कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाहीको हत्या आरोपमा १७ जनाविरुद्ध किटानी जाहेरी परेको छ।
पीडित परिवारले घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनस्थापना केन्द्र (सुधारगृह) सञ्चालक समिति अध्यक्ष, सञ्चालक र सुधारगृहमा बस्नेविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएको हो।
जाहेरीपछि प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। सुधारगृह सञ्चालक रोशन ऐर भने अझै फरार रहेका छन्।
सञ्चालक समिति अध्यक्ष होम तामाङ, सञ्चालक बल खत्री र सुधारगृहमा बस्ने १३ जनालाई जाहेरीपछि नियन्त्रणमा लिइएको हो।
सुधारगृहमा बस्ने विपुल सापकोटा, सुर्दशन अधिकारी, भूपेन्द्र खड्का, विनोद शाही, कमल रिजाल, गौरव आचार्य, नविन रावल, नवराज चौधरी, कृष्ण तिमिल्सिना, सुमन भट्ट, आकाश अधिकारी, रोशन पनाडी र दिनेश मन्नीविरुद्ध जाहेरी परेको छ।
शाहीको हत्या भएको दिन सुधारगृहमा साथी भेट्न पुगेका मुकेश भनिने व्यक्ति पनि पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको छ।
बुधबार राति शाहीको सुधारगृहभित्र मृत्यु भएको थियो। शाहीको सुधारगृहमा कुटपिटपछि हत्या गरिएको परिवारको आरोप छ। मंगलबार दिउँसो र राति सुधारगृहमा बस्नेहरुको निर्घात कुटपिटपछि शाहीलाई बुधबार बिहान अस्पताल पुर्याइएको थियो।
त्यहाँ पुग्दा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। तर पीडित परिवारलाई घटनाबारे ढिलो खबर गरिएको थियो। मृतक शाहीको शरीरभर घाउ र निलडाम थिए।
प्रहरीले आरोपितमाथि अनुसन्धान भइरहेको जनाएको छ।
Shares
प्रतिक्रिया