नौ दिनअघि विभागीय टोली नेपाल एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलको उपाधि उचाल्दा सरु लिम्बु लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन्।
एपीएफले सबै १२ खेल जित्दै लिगको उपाधि पोल्टामा पार्नु चानचुने थिएन।
त्यसमाथि अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई अन्तिम खेलमा हराएर एपीएफले विजयको झण्डा फहराएको थियो।
हुन त २ खेलअघि नै एपीएफ च्याम्पियन बनिसकेको थियो।
अन्तिम खेल समेत जितेर उपाधि चुम्नु टोली र त्यसका सदस्यका लागि महत्वपूर्ण सफलता थियो नै, सर्वोत्कृष्ट हुनपाउँदा मिडफिल्डर सरुमा खुसीको सीमै रहेन।
उनले स्कुटर प्राप्त गरिन्।
टोलीमा उनको मुख्य पोजिसन मिडिफल्डरको हो। तर, आवश्यकताअनुसार उनले आफूलाई फरवार्ड र डिफेन्स दुवै पोजिसनमा खेलिन्।
त्यसले पनि हुनसक्छ, उनलाई सर्वोत्कृष्ट खेलाडी बन्नका लागि सहयोग गर्यो। १२ खेलमा टोलीले ७७ गोल गर्दा सरुको नाममा ५ गोल रह्यो।
गोलको संख्याभन्दा पनि टोलीको आवश्यकताअनुसार आफूलाई उतार्न सक्नु सरुको विशेषता रह्यो।
अधिकांश खेलमा उनको भूमिका महत्वपूर्ण रह्यो। त्यति हुँदाहुँदै पनि उनी आफैँलाई भने सर्वोत्कृष्ट खेलाडी घोषित हुन्छु भन्ने अनुमान थिएन।
‘सर्वोत्कृष्ट बन्छु भन्ने सोचेकै थिइनँ’
सरु भन्छिन्, ‘लिगकै सर्वोत्कृष्ट बन्छु भन्ने सोचेकै थिइनँ। उत्कृष्ट मिडफिल्ड हुन्छु भन्नेसम्म लागेको थियो।’
तर सर्वोत्कृष्ट खेलाडी भनेर नाम नै बोलाउँदा आश्चर्यमा परेको बताउँछिन् उनी।
सरु आफू जुनसुकै पोजिसनमा खेल्न सक्ने बताउँछिन्।
‘खेल्न त सक्छु तर आफ्नो खास पोजिसनभन्दा अर्को पोजिसनमा खेल्न गाह्रो त हुन्छ नि!’, उनले थपिन्, ‘शतप्रतिशत प्रस्तुति दिनसक्छु भन्ने विश्वास छ।’
लिगमा सर्वोत्कृष्ट भएपछि उनी धेरैको नजरमा परिन्।
फुटबलसँग पुरानो नाता
तर फुटबलसँगको उनको नाता भने पुरानो हो। उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीको कप्तानी नै गरेको अनुभव छ उनीसँग। उनी अहिले पनि राष्ट्रिय टोलीकी सदस्य हुन्।
सन् २०१४ मा श्रीलङ्कामा भएको एफसी यु–१४ गल्स रिजनल च्याम्पियनसिप प्रतियोगिता सरुको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो।
सहभागी ६ देशलाई पराजित गर्दै नेपालले त्यो च्याम्पियनसिपको उपािध नै उचालेको थियो।
त्यही प्रतियोगितामा नेपालले भारतलाई ४–० ले हराएको थियो। कुनै पनि उमेर समूहमा नेपालले भारतलाई हराएको त्यो नै पहिलो पटक हो।
उमेर समूहमा कप्तानी सम्हालेकै कारण हुनसक्छ– भविष्यमा राष्ट्रिय टोलीको कप्तानी सम्हाल्नसक्ने विश्वास सरुमा मजबुत भएको छ।
सोचेभन्दा राम्रो प्रदर्शन
महिला फुटबलमा एपीएफ सधैँ दाबेदार मानिन्छ। एपीएफले महिला फुटबलमा कमै खेल हारेको छ। तथापि प्रशिक्षणका आधारमा गरिएको अनुमानभन्दा टोलीले लिगमा उच्च प्रदर्शन गरेको सरुको अनुभव छ।
उनी भन्छिन्, ‘प्रशिक्षणको बेला सोचेजस्तो राम्रो गर्नसकेका थिएनौँ। तर लिगमा त्योभन्दा धेरै राम्रो खेल्यौँ।’
लिग सुरु हुँदा भने केही चिन्ता लागेको बताउँछिन् सरु।
कोरोना भाइरसको महामारीले झण्डै १ वर्ष ठप्पप्रायः नेपाली खेलकुदले विस्तारै गति लिनथालेको छ।
फुटबल सुरु हुँदा खुसी रहेका महिला खेलाडी पहिलो पटक रंगशालामा लिग खेल्न पाउँदा झनै दंग थिए। दंग पर्नेमा सरु पनि एक थिइन्।
‘कोरोना महामारीपछि खेलमा फर्किन पाउँदा खुसी थियौँ। त्यसमा पनि रंगशालामा पनि खेल्न पायौँ’, लिग चरणको अन्तिम खेल दशरथ रंगशालामा खेलेकी सरु भन्छिन्, ‘एक प्रकारले त्यो फाइनल नै थियो। हामी सबै उत्साहित थियौँ। एन्फा कम्प्लेसको मैदानभन्दा दशरथ रगंशालामा खेल्न पाउँदा खुसी थियौँ।’
जब साम्बालाई मिस गरियो...
लिगमा त्रिभुवन आर्मी फुटबल क्लबविरुद्धको खेलमा सरु लिम्बुले गोल गरेपछि टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बाले सरुको बुट चुमेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।
आफैँले दिएको पासमा सरुले गोल गरेपछि साम्बाले आफ्नो घुँडामा सुरुको खुट्टा राख्दै बुट चुमेकी थिइन्। तर, दुर्भाग्य लिगकै सर्वाधिक (४३ गोल) गोलकर्ता साम्बा अन्तिम २ खेलमा टोलीमा थिइनन्।
अर्को विभागीय टोली नेपाल पुलिस क्लबविरुद्धको खेलमा घुँडामा चोट लागेपछि साम्बा वैशाखीको सहारामा अन्तिम २ खेल हेर्नपुगेकी थिइन्। चोट यति गम्भीर रह्यो कि साम्बाले दायाँ घँुडा शल्यक्रिया गर्नुपर्ने भएको छ। चिकित्सकका अनुसार उनी कम्तीमा एक वर्ष मैदानबाहिर रहनेछिन्।
साम्बा बाहिरिएपछि टोलीमा दबाब बढेको सरुको अनुभव छ।
‘म मात्रै होइन, टोलीका हरेक खेलाडी मानसिक दबाबमा थियौँ’, साम्बाको अभावबारे उनी भन्छिन्, ‘त्यसपछिको एक खेल हामीले कसरी खेल्यौँ थाहै छैन।’
उनले भनेजस्तै साम्बा घाइते भएपछि लगत्तैको खेलमा एपीएफ निकै दबाबमा देखिएको थियो।
कहिले गोलको वर्षा, कहिले संघर्षपूर्ण जित
दुई विभागीय टोली आर्मी र पुलिसले बराबरी खेलेपछि विराटनगर महानगरपालिकाविरुद्ध खेल्नुअघि नै एपीएफ च्याम्पियन भइसकेको थियो। तर, त्यो खेलमा विराटनगरलाई १–० ले हराउन पनि एपीएफले निकै संघर्ष गर्नुपरेको थियो। त्यही लिगमा २२–० को जित पनि निकालेको एपीएफमा साँच्चै साम्बाको अभाव खट्किएको थियो।
‘विराटनगरविरुद्धको खेलअघि साम्बा दिदी हुँदा हामी सबै ढुक्क हुन्थ्यौँ’, सरु भन्छिन्, ‘तर त्यो खेलमा हाम्रो प्रदर्शन कमजोर रह्यो।’
लिगमा तीन विभागीय र चारवटा नगरपालिका गरी ७ टोलीको सहभागिता थियो। उक्त लिग महिना दिनसम्म चल्यो।
नेपालमा यति लामो महिला लिग पहिलोपटक भएको थियो। यसपटक २ टोलीले पहिलो पटक विदेशी खेलाडी पनि उतार्दा त्यसले लिगलाई थप रोमाञ्चक बनाएको थियो।
वालिङ, विराटनगरजस्ता टोलीले विभागीय टोलीहरुलाई चुनौती दिनु लिगको जति सुखद पक्ष थियो, त्यति नै दुःखद रह्यो– चौदण्डीगढी नगरपालिकाको कमजोर प्रदर्शन।
उक्त टोली विना अंक घर फर्कियो।
सरुलाई कमजोर चौदण्डीगढीसँग खेल्न जति सहज लाग्यो, त्योभन्दा निकै कठिन भयो– पुलिससँग खेल्न।
‘अरु टोलीभन्दा पुलिस हामीसँग अर्कै तरिकाले खेल्छ जसले गर्दा निकै गाह्रो हुन्छ’, सरुको अनुभव छ।
लिगको अनुभव सरुले नेपालखबरसँग भिडियोवार्तामा यसरी सुनाएकी छिन् –
प्रतिक्रिया