ad ad

खेल


पोखरामा अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड हुँदै

पोखरामा अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड हुँदै

वाशुदेव मिश्र
असोज १४, २०७६ मंगलबार १०:२८,

चिनियाँ खेलाडीहरुको सहभागितामा यही असोज २९ गते पोखरामा अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९ आयोजना हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेसन एसोसियसनको आयोजना एवं पोखरा र चीनको कुन्मिन महानगरपालिकाको संरक्षकत्वमा क्रस–कन्ट्री दौडको आयोजना हुन लागेको हो। 

प्रतियोगितामा पोखरासँग भगिनी सम्बन्ध स्थापित गरेको चीनको कुन्मिन सहरबाट ६० जनाको सहभागिता रहने कार्यक्रम संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले जनाए। दौडमा १० वटा चिनियाँसहित ३० वटा समूहको सहभागिता रहनेछ। एउटा समूहमा तीन जना सदस्य हुनेछन्। समूहमा एकजना महिला अनिवार्य गरिएको छ। प्रतियोगितामा सहभागि हुनेहरु सबै व्यावसायिक खेलाडी भएको पालिखेले बताए। प्रतियोगिताको नारा ‘रन फर लभ’ राखिएको छ।

उनका अनुसार क्रस कन्ट्रीमा ४२ किलोमिटरको दूरीमा दौड, साइक्लिङ र बोटिङ (डुंगा) समावेश गरिएको छ। दौड पोखराको बाराहीघाटबाट शुरु हुने छ। ड्यामसाइड हुदैं तिब्बतियन क्याम्प हुदैं फुस्रे खोलामा पुगेपछि साईक्लिङ सुरु गरिनेछ। त्यहाँबाट केमेरे, राम्दी, मट्टीखान रिर्सोटहुदैं रामकोट सम्मप साइक्लिङ हुनेछ।

कुभिण्डे भन्ज्याङलाई अर्को प्वाइण्ट मानेर उल्लेरी, खरिखानी, भयरथान, पैयु चौतारी, भुम्दी, कालाबाङ, स्वाँरा, लुकुनस्वाँरा,फेवाताल पारिको लिचिबोटमा साइक्लिङ सकिनेछ। लिचिबोटबाट डुंगामा लिएर स्वीमिङपुल घाटमा आइपुग्ने छन्। स्वीमिङपुल घाटबाट पुन दौडेर बाराहीघाट आएपछि दौड पूरा हुने छ। चिनियाँ मिडियाबाट हुने प्रवद्र्धनले पनि यहाँको पर्यटन उद्योगलाई ठूलो टेवा पुग्ने उनको विश्वास थियो

। प्रतियोगितामा नगद पुरस्कार त राखिएको छैन तर दौडमा पहिलो, दोस्रो र तेस्रो हुने नेपाली समूहलाई कुनमिङमा आयोजना हुने १०० किलोमिटरको क्रसकन्ट्री रेसमा सहभागिताको अवसर दिइनेछ।

‘पोखरालाई मित्रराष्ट्र चीनको पर्यटकीय बजारमा परिचित गराउन र विश्वकै धेरै घुम्न जाने संस्कृति विकास हुँदै गरेको देशबाट पोखरामा पर्यटक भित्र्याउन हामीले यो ‘मेघा इभेण्ट’को आयोजना गर्न लागेका हौँ’, मंगलबार दौडबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पालिखेले भने,‘ हामी यो कार्यक्रममार्फत पोखरालाई साहशिक पर्यटनको केन्द्र बनाउन चाहन्छौँ।’

दौडलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ भने एथलेक्ट सोसाइटी काठमाडौं, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरासहित विभिन्न संघ÷संस्थाले सघाएको उनले बताए। माउण्टेयरिङ एसोसियनका विज्ञहरुले झण्डै दुई वर्षको अध्ययनपछि पोखरामा क्रस कन्ट्री दौड आयोजना गर्न सुझाएका थिए। राष्ट्रिय पर्वतीय क्रसकन्ट्री रेस गरिने मिति तय गरिएको पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले बताए।

होटल संघ गण्डकीका अध्यक्ष विकल तुचाचनले पोखरामा पर्यटकको बसाई लम्ब्याउन र चिनिया पर्यटक आकर्षित गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। गण्डकी प्रदेशका आर्थिक विकास समितिका सभापति दिपक कोइरालाले पोखराको पर्यटन प्रवद्र्धनमा क्रसकन्ट्री रेसले नयाँ आयाम थपिने विश्वास व्यक्त गरे। ‘स्पोर्टस टुरिज्म भएपछि यो विशुद्ध पर्यटनसँगै जोडिएको छ’, उनले भने,‘ पोखराको पर्यटनलाई अझ उचाईमा पुर्याउने यस प्रतियोगिताले महत्वपूर्ण टेवा दिन्छ भन्ने विश्वास छ।’

जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष यामबहादुर गुरुङले प्रतियोगिता पर्यटन प्रवद्र्धनमै केन्द्रित रहेको बताए। नेपालमा एक वर्षमा ५४ हजार चिनिया पर्यटक आगमन भईसकेको तथ्यांक छ। फ्रि भिसाले चीनिया पर्यटकका आकर्षण बढिरहँदा पोखरामा पनि उल्लेख्य आगमन देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .