प्यालेस्टिनी रेड क्रिसेन्टले इजरायलले उत्तरी गाजामा रहेको अल कुड्स अस्पताल खाली गर्न आदेश दिएको जनाएको छ।
स्वास्थ्य सेवा प्रदान गर्ने यो संस्थाले हाल अल कुड्स अस्पतालमा चार सय बिरामी भर्ना रहेको र हजारौं विस्थापितले यहाँ शरण लिएको बताएको छ।
अर्को मानवीय त्रासदी रोक्न अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न आह्वान गरिरहेको रेड क्रिसेन्टले जनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले उक्त खबरप्रति चिन्ता प्रकट गरेका छन्।
उनले भनेका छन्, ‘अल कुड्स अस्पताल खाली गर्ने आदेशसम्बन्धी समाचार चिन्ताजनक छ। विश्व स्वास्थ्य संगठनले बारम्बार भरिभराउ अस्पतालहरूबाट बिरामीलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव छ। अस्पताल सुरक्षित हुनुपर्छ र यसको जीवन बचाउने कार्य निर्वाध सञ्चालन हुनुपर्छ।’
यसैबीच हमासका स्वास्थ्य अधिकारीहरूले इजरायलको लगातारको बमबारीका कारण हालसम्म चार हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन्।
गाजामा हालसम्म १० लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्। यहाँ खाद्यान्न र खानेपानीको चरम संकट छ।
Shares
प्रतिक्रिया