काठमाडौंमा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले किर्गिजस्तान यू २३ टोलीसँग गोलरहित बराबरी खेलेको छ।
दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा पटक पटकका मौका सदुपयोग गर्न नसक्दा नेपाल अंक बाड्न बाध्य भयो।
दोस्रो हाफमा किर्गिजस्तान दश खेलाडीमा सीमित भएपनि नेपालले त्यसको सदुपयोग गर्न सकेन। ६७औं मिनेटमा किर्गिजस्तानका कप्तान टिसेभ कमालेदिनले दोस्रो पहेलो कार्ड पाउँदै मैदान छाडेका थिए।
यो बराबरीसँगै बंगलादेश प्रतियोगिताको फाइनलमा पुगेको छ। बंगलादेशले मंगलबार भएको खेलमा किर्गिजस्तानलाई १-० गोलअन्तरले पराजित गरेको थियो।
किर्गिजस्तानले अब चैत्र १४ गते हुने बंगलादेशविरुद्धको खेलको नतिजा कुर्नुपर्ने भएको छ। बंगलादेशलाई नेपालले हराएमा वा बराबरी रोकेमा पनि नेपाल फाइनलमा पुग्नेछ। फाइनल खेल चैत्र १६ गते हुनेछ।
प्रतिक्रिया