नेपाली राष्ट्रिय महिला फुटबल टोलीका ४ खेलाडीले पाकिस्तानमा हुने नेशनल वुमन्स फुटबल च्याम्पियनसिप खेल्ने भएका छन्।
राष्ट्रिय टोलीका गोलक्षक एञ्जिला तुम्बापो सुब्बा, मिडफिल्डर सरु लिम्बु, फरवार्ड अनिता केसी र डिफेन्डर गीता रानाले एउटै क्लव मासा युनाइटेड एफसीबाट प्रतियोगिता खेल्ने भएका हुन्।
प्रतियोगिताका लागि खेलाडीहरु बिहीबार बिहान प्रस्थान गर्ने सरु लिम्बुले बताइन्।
प्रतियोगितामा पारिश्रमिकबारे भने उनीहरुले केही खुलाउन चाहेनन्। प्रतियोगिताका लागि आफूहरु निकै उत्साहित रहेको खेलाडीहरु बताउँछन्।
‘पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छौँ, त्यसैले निकै उत्साहित छौँ’, सरु लिम्बुले भनिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुल्न लागेका छौँ, एउटै टोलीमा भएका कारण पनि हामीलाई सहज हुने विश्वास छ। टोलीलाई जिताएर फर्किनेछौँ।’
गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाले विदेशी भूमिमा पहीलो पटक खेल्न लागेकाले नयाँ अनुभव लिन पाउने बताइन्।
याे पनि : उत्कृष्ट मिडफिल्डर हुन्छु भन्ने थियो, लिगकै सर्वोत्कृष्ट भएँ (भिडिओ)
उनले भनिन्, ‘अहिले कति रकमभन्दा पनि हामीले त्यहाँ कस्तो खेल पस्कन सक्छौँ भन्ने हो। हामीले सकेको मिहिनेत गर्नेछौँ।’
पाकिस्तानमा हुने प्रतियोगिता ८ मार्चदेखि अप्रिल ३ सम्म हुनेछ। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतिक्रिया