पछिल्लो दुई महिनायता कोभिड-१९ महामारीको सन्त्रास केही कम भएको छ। यही मौकाको फाइदा उठाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले महिला र पुरुषका राष्ट्रिय प्रतियोगिता समेत गर्यो।
लामो अन्तरालपछि प्रतियोगिता आयाेजना गरेका कारण क्यानले पनि प्रशंसा बटुल्न सफल भएकाे छ। भर्खरै काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कप एक-दिवसीय क्रिकेट र त्यसअघि दाङमा भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाले क्रिकेट क्षेत्रमा उत्साहजनक सन्देश प्रवाह गरेको छ।
कोरोनाले लामो समययता निष्क्रिय बनेका स्थापित क्रिकेटरलाई प्रतियाेगिताले उत्साहित बनायो भने केही नयाँ खेलाडीलाई आफ्नो खेल कौशल देखाउने अवसर प्रदान गर्याे।
पीएम कपकै प्रदर्शनका आधारमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि खेलाडी बोलाउँदा केही पुराना क्रिकेटरले पुनरागमनको मौका पाए। यद्यपि उनीहरूले राष्ट्रिय टोलीको १४ सदस्यभित्र पर्न अझै मिहिनेत गर्नुपर्ने देखिन्छ।
पीएम कपका ५ खेलमा २ सय १५ रन जोडेर पृथु उत्कृष्ट ब्याट्सम्यान बने। त्यही प्रदर्शनले उनको पुनरागमन ढोका खोलेको हो। पृथुसँगै सुनिल धमला, कृष्ण कार्की र सौरभ खनालका लागि पनि पीएम कपको प्रदर्शन सुखद रह्यो। पुनरागमनको बाटो खोलिदियो।
बन्द प्रशिक्षणमा डाकिएका ३२ खेलाडीमा केही आशा लाग्दा नयाँ खेलाडी समावेश गरिए, केही अनुभवी खेलाडी यसपटक प्रशिक्षणमा बोलाइएनन्।
अनुभवी स्पिनर वसन्त रेग्मी, विकेटकिपर ब्याट्सम्यान सुबास खकुरेल, तीव्रगतिका बलर राशिद खान, किशोर महतो यसपटक प्रशिक्षणमा परेनन्। युवा ब्याट्सम्यान लोकेश बम, रित गौतम, विकेटकिपर अनिलकुमार शाह पनि प्रशिक्षणमा बोलाइएनन्।
बरु, अर्जुन कुमाल, विवेक यादव, अनुज चुनारा, खडक बोहराजस्ता नयाँ अनुहारलाई समेटियाे। चैतमा विश्वकप लिग–२ छनोटअन्तर्गत ओमानमा नेपाली टोलीले ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने भनेर उनीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो।
तर उक्त सिरिज स्थगित भएको क्यानले आजमात्रै जानकारी दिएकाे छ। क्यानले त्यसैको तयारीका लागि बन्द प्रशिक्षणमा बोलाएको थियो। पहिलो चरण सकिएर दोस्रो चरणको बन्द प्रशिक्षण शनिबारबाट सुरु हुँदै छ। अब फेरि नयाँ मितिमा साे शृंखला हुनेछ। तर क्यानले प्रशिक्षणलाइ भने निरन्तरता दिने बताएकाे छ।
जे हाेस् कोरोनाका कारण सुषूप्त बनाएको नेपाली क्रिकेटलाई दुई प्रतियोगिताले पुनर्जागृत गर्ने काम गर्यो र यी प्रतियोगिताले नेपाली क्रिकेटको भविष्य डोर्याउने नयाँ अनुहार परिचित गरायाे। यस प्रतियाेगितामा आशा गरिएका तिनै नयाँ अनुहारको यहाँ चर्चा गरिएकाे छ।
अर्जुन कुमाल
भारतीय भूमिमा क्रिकेट कौशल सिकेका अर्जुन कुमालले गण्डकी प्रदेशबाट पहिलोपटक सिनियर टोलीमा डेब्यु गर्दै राम्रो छाप छाडे। आफ्नो खेल सक्किएलगत्तै उनी भारत फर्किए। पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा परेपछि उनी स्वदेश फर्किएका हुन्। प्रशिक्षणमा डाकिँदा सुरुमा उनलाई विश्वास नै लागेन।
पीएम कपमा ४ खेलमा १ सय १७ रन बनाएका अर्जुन प्रशिक्षणमा बोलाइएकामध्ये सबैभन्दा कान्छा सदस्य हुन्। नेपाली यू १६ बाट खेलिसकेका अर्जुनले आउने दिनमा यू १९ को टोलीमा पर्ने आशा राखेका थिए। तर, आशा गरेभन्दा बढी सिनियर टोलीकै प्रशिक्षणमा पर्नुले कुमाल नेपाली क्रिकेटको आशालाग्दा नयाँ अनुहारमध्ये एक किशाेरकाे रुपमा हेरिएको छ।
उनले प्रशिक्षणमा आफ्नोतर्फबाट शतप्रतिशत राम्रोका लागि प्रयास गर्ने बताएका थिए। त्यसमाथि कुमालको प्रशंसा राष्ट्रिय टोलीका नयाँ प्रशिक्षक डेभ वाटमोरले पनि गरेका छन्। यसबाट उनी दंग छन्।
‘मैले राम्रो खेलेको भन्नुभयो। खुसी लाग्यो’, उनले भने, ‘सिनियर दाइहरुसँग छु, राम्रो गर्ने प्रयासमा छु। उत्साहित पनि छु। वाटमोर सरले अझै राम्रो खेल्न सुझाव दिनुभएको छ।’
विवेक यादव
१७ वर्षीय अलराउन्डर विवेक यादव पीएम कपका उदीयमान खेलाडी हुन्। सातौं राष्ट्रिय खेलकुदबाट क्रिकेटमा पाइला अघि बढाएका विवेक तीव्र गतिको बलर र तल्लोक्रमका ब्याट्सम्यान हुन्।
प्रदेश २ बाट पीएम कप खेलेका उनी धेरैको नजरमा परे। त्यही प्रदर्शनले उनलाई बन्द प्रशिक्षणको यात्रा तय गर्ने माध्यम बन्यो। बन्द प्रशिक्षणमा परेको पनि उनले परिवारका सदस्यबाट थाहा पाएका थिए।
‘मलाई सुरुमा थाहा नै थिएन, परिवारबाट थाहा पाएँ’, उनले भने, ‘बन्द प्रशिक्षणमा परेको खबरले परिवार र साथीहरु सबै खुसी छन्।’
उनले सिनियर टोलीमा पर्नका लागि हुने प्रतिस्पर्धाको अनुमान गरेका छन्। उनले थपे, ‘आफुले सकेको राम्रो गर्न प्रयास गर्ने हो। क्याम्पमा परेर एउटा बाटो खुलेको छ। मेरो लागि यो ठूलो अवसर हो। यू १९ बाट खेलिसकेका विवेकका लागि आउने दिन झनै प्रतिस्पर्धात्मक हुनेछ।’
अनुज चुनारा
कर्णाली प्रदेशबाट पीएम कप खेलेका तीव्र गतिका बलर अनुज चुनारा यस पटक बन्द प्रशिक्षणमा बोलाइएका अर्को नयाँ अनुहार हुन्। जाजरकोटका अनुजले पीएम कपका ४ खेलमा ८ विकेट लिएका थिए।
अनुज चितवनमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काको एकेडेमीमा क्रिकेट सिक्दै आएका छन्। अनुजले मुलपानीमा आर्मीविरुद्ध खेल्दै सिनियर क्रिकेटमा डेब्यू गरेका थिए।
युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको विकेट लिँदै अनुजले सुखद् सुरुवात गरेका थिए। उनले अर्को खेलमा शरद भेषावकरको पनि विकेट लिए। राष्ट्रिय टोलीमा परेको खबर उनलाई भान्जा नरेन्द्र विकले फोन गरेर सुनाए। राष्ट्रिय टोलीको यात्राबारे केही नसोचेका अनुजले सुरुमा विश्वास नै गर्न सकेनन्।
उनले भने, ‘मैले क्रिकेट सुरु गरेको दुई वर्ष पनि भएको छैन। राष्ट्रिय टोलीको क्याम्पमा पर्छु भन्ने भनेर सोचेको पनि थिइनँ। बीचमा लकडाउनले गर्दा राम्रोसँग अभ्यास गर्न पनि पाइन। अहिले पीएम कप भयो। राम्रो प्रदर्शन गरेँ। त्यसै आधारमा क्याम्पमा परेँ। तर अहिले नै क्याम्पमा पर्छु भन्ने मेरो कल्पनामै थिएन।’
प्रशिक्षणका बेला नयाँ नयाँ टेक्निक सिक्न पाउने अपेक्षा राखेका अुर्जनले यहाँबाट धेरै कुरा सिक्ने बताएका छन्। ‘यस्तो मौका फेरि नआउन पनि सक्छ। त्यसैले सकेको सिक्ने र बुझ्ने प्रयास गर्नेछु’, उनले भने।
खडक बोहरा
सुदूरपश्चिम प्रदेशका १८ वर्षीय खडक बहादुर बोहरा युवा ब्याट्सम्यान तथा विकेटकिपर हुन्। उमेर समूह र घरेलु क्रिकेटमा नियमित राम्रो प्रर्दशन गर्दै आएका खडकले गत वर्ष मलेसियामा भएको एसीसी यु–१९ मा उनले डेब्यु गरेका थिए।
आक्रामक र टोलीको आवश्यकताअनुसार ब्याटिङ गर्नसक्ने खडक सम्भावना बोकेका युवा खेलाडीमध्ये गनिन्छन्। पीएम कपमा राम्रो प्रदर्शन गरेपछि उनी ३२ सदस्यीय टोलीमा स्थान बनाउन सफल भए।
बैतडीका खडकले क्रिकेट खेल्न थालेको दशक पुग्न लागिसक्यो। तर व्यावसायिक रुपमा खेल्न थालेको ४ वर्ष भयो।
‘बैतडीमा मैदान छैन तर खेल्ने वातावरण भने निकै राम्रो छ। सुरुवाती प्रशिक्षण मैले त्यहीबाट लिएको हो’, उनले भने।
बन्द प्रशिक्षणमा बोलाइएपछि आफूमा भएको प्रतिभा देखाउन उनी लागिरहेका छन्। ‘क्रिकेटमा धेरै कुरा आउँछ कहिले प्रदर्शन गर्न सकिन्छ, कहिले सकिँदैन तर अझै राम्रो गर्ने सोचमा छु। धेरै कुरा सिकिरहेको छु। नयाँ कोचबाट धेरै कुरा सिक्न पाएँ।’
प्रतियोगिता खेल्ने बेला त्यस्तो केही नसोचेको उनको भनाइ छ।
‘आफ्नो कर्ममा ध्यान देऊ फलको आशा नगर’ भनेजस्तै मैले आफूलाई प्रमाणित गर्न खोजेको थिएँ। अरु धेरै त सोचेको थिईन। प्रशिक्षणमा आफूलाई निखार्न लागेको छु। अरु बारेमा सोचेको छैन। जति कुरा सिक्न पाउँछु सिक्नेछु जसले आगामी दिनमा सहयोग गर्ने विश्वास लिएको छु’, उनले भने।
प्रतिक्रिया