ad ad

सुदूरपश्चिम


दार्चुला : ‘ह्याट्रिक’ गर्ने दाउमा एमाले–कांग्रेस, ठगुन्ना र बडूमा को बलियो?

विरासत फर्काउने कसरतमा कांग्रेस, जितलाई निरन्तरता दिने प्रयासमा एमाले
दार्चुला : ‘ह्याट्रिक’ गर्ने दाउमा एमाले–कांग्रेस, ठगुन्ना र बडूमा को बलियो?

गणेश ठगुन्ना र दिलेन्द्र बडू


गोकुल जोशी
भदौ २६, २०७९ आइतबार ९:४९, कञ्चनपुर

वि.सं. २०४६ को जनआन्दोलनपश्चात् प्रजातन्त्र पुनःस्थापना भएपछि ०४८ मा भएको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्याे।त्यसबेला दार्चुला १ बाट हालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी भएका थिए। अर्को क्षेत्रबाट राप्रपाका अकबरबहादुर सिंह सांसद बनेका थिए। 

कांग्रेस नेतृत्वको सरकार ढलेपछि तत्कालीन राजा वीरेन्द्रले ०५१ सालमा नयाँ निर्वाचन गराए। जसमा नेकपा एमालेले प्रतिनिधि सभामा सबैभन्दा बढी सिट जितेको थियो।

०५१ सालको चुनावमा कांग्रेसले दार्चुलामा पनि वर्चस्व गुमायो। ०४८ सालमा चुनाव जितेका कांग्रेसका बडू ०५१ मा एमालेका नेता प्रेमसिंह धामीसँग हारेका थिए।

०५६ को चुनावमा भने दार्चुलामा कांग्रेसले फेरि झण्डा फहरायो। एमालेका वीरबहादुर ठगुन्नालाई हराउँदै कांग्रेसका बडूले चुनाव जिते।

त्यसयता ०६४ सालको पहिलो संविधान सभा निर्वाचनयता कांग्रेसले दार्चुलामा संसदीय चुनाव जित्न सकेको छैन।

०५६ पछि दार्चुलामा कम्युनिस्ट पार्टीको दबदबा छ। ०६४ को पहिलो संविधान सभा चुनावमा सशस्त्र द्वन्द्व छाडेर शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी ठूलो शक्तिका रूपमा उदाएको थियो।

त्यसबेला माओवादीबाट दार्चुलाका लक्ष्मणदत्त जोशीले जितेका थिए। पहिलो संविधान सभा निर्वाचनमा एमालेका गणेश ठगुन्ना दोस्रो र कांग्रेसका बडू तेस्रो स्थानमा थिए।

कांग्रेसको ओरालो यात्रा यत्तिमै रोकिएन। दार्चुलामा ०७० को दोस्रो संविधान सभा निर्वाचन र ०७४ सालको चुनाव पनि कांग्रेसले गुमायो। ०७० मा कांग्रेसका बडूलाई उछिन्दै एमालेका गणेश ठगुन्ना विजयी भएका थिए।

०७४ सालमा पनि ठगुन्नाले माओवादी केन्द्रको समर्थनमा वाम गठबन्धनको साझा उम्मेदवार बनेर संसद पस्ने मौका पाए।

ठगुन्नाले त्यसबेला २८ हजार ९९८ मत ल्याएका थिए भने कांग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत ल्याएका थिए। ०७४ को प्रदेश सभा चुनावमा पनि वाम गठबन्धनकै उम्मेदवारले बाजी मारेका थिए।

दार्चुलामा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट ०५६ पछि जित हासिल गर्न नसकेको नेपाली कांग्रेस दुई दशक पुरानो विरासत फर्काउने दाउमा छ। नेकपा एमाले भने कम्युनिस्टको किल्ला यथावत् राखेर जितलाई निरन्तरता दिने रणनीतिका साथ चुनावी मैदान उत्रिँदै छ।

कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटेर जारी चुच्चे नक्सामा नेपालको सीमा बढाएको दार्चुलाले यसपटक प्रतिनिधि सभा संसदमा कसलाई पठाउला भनेर चासोका साथ हेरिएको छ।

मन्त्री बडूको ‘ह्याट्रिक’
दार्चुला कांग्रेसको राजनीति वर्षौंदेखि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको वरिपरि घुमिरहेको छ। उनी पार्टीभित्र संस्थापन इतर कोइराला निकट मानिन्छन्।

०४८ देखि ०७० सम्म दार्चुलाबाट पाँचपटक प्रत्यक्षतर्फ संसदीय चुनाव लडेका बडूले ०४८ र ०५६ मा गरेर दुईपटक मात्रै जितेका छन्। उनले हारमा ‘ह्याट्रिक’ नै गरेका छन्। ०५१ सालको चुनावमा पहिलोपटक हार बेहोरेका बडूले ०६४ र ०७० को चुनाव पनि गुमाए।

०७४ सालको चुनावमा परिस्थिति प्रतिकूल देखेपछि बडू समानुपातिकतर्फ लागेका थिए। त्यसबेला कांग्रेस नेता विक्रम धामीलाई प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनाव लडाइएको थियो। यसपटक बडू सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेर चुनावमा होमिने तयारीमा छन्।

यो निर्वाचनमा दार्चुलाबाट उम्मेदवारी दिएर बडू विजयी भएमा जितमा ‘ह्याट्रिक’ हुनेछ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ कांग्रेसबाट दार्चुलामा बडूसहित ४ जना सिफारिस भएका छन्।

०७४ मा चुनाव हारेका विक्रमसिंह धामी, जगदीश पाल र गौरीशंकर गिरी कांग्रेसबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिफारिसमा परेका हुन्। 
०७४ मा समानुपातिकतर्फबाट सांसद बनेका मन्त्री बडूलाई यसपटक प्रतिनिधि सभा छिर्न प्रत्यक्ष चुनाव लड्नुपर्ने बाध्यात्मक अवस्था छ।

कांग्रेसकोे विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको छ। यो सशक्त रूपमा कार्यान्वयन भएमा बडू यसपटक फेरि समानुपातिकमा आउन पाउँदैनन्। 

‘मन्त्रीज्यू यहाँको पुरानो नेता हो, यसपटक समानुपातिकतिर जान पाउनहुन्न’, कांग्रेसका एक नेताले नेपालखबरसँग भने, ‘गठबन्धनमा प्रतिनिधि सभा कांग्रेसको भागमा पर्छ, उहाँ (बडू) ले नै टिकट पाउनु हुन्छ।’ ​

ठगुन्नाको पनि ‘ह्याट्रिक’
पूर्वमन्त्री गणेश ठगुन्नालाई प्रतिनिधि सभा प्रत्यक्षका लागि नेकपा एमालेले सर्वसम्मत सिफारिस गरेको छ। जिल्लाले सिफारिस गरेकै आधारमा केन्द्रले टिकट दिएमा ठगुन्ना दार्चुलामा उम्मेदवार बन्ने पक्का छ।

तर सत्तारुढ गठबन्धनविरुद्ध ठगुन्नालाई जित हासिल गर्न सहज छैन। ०६४ सालमा पहिलोपटक संसदीय चुनाव ‘फेस’ गरेका ठगुन्ना माओवादीका लक्ष्मणदत्त जोशीसँग हारेका थिए।

त्यसपछि ०७० र ०७४ को चुनाव भने ठगुन्नाले लगातार जिते। यसपटक पनि बाजी मार्दै ‘ह्याट्रिक’ सहित एमालेको जितलाई निरन्तरता दिने दाउमा छन्, उनी।

०७४ चुनावको जितको सारथी माओवादी केन्द्र अहिले कांग्रेसको पोल्टामा गएको छ। गठबन्धनविरुद्ध स्थानीय तहको निर्वाचनमा हासिल गरेको नतिजाले एमाले हौसिएको छ।

‘एमाले सांगठनिक रूपमा बलियो छ, जस्तोसुकै गठबन्धन भए पनि केही फरक पर्दैन’, एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले नेपालखबरसँग भने, ‘एमालेको जित सुनिश्चित छ।’

कडा प्रतिस्पर्धा
स्थानीय तह निर्वाचनको मतपरिणामका आधारमा दार्चुलामा गठबन्धनविरुद्ध नेकपा एमाले बलियो देखिएको छ। 

९ पालिकामध्ये एमालेले शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मालिकार्जुन, दुहुँ र व्याँस गाउँपालिका गरेर ५ पालिकाको प्रमुखमा बाजी मारेको छ। 

अन्य ४ पालिका अपिहिमाल, लेकम, नौगाड र मार्मा गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ। नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा कुनै पनि पालिका प्रमुख पद जित्न सकेन।

यस्तै ९ पालिकाका कूल ६१ वडामध्ये ३४ वटामा एमालेले जितेको छ। गठबन्धनमा आबद्ध कांग्रेसले १७ र माओवादी केन्द्रले १० वटा वडामा जितेका छन्। सत्ता गठबन्धनले जितेको कूल वडा संख्या २७ छ। जुन एमालेको भन्दा कम हो।

स्थानीय तहको मतपरिणाम हेर्दा अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सत्ता गठबन्धन र एमालेबीच दार्चुलामा कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ।

स्थानीय तहको निर्वाचन मतपरिणामअनुसार एमालेको वडागत मत २९ हजार ३९७ छ। यस्तै कांग्रेसको २१ हजार ५५४ हुँदा माओवादी केन्द्रको ७ हजार ८८१ छ। अन्य राजनीतिक दलको उपस्थिति भने कमजोर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .