ad ad

सुदूरपश्चिम


अछाम घटना : हत्या आरोपी मेयर चलाउनेविरुद्ध चलाइएन मुद्दा

प्रहरीले भेट्टाएन घटनामा संलग्नताको प्रमाण
अछाम घटना : हत्या आरोपी मेयर चलाउनेविरुद्ध चलाइएन मुद्दा

गोकुल जोशी
असार २१, २०७९ मंगलबार १९:२०, कञ्चनपुर

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको हत्या आरोपी मेयर अम्बिका चलाउनेसहित तीन जनामाथि मुद्दा नचल्ने भएको छ।

हत्या आरोपमा किटानी जाहेरीपछि प्रहरी हिरासतमा रहेकी मेयर चलाउनेको संलग्नताको कुनै प्रमाण नभेटिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । 

चलाउनेसँगै हत्या आरोपी नेत्रबहादुर शाही र रामबहादुर शाहीमाथि पनि मुद्दा नचल्ने भएको छ।

घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएकाले उनीहरुको संलग्नताबारेको प्रमाण नभेटिएको निष्कर्ष सरकारी वकिलले निकालेका हुन्। 

जेठ १७ गतेदेखि बेपत्ता पञ्चदेवल विनायक नगरपालिका–४ का शाही २१ गते  बिहान कालिकास्थानस्थित कुच्चीको भीरमा मृत भेटिएका थिए। 

हत्या आरोपमा पीडित परिवारले पञ्चदेवल विनायक नगरपालिकाका नवनिर्वाचित मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। 

तीमध्ये मेयर चलाउनेसहित ७ जना प्रहरीको नियन्त्रणमा छन् भने ६ जना फरार रहेका छन्।

मंगलबार घटनाको अनुसन्धान सकेर प्रहरीले फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो। 

त्यही आधारमा मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता कौशल प्रसाद ढुङ्गानाले मुद्दा नचलाउने निर्णय गरेका हुन्। 

जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत अछाममा अभियोग पत्रसहित चार जनालाई मात्रै उपस्थित गराएको छ। 

सरकारी वकिल कार्यालयले तीनजनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरेकोले रिहा भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलले बताए। 

उनका अनुसार नियन्त्रणमा रहेका अन्य चार जना आरोपीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .