देशको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) मा पहिलो चरणको रोमाञ्चक प्रतिस्पर्धाको अन्त्य भएको छ।
यो साता सुपर लिगमा प्लेअफ चरणका खेल हुँदै छन्। यी खेलहरु थप रोचक हुनेछन्। साताको अन्तिम दिन पहिलो संस्करणका रुपमा भइरहेको एनएसएलको विजेताको समेत टुंगो लाग्नेछ।
सात सहरका फ्रेन्चाइज टोली सहभागी एनएसएलको पहिलो चरणको २१ खेलबाट काठमाडौं रेजर्स, धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी एफसी प्लेअफमा पुग्न सफल भएका छन्।
त्यसैगरी पोखरा थन्डर्स, विराटनगर सिटी एफसी र एफसी चितवन पहिलो चरणबाट बाहिरिए। प्लेअफको खेल मंगलबारदेखि सुरु हुँदै छ।
कोरोना भाइरसको महामारीकै बीचमा सुरु भएको लिग काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी छ।
महामारीकै कारण बन्द रगंशालामा भइरहेको सुपर लिग खेलाडी, आयोजक र प्राविधिकबीचमात्र भइरहेको छ।
पहिलो पटक भइरहेको सुपर लिगमा खेलाडी छनोट पनि अक्सनमार्फत भएको थियो।
सोही कारण आयोजक, प्रायोजक र खेलाडी पनि उत्साहित थिए। लिगको सुरुवातमा उपाधि दाबेदारको रुपमा हेरिएको विराटनगर एफसीले छैटौं स्थानमा रहेर लिगको यात्रा टुंग्यायो।
सुरुका ४ खेलबाट ३ अंक मात्र जोडेको ललितपुर पछिल्ला दुई खेलमा जित निकाल्दै तेस्रो स्थानमा रहेर प्लेअफमा पुग्न सफल रह्यो।
तथ्यांकमा एनएसएल
एनएसएलका २५ मध्ये अहिलेसम्म २१ खेल सम्पन्न भइसेको छ। यसको अर्थ अब चार खेलबाटै सुपर लिग च्याम्पियनको टुंगो लाग्नेछ।
भएका २१ खेलमध्ये १५ खेलमा हार र जितको नतिजा आउँदा ६ खेल बराबरीमा टुगिएको थियो। २१ खेलमा २ घण्टा ५३ मिनेट इन्जुरी टाइम थपिएको रेफ्री एसेसर श्रीराम रञ्जितकारले जानकारी दिए।
२१ खेलमा १ सय ५२ खेलाडी परिवर्तन भए। ती खेलमा रेफ्रीले खेलाडी र अफिसियलका लागि ५९ वटा पहेलो कार्ड र ३ वटा रातो कार्ड देखाए। जसमा ५५ जना खेलाडी र ४ जना अफिसियल छन्।
दुई जना खेलाडीले दोहोरो पहेलो कार्ड तथा एक जना खेलाडीले सिधै रातो कार्डको सामना गर्नुपरेको थियो।
पोखरा थन्डर्सविरुद्धको खेलमा चितवनका गोलरक्षक विशाल सुनारले सिधै रातो कार्ड खाए। ८२औं मिनेटमा पोखराका नितिन थापाको लामो पासलाई नवयुग श्रेष्ठले भेट्नुअघि गोलरक्षक विशालले पेनाल्टी बक्सबाहिर आएर बल पञ्च गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले सिधै रातो कार्ड देखाएका थिए।
अफिसियलमा पनि २ जनाले सिधा रातो र दुई जनाले दोहोरो पहेँलो कार्ड पाए।
विराटनगरका फिजियो अनिष बुढाथोकी र धनगढीका प्रशिक्षक युगल किशोर राईले दोहोरो पहेँलो कार्डको सामना गरेका थिए।
त्यस्तै, काठमाडौंका अफिसियल राकेश कार्की र विराटनगरका अशोक यादवले सोझै रातो कार्ड पाएका थिए।
एनएसएलका अहिलेसम्मका खेलमध्ये २ खेल गोलरहित बराबरी, २ खेलमा १–१ तथा २ खेलमा २–२ को बराबरी भएको थियो।
एनएसएलकै उत्कृष्टमध्येको एक खेलका रुपमा रहेको काठमाडौं रेजर्स र विराटगरबीचको खेलमा ९ गोल सम्भव भएको थियो। जसमा काठमाडौंले विराटनगरलाई ५–४ ले हराएको थियो।
सोही खेलमा सर्वाधिक ८ वटा कार्ड प्रयोग भए। विराटनगरले ५ वटा पहेलो र एउटा रातो तथा ललितपुरले २ वटा पहेलो कार्डको सामना गर्नुपरेको थियो।
त्यस्तै ललितपुर र बुटवलबीचको खेलमा ७ वटा पहेलो कार्ड प्रयोग भएको थियो। त्यसमा बुटवलले ४ र ललितपुरले ३ पहेँलो कार्ड पाएका थिए।
सर्वाधिक गोलकर्तामा को अगाडि?
लिगमा २१ खेल सकिँदा ३३ जना खेलाडीले ५० गोल गरेका छन्। जसमा काठमाडौंका ४ खेलाडीले ८ गोल गरे। ललितपुरका ५ खेलाडीले ७ गोल, विराटनगरका ६ जनाले ११ गोल, धनगढीका ५ जनाले ८, पोखराका २ खेलाडीले ३, बुटवलका ५ जनाले ७ गोल गरे।
पोखराका १ खेलाडीले आत्मघाती गोल गरेका थिए। चितवनका ५ खेलाडीले ५ गोल गर्दा एक गोल पेनाल्टीमा सम्भव भएको थियो। लिगमा ५ वटा पेनाल्टी प्राप्त हुँदा १ खेलाडीमात्र पेनाल्टीमा गोल गर्न सफल भए।
सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा काठमाडौं रेजर्सका मेसौके ओलुमोउ छन्। उनले ह्याट्रिकसहित ५ गोल गरेका छन्। दोस्रो स्थानमा रहेका धनगढीका अफिज ओलावालेले ४ गोल गरेका छन्।
अफ्रिकादेखि युरोपसम्मका विदेशी खेलाडी र प्रशिक्षक
नेपाल सुपर लिगमा अफ्रिकादेखि युरोपसम्मका विदेशी खेलाडी दशरथ रगंशालामा उत्रिए।
सहभागी ७ टोलीमा २० विदेशी खेलाडी सहभागी भएका छन्। तीमध्ये आधाभन्दा बढी अफ्रिकी खेलाडी छन्।
घरेलु मैदानमा अफ्रिकी खेलाडीहरु नै बढी जमेका थिए। सर्वाधिक गोलकर्ताको शीर्ष दुईमा रहने विदेशी खेलाडीलाई हेर्दा पनि जारी सुपर लिगमा उनीहरुको प्रभाव प्रस्टै देखिन्छ।
लिगमा विदेशी खेलाडी मात्रै हैन विदेशी प्रशिक्षकको रणनीति पनि मैदानमा देख्न पाइयो। भारतीय प्रशिक्षक यान लले विराटनगरको टोली सम्हालेका थिए।
विराटनगर सुरुवाती खेलमा आक्रामक रणनीतिमा मैदान उत्रेको थियो। उपाधि दाबेदारको रुपमा हेरिएको विराटनगरले पछिल्ला दुई खेलमा हार बेहोर्यो र पहिलो चरणबाटै बाहिरियो।
अन्तिम खेलमा रेफ्रीको निर्णय चित्त नबुझाउँदै खेलाडीलाई ७ मिनेट मैदान बाहिरी निकाल्न लगाएका कारण प्रशिक्षक यान र विराटनगरको आलोचना भएको थियो।
खेल जित्न नसकेपछि प्रशिक्षकको राजीनामा
ललितपुर सिटी एफसी ४ खेल खेल्दा ३ मा बराबरी र एक खेलमा पराजित भएको थियो। टोलीको सुरुवाती प्रदर्शन हेर्दा ललितपुरले प्लेअफमा स्थान बनाउने कमैले सोचेका थिए।
लिगको चौथो खेलमा पोखरा थन्डर्ससँग बराबरी खेलेपछि टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले राजीनामा दिए।
लगातारको खराब प्रदर्शनसँगै ललितपुर सिटी एफसीले मुख्य प्रशिक्षक हुमागाईंलाई बर्खास्त गरेको खबर राम्रोसँग फैलिन नपाउँदै हुमागाईंले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको बताए।
खेलपछिको पत्रकार सम्मेलनमा समेत बसेका उनले त्यहाँ राजीनामाबारे केही नबोले पनि त्यसको केहीबेरमा नै राजीनामा दिएको स्टाटस लेखे।
उनले मुख्य प्रशिक्षक पद छाडेपछि सहायक प्रशिक्षक राजु तामाङलाई क्लबले अन्तरिम प्रशिक्षकमा नियुक्त गर्यो। तामाङले टोली सम्हालेपछिको २ खेलमा लगातार जित निकाल्दै ललितपुर तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाउन सफल भयो।
रेफ्री विवाद
एनएसएलमा खेलको नतिजाका कारण मात्र होइन, रेफ्रीको निर्णयका कारण पनि चर्चामा रह्यो।
अधिकांश प्रशिक्षकले रेफ्रीको निर्णयको आलोचना गरे। त्यसमा विराटनगरका प्रशिक्षक यान ल अग्रस्थानमा आउँछन्। उनले नेपालका रेफ्रीको स्तर भारतमा विद्यालयस्तरमा भन्दा कमजोर रहेको टिप्पणी समेत गर्न भ्याए। अन्तिम खेलमा चितवन एफसीका सहायक प्रशिक्षक शैलेश कर्माचार्यले पनि रेफ्रीप्रति असन्तुष्ट व्यक्त गरे।
उनले भने, ‘रेफ्रीको स–साना गल्तीका कारण त्यसको दबाब टोलीमा पर्ने गरेको छ। धेरै खेलमा त्यस्तो भएको छ।’ (तस्बिरहरूः नेपाल सुपर लिग)
प्रतिक्रिया