एउटा विवाद मत्थर नहुँदै नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र फेरि अर्को रडाको सुरु भएको छ।
सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पदसहित भौतिक पूर्वाधार मन्त्रालय पार्टीलाई दिने सहमति भएसँगै नाउपाभित्र दुई गुटबीच नेतृत्व हत्याउने होडबाजी सुरु भएको हो।
गठबन्धनका विषयमा नाउपाका संरक्षक रेशमलाल चौधरी र उनकी पत्नीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच पहिलेदेखि जारी विवाद अब मुख्यमन्त्री पद आफूनिकटकालाई बनाउनेमा पुगेको हो।
रञ्जिताले मुख्यमन्त्री पदका लागि कैलाश चौधरीलाई अघि सारेकी छन् भने रेशमले कामचलाउ सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरीलाई।
तर लक्ष्मणकिशोर पार्टीका बहुमत प्रदेश सांसदले मुख्यमन्त्रीका लागि आफ्नो नाममा लिखित सहमति गरेको दाबी गर्छन्।
‘बहुमत सांसदले मेरो नाममा सहमति गरेका छन्,’ उनले भने, ‘हामी छलफलमै छौँ। बहुमतको निर्णय मानेर जान्छौँ।’
सुदूरपश्चिम प्रदेश सभामा नाउपाका ७ सांसदमध्ये ५ जना रेशमनिकट थिए। तर यीमध्ये रमेशनिकट समानुपातिक सांसद इन्द्रिरा गिरी र दल नेता घनश्याम चौधरीलाई रञ्जिताले कारबाही गरिसकेकी छन्।
रञ्जिता समूहमा २ सांसद मात्र छन्।
आफूनिकट सांसदलाई मुख्यमन्त्री बनाउने रणनीतिअन्तर्गत रञ्जिताले केही दिनअघि मात्र कैलाश चौधरीलाई संसदीय दल नेता बनाएकी छन्। यसअघि संसदीय दलको नेता रेशमनिकट घनश्याम चौधरी थिए। घनश्यामलाई रञ्जिताले निलम्बनसमेत गरिसकेकी छन्।
तर पनि रेशमको अड्कोले रञ्जितालाई सकस परेको छ।
यसअघि रेशम कांग्रेससँग सहकार्य गर्ने र रञ्जिता नयाँ सत्ता गठबन्धनमा सामेल हुने पक्षमा हुँदा पार्टीभित्र एक महिनासम्म विवाद चल्यो।
तर नयाँ सत्ता गठबन्धनले सुदूरपश्चिमको मुख्यमन्त्री पद दिने सहमति भएपछि केही दिनअघि मात्र नाउपाका प्रदेश सांसद एक ठाउँमा उभिएका हुन्।
आन्तरिक विवादकै कारण नाउपाले मुख्यमन्त्री पद नपाउने अवस्था आएपछि एकजुट भएको सन्देश दिने किसिमले रेशमकै उपस्थितिमा उनीहरू छलफलमा जुटेका थिए। अहिले फेरि नाउपाभित्र मुख्यमन्त्री पदका लागि तानातान सुरु भएको हो।
सुदूरपश्चिम सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गते साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन्। ५३ सदस्यीय प्रदेश सभामा अहिले ५१ सांसद छन्।
कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको निधन र नाउपाकी समानुपातिक सांसद इन्द्रिरा गिरीलाई कारबाहीका कारण नाउपाका २ सांसद पद खाली छन्।
अहिले सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २६ सांसदको समर्थन आवश्यक पर्छ।
नाउपा सामेल हुँदा नयाँ गठबन्धनलाई सुदूरपश्चिममा सरकार बनाउन सहजै बहुमत पुग्छ।
प्रदेश सभामा नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। विपक्षीतर्फ नेपाली कांग्रेसका १८, राप्रपा र स्वतन्त्र सांसद एक/एक सांसद छन्।
Shares
प्रतिक्रिया