राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइनका लागि पाच सयभन्दा धेरैको आवेदन परेको छ।
नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर्सले जर्सी डिजाइनका लागि गत सोमबार खुला आवेदन माग गरेको हो।
आवेदन माग गरेअनुसार ५ सयभन्दा धेरैले जर्सी डिजाइन गरेर पठाएको क्यानले जनाएको छ।
आवेदन परेकामध्ये ४ सदस्यीय छनोट समितिले सर्टलिष्ट तयार पार्नेछ।
छनोट समितिमा नेपाल क्रिकेट संघका म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल, क्यानका केन्द्रीय सदस्य छुम्बी लामा र एक प्रायोजक प्रतिनिधि छन्।
समितिले सर्टलिष्ट तयार पारेर क्यानलाई पठाउनेछ। त्यसपछि क्यानको बोर्ड बैठकले उत्कृष्ट जर्सी छनोट गर्नेछ। उत्कृष्ट जर्सी डिजाइन गर्नेले एक लाख रुपैयाँ पाउनेछन्।
डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने हुन्छ। कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्नुपर्नेछ।
डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियमअनुसार नै डिजाइन गर्नुपर्ने हुन्छ।
Shares
प्रतिक्रिया