दार्चुलाको व्याँस गाउँपालिका–१ तिंकरमा बिहीबार बोर्डर आउट पोष्ट (बीओपी) उद्घाटन कार्यक्रम थियो। व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीलाई सशस्त्र प्रहरीले त्यस कार्यक्रमको निमन्त्रणा गर्यो।
बुधबार १२ बजे धामी भारतको बाटोबाट तिंकर जान पुलघाट नाकाबाट पारि पुगिसकेका थिए। करिब २ बजेतिर सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल, दार्चुलाकी प्रमुख जिल्ला अधिकारी (सीडिओ) किरण जोशी र सशस्त्रका एसपी डम्बरबहादुर विष्ट पनि पुगे।
सँगै महाकाली नगरपालिकाका नगर प्रमुख नरसिंह चैसिर पनि थिए। उनीहरु गाडीमा तिंकर जानका लागि भारतको बाटो हानिन्छन्। करिब १४ किलोमिटरको यात्रापछि नेपाली भूमि तिगराम पारि भारततर्फ रौगतीमा उनीहरुलाई एसएसबीका डीआईजीले स्वागत गरे।
केहीबेर भलाकुसारी गरेका उनीहरुले सँगै चिया पनि पिए। त्यसपछि प्रशासनिक नेतृत्व, सुरक्षाकर्मी र जनप्रतिनिधिको टोली तिंकरतिर जान खोज्यो।
एसएसबीले एआईजी, सीडीओको टोलीलाई जान दियो। तर व्याँस गाउँपालिकाका अध्यक्ष धामी, महाकालीका मेयर चैसिर र नेविसंघका नेता दीपक सिंह खातीलाई रोक्यो।
‘तपाई मेयर हो नि भनेर एसएसबीले पास माग्यो, एक घण्टा रोकेर केरकार गर्यो, त्यसपछि तपाईंहरुलाई यहाँ भन्दा माथि जाने अनुमति छैन भनेर फर्काइयो,’ व्याँस गाउँपालिकाका अध्यक्ष धामीले भने, ‘सीडीओ साबहरुले पनि केही भन्न सक्नु भएन।’
भारतीय प्रशासनको अनुमति हुँदाहुदै पनि आफ्नै भूमि जान भारतीय पक्षले रोकेको हो। अध्यक्ष धामीसँग जिल्ला समन्वय समितिमार्फत भारतीय प्रशासनको अनुमति थियो।
बुँदी, गब्र्याङ, सीतापुल क्षेत्र भएर तिंकर जानका लागि उपजिल्ला मजिस्ट्रेट धारचुलाले पास जारी गरेको थियो। नेपाल भारत सीमाको १० किलोमिटरभित्र नेपाल सीमामा बस्ने भनेर पासका लागि जिल्ला समन्वयमार्फत अध्यक्ष धामीले निवेदन दिएका थिए।
एसएसबीले रोकेपछि उनीहरू तिंकरतर्फ जान पाएनन्। एआईजी, सीडीओहरु तिंकरतर्फ लागे। जनप्रतिनिधिहरु पैदलै फिर्ता भए। रात परेपछि उनीहरु बुधबार भारतमै बास बसेका थिए।
उनीहरू बिहान खलंगा फर्किएका थिए। ‘यसपटक नाकामा आउजाउ गर्दा पनि एसएसबीले केरकार गरे, तीन पुस्ते विवरण राखेका थिए,’ धामीले भने।
भारतीय पक्षले सीमामा स्थानीयलाई विभिन्न बहाना गरेर सास्ती दिने गरेका छन्।
‘आफ्नै भूमि जान नपाउँदा अपमान भयो, अब कहिल्यै भारतको बाटो प्रयोग गर्दैनौं, नेपालतर्फ बाटो बनाउन पहल गर्छु,’ अध्यक्ष धामीले भने।
व्याँस गाउँपालिका–१ मा पर्ने तिंकर र छाङरु जान नेपालतर्फ बाटो छैन। २/३ हिँडेर जोखिमपूर्ण यात्रा गरेर तिंकर र छाङरु जानु पर्ने बाध्यता छ।
महाकाली करिडोर अन्तर्गत तिंकरसम्म सडक निर्माणको काम सुस्त गतिमा छ। भएकै बाटो पनि ठाउँ ठाउँमा बाढीले भताभुङ्ग छ।
लास्कु र निजगाडको मोटरेवल पुल बाढीले बगायो। व्याँस गाउँपालिकाको केन्द्र सुनसेरा जोड्ने तोसारपानी, फतगाड, कल्जु, नज्याङ, राफ्ला, तम्या र अपी खोलामा झोलुङे पुल पनि छैन।
भारतीय क्षेत्र सडक निर्माणका क्रममा भइरहेको बिष्फोटको कामले नेपालतर्फ दुम्लिङदेखि बुँदीसम्मको बाटो बिग्रिरहन्छ।
भारततर्फ मोटरेवल बाटो भएकोले २/३ घण्टामै सीतापुल तरेर तिंकर र छाङरु पुगिन्छ। त्यसैले स्थानीयहरु भारतकै बाटो भएर आउजाउ गर्छन्। तिंकर र छाङरु भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी क्षेत्र नजिकैका गाउँ हुन्।
भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रलाई समेटेर सरकारले चुच्चे नक्सा जारी गरेको छ। तर सो भूभाग अझै भारतको नियन्त्रणमै छ।
‘कुटी, गुञ्जी र नाभी तीन गाउँलाई भारतले लगिसक्यो, अब छाङरु र तिंकरमा भारतले नजर लगाएको छ,’ अध्यक्ष धामीले भने, ‘भूभाग नक्सामा मात्रै समेटेर हुन्छ? आफ्नै भूमिको बाटोबाट कहिले आउजाउ गर्न पाउने?’
तिंकर र छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भ निर्माण र कार्यपालिका बैठक राखेपछि भारतीय पक्ष चिढिएर रिसले जनप्रतिनिधिलाई तिंकर जान नदिएको उनको दाबी छ।
Shares
प्रतिक्रिया