कैलालीमा कुटपिटबाट घाइते व्यक्तिको मृत्यु भएको छ। कुटपिटबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो।
उनी पुस २५ मा कुटपिटबाट घाइते भएका थिए। उपचारका क्रममा पुस २६ गते धनगढीको नि:सर्ग अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे पुस २८ गते बेलुका मात्र प्रहरीलाई जानकारी गराइएको थियो। पीडित परिवारले मृतकका साथीसहित ६ जनाविरुद्ध ज्यानसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएका छन्।
प्रहरीका अनुसार देउवा उनका साथी कृष्णपुर नगरपालिका–४ का २८ वर्षीय टेकबहादुर नायकसँग पुस २५ गते राति कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित न्यु सत्कार दोहोरी साँझ गएका थिए।
मदिरा पिउने क्रममा त्यहाँ सामान्य विवाद भएको सीसीटीभी फुटेजमा देखिएको छ। अर्को दिन देउवा चोटपटक लागेर घाइते अवस्थामा गोदावरीको चौकीडाँडामा भेटिए।
सँगै दोहोरी साँझ गएका उनका साथी नायकले देउवालाई घर पुर्याइदिएपछि परिवारले उपचारका लागि उनलाई धनगढीको नि:सर्ग अस्पताल लगेको थियो।
देउवाको उपचारकै मृत्यु भएपछि पीडित परिवारको किटानी जाहेरीका आधारमा कुटपिटमा संलग्न आरोपमा प्रहरीले नायकसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ का २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ का २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ विक र कृष्णपुर नगरपालिका –९ का ३८ वर्षीय रामबहादुर ऐर छन्।
पोस्टमार्टमका लागि शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया