चाडबाडको मुखमा खसी-बोका बिक्री नहुँदा किसान निराश भएका छन्। डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसी-बोका लिएर महेन्द्रनगर आइपुगेका किसान आफूले पालेका खसी-बोका बिक्री नहुँदा चिन्तामा परेका हुन्।
परशुराम नगरपालिका–८ जोगबूढाका किसान खसी-बोका बिक्री गर्न दु्ई दिन हिँडेर महेन्द्रनगर झरेका छन्। बाख्रापालनबाट जीविकोर्पाजन गर्ने उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको छ।
‘केही वर्षयता खसी-बोकाको व्यापार हुनसकेको छैन, विगतका दसैँमा सजिलै घरखर्च चलाउथ्यौँ‘, जोगबूढाका किसान जिते धामीले भने, ‘आम्दानीको स्रोत बाख्रापालन हो, बिक्री नहुँदा अब घरखर्च चलाउनै मुस्किल होलाजस्तो छ।‘
चाडबाडमा खसी-बोका बिक्री नहुनुका साथै बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन्। भारतबाट आयात हुने खसी-बोकाका कारण नेपाली उत्पादन बिक्री हुन नसकेको धामीको भनाइ छ।
‘भारतबाट सहजै खसी-बोका आउँछन्, नेपाली बजारमा तिनै खसी-बोका बेचिन्छन्‘, उनले भने, ‘बजारको उचित व्यवस्थापन नहुँदा खसी-बोका बेच्न सकस छ, कोही किन्न आइहाले पनि मोलमोलाइ बढी गर्छन्, मोल नै पाउँदैनौँ।‘
गत असोज ३० गते उनले १३ खसी-बोका बिक्रीका लागि महेन्द्रनगर ल्याएका थिए। तीमध्ये तीन दिनसम्म दुईवटा खसीमात्रै बिक्री भएको धामीको भनाइ छ।
बाख्रापालन गरेर जीवन धानेका डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसी-बोका बेच्न तराई झर्ने गर्छन्। गाउँबाट उधारोमा सङ्कलन गरेर ल्याएका खसी-बोका बिक्री नहुँदा ऋण काढेर पैसा तिर्नुपर्ने अवस्था आएको देव धामी बताउँछन्।
‘खसी-बोका केही हामीले पालेका छन्, केही गाउँलेबाट बिक्री गरेपछि पैसा दिनेगरी उधारोमा ल्याएका छाैँ‘, उनले भने, ‘केही पैसा आउला भनेर गरियो, ऋण लाग्ने अवस्था छ।‘
परशुरामबाट नौजना किसानले एक सय ५० खसी-बोका बिक्रीका लागि महेन्द्रनगर ल्याएका छन्। तीमध्ये अहिलेसम्म ५० मात्रै बिक्री भएको उनको भनाइ छ।
महेन्द्रनगरमा बस्ने व्यवस्था नहुँदा आफूहरूलाई समस्या भएको गोरे धामीले गुनासो गरे। ‘अहिले भीनपा–४ को वडा कार्यालयमा आश्रय लिएर बसेका छौँ, बस्ने र खसी-बोका राख्ने ठाउँ छैन‘, उनले भने, ‘त्यसैले समस्या छ, ठाउँ उपलब्ध गराए त्यसबापतको पैसा तिर्न पनि तयार थियौँ ।‘
Shares
प्रतिक्रिया