनि दिए।
‘धेरै वर्ष भयो त सुरु भएको’, मूलपानीबारे उनले भने, ‘अझै बनेको छैन भन्दा छक्क लाग्यो मलाई। त्यो छिट्टै पूरा हुन्छ।’
त्यसपछि देशका विभिन्न ठाउँमा बन्नलागेका रगंशालाहरुको काम अधूरै रहेकोबारे प्रश्नमा प्रधानमन्त्री ओलीले ‘केही ठाउँमा बन्न लागेका रगंशालाहरु व्यक्तिगत अहंकारका कारण बाधाहरु आइपुगेको’ बताए।
उनले उदाहरण दिँदै भने, ‘झापामा म आफैँले बनाउन लागेको रंगशालामा पनि बाधाहरु आएका छन्। विकासविरोधी केही व्यक्तिहरुले गरेर काम रोकिएको हो। कुनै ठाउँमा रोकिएका होलान्।’
तर चुनावपछि आउने बजेटमा खेलकुदमा बजेट बढेर आउने भएकाले यस्ता कुराहरुमा नअलमलिने बताए।
‘हामीले घोषणा गरेको काम गर्नका लागि घोषणा गर्नका लागि हैन’, उनले भने, ‘अब अलमलिँदैनौँ।’
१३औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्णपदक विजेता केही खेलाडीहरुले मात्र मनपदवी पाएको प्रश्न थियो।
मन्त्रीहरुतर्फ आँखा तेस्र्याउँदै उनले सोधे, ‘कसैले पनि पाएन?’ दर्शकदीर्घाबाट केहीले पाएको र केहीले नपाएको आवाज आयो। त्यसपछि पुनः ओलीले भने, ‘ए... सबैले पाउनुपर्ने हो। आगामी दिनमा ध्यान दिउँला।’
सागमा पदक जितेका खेलाडीहरुले त्यो समयमा विभागको सिफारिसमा केही खेलाडीले मात्र मानपदवी प्राप्त गरेका थिए।
अर्को प्रश्न थियो, ‘२० वर्षसम्म अस्थायी र करारमा रहेका कर्मचारीको सामाजिक सुरक्षा र स्थायी गर्ने प्रक्रिया के हुन्छ?’ यसको जवाफ दिँदै ओलीले ‘भर्खरै मात्र ३० हजार कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको’ बताए।
२०/२५ वर्षसम्म कर्मचारीको बढुवा नभएको सुन्दा प्रधानमन्त्रीलाई पनि अचम्म लाग्यो, ‘किन बढुवा गर्ने ठाउँ नै छैन कि के हो!’
ओलीले यसो भन्दा हलमा हाँसोको फोहोरा छुटेको थियो।
‘कहिले कहिले ठाउँ हुँदैन क्या, अब खेलकुद परिषद्को अध्यक्ष भएको मान्छेलाई उपाध्यक्षमा बढुवा गर्न मिल्दैन’, प्रधानमन्त्रीले ठट्टा गरे।
२०, २५ वर्षदेखि बढुवा भएको छैन भनेर ओलीले प्रश्न गर्दा हलमा सबैले आफ्नो गुनासो सुनाएका थिए।
त्यसपछि उनले युवा तथा खेलकुद मन्त्री दावा लामालाई यस सम्बन्धमा पूरा रिपोर्ट आफूसमक्ष प्रस्तुत गर्न निर्देशन दिए। नयाँ नियुक्तिका सम्बन्धमा आवश्यकताअनुसार नयाँ नियुक्ति हुने बताए।
‘चाहिएर नयाँ नियुक्तिमा समस्या हुँदैन तर जनकपुर चुरोट कारखानाजस्तो भने बनाउनुहुँदैन। मन्त्री सदस्यसचिव र उपाध्यक्ष नै पिच्छे नियुक्ति हुने हुँदैन’, उनले भने।
केही सीमित प्रश्नको जवाफ दिएका ओलीलाई कार्यक्रम सञ्चालक राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले अन्य प्रश्नतर्फ पनि ध्यानाकर्षण गराएका थिए।
नेपाल भलिबल संघले कभर्डहल बनाउनका लागि काठमाडौंको बूढानीलकण्ठमा जग्गा पनि हेरिसकेको भनेपछि ओलीले ‘त्यो त टाढा हुँदैन र’ भनी सोधेका थिए।
त्यसपछि अबको २ वर्षमा नेपालको राष्ट्रिय खेल भलिबलका लागि कभर्डहल बनिसक्ने प्रधानमन्त्री ओलीले वचन दिए।
‘बाँकी प्रश्नको उत्तर खोज्न २३ गतेको सभामा आउनुहोला’
कार्यक्रम सकिँदै गर्दा ओलीले बाँकी प्रश्नको जवाफ पाउनका लागि २३ गते आफूले गर्नलागेको सभामा आउन आग्रह गरे।
उनले भने, ‘त्यहाँ सबै प्रश्नको जवाफ दिनेछु।’
उनको तर्फबाट कार्यक्रम सञ्चालकले सबैलाई चुलेनिम्तोसम्म दिन भ्याए।
प्रतिक्रिया