ad ad

सुदूरपश्चिम


कैलालीको अत्तरियामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

कैलालीको अत्तरियामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

नेपालखबर
चैत २८, २०७९ मंगलबार १९:५२, काठमाडौँ

कैलालीको अत्तरियास्थित मालाखेती अस्पतालका चिकित्सकको लापरवाहीले नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले गरेको प्रदर्शनपछि आज अत्तरिया क्षेत्र तनावग्रस्त रह्यो।

मृतक पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र लापरवाही गर्ने चिकित्सक र स्टाफ नर्समाथि कारबाहीको माग गर्दै गरिएको प्रदर्शनका क्रममा आज पूर्वपश्चिम राजमार्गको अत्तरिया सडकखण्ड अवरुद्ध पार्ने प्रयास गरिएपछि प्रहरीले बल प्रयोग गरी सडक सञ्चालनमा ल्याएको थियो। 

यस क्रममा प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार भएपछि स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्नुका साथै केही राउण्ड अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

प्रसूति सेवाका लागि मालाखेती अस्पताल पुगेकी गोदावरी नगरपालिका–२ की २८ वर्षीया लक्ष्मी भट्टराईको नवजात शिशुसहित आइतबार मृत्यु भएको थियो।

घटनालगत्तैबाट स्थानीयवासीले प्रदर्शन जारी राखेका छन्। मृतक लक्ष्मी र नवजात शिशुको शव आज दोस्रो दिनसम्म उठेको छैन। पीडित पक्ष, अस्पताल प्रशासन र गोदावरी नगरपालिकाबीच समस्या समाधानका लागि छलफल जारी रहेको छ।

अस्पतालसँग यसअघि आइतबार पनि भएको छलफल पछि पनि आफ्ना माग पूरा नगरेकाले पीडित पक्षले शव उठाउन मानेको छैन। छलफलका क्रममा छानबिन समिति गठन गर्ने भए पनि समिति गठन गर्न पहल नभएको भन्दै पीडित पक्षले शव उठाउन नमानेको हो।

घटनाको अनुसन्धानका लागि विज्ञसहितको टोली गठन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्र पालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .