नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ।
कर्णालीको पहिचानका रुपमा रहेको लामो दूरीको दौडको प्रर्वद्धन र खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि यही माघ २१ गते एकताका लागि दौड प्रतियोगिता हुने भएको हो।
आइतबार उत्तर पश्चिम पृतना हेडक्वाटरद्वारा सेनाले गरेको अर्धवार्षिक कार्य प्रगति सार्वजनिक गर्दै एकताका लागि दौड प्रतियोगिता गरिने जनाएको छ।
खेलकुद क्षेत्रको विकासमा थप टेवा, विद्यार्थी तथा खेलाडीहरुलाई हौसला प्रदान गर्दै राष्ट्रियता र संस्कृति जगेर्ना गर्ने माध्यमको रुपमा विकास गर्न प्रतियोगिता गर्न लागिएको सेनाले जनाएको छ।
करिव एक हजारको सहभागिता रहने प्रतियोगितामा लामो र छोटो दूरीका दौडसहित पैदल यात्रा समावेश गरिएको छ।
जसमा ५ किलोमिटर पैदल यात्रा, ५ किलोमिटर पुरुष महिला दौड र १० किलोमिटर पुरुष महिला दौड रहेका छन्।
प्रतियोगितामा सर्वसाधारणदेखि खेलाडी, कर्मचारी, सुरक्षा निकायका कर्मचारी, विद्यार्थी तथा विभिन्न संघसंस्थाले भाग लिन पाउने छन्।
५ किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो स्थान हाँसिल गर्नेलाई क्रमशः १० हजार, पाँच हजार, तीन हजार र १० किलोमिटरमा २० हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ।
यस्तै, उक्त दिन सेनाले युद्ध कौशल, हात हतियार, विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्री, आर्टिलरी उपकरण, विविध सांस्कृतिक प्रस्तुति, सैनिक पुस्तकहरुको पर्दशनीसमेत गर्नेछ। कार्यक्रम वीरेन्द्रनगरकै खुलामञ्चमा हुनेछ।
Shares
प्रतिक्रिया