ad ad

अटो


वर्कशप नखुल्दा समस्या, नाडा अध्यक्ष भन्छन्ः लकडाउन नलम्ब्याऔँ, जोगिएर काम गरौँ

वर्कशप नखुल्दा समस्या, नाडा अध्यक्ष भन्छन्ः लकडाउन नलम्ब्याऔँ, जोगिएर काम गरौँ

वसन्त अर्याल
बैशाख ९, २०७७ मंगलबार ८:१३,

विश्व महामारी कोरोनाभाइरस संक्रमण फैलिनसक्ने भन्दै गत चैत ११ देखि जारी लकडाउनका कारण थन्किएका सवारीसाधन बिग्रिनसक्ने र चलिरहेका सवारीसाधन मर्मतमै समस्या भएको छ।

सबै क्षेत्र ठप्प हुँदा सवारीसाधन मर्मतसम्भार गर्ने वर्कशपहरु पनि खुल्न सकेका छैनन्। अत्यावश्यक सेवाको लागि सवारी साधन निर्बाध रुपमा चलिरहे पनि बिग्रिएको खण्डमा मर्मत गर्ने सहज अवस्था नहुँदा सेवाग्राही अलमलमा परेका छन्।

अहिले सडकमा अत्यावश्यक काममा दैनिक आवतजावत गर्ने डाक्टर, अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी,मिडियाकर्मि, सुरक्षाकर्मी, ऐम्बुलेन्स लगाएत अत्यावश्यक सेवा ढुवानीका सवारी सुचारु छन्।

ठूला कम्पनीहरुले लकडाउनको समयमा पनि सर्भिस सेन्टर खुला रहने बताए पनि सेवाग्राहीले उक्त स्थानमा पुग्न अप्ठ्यारो भएको गुनासो गरेका छन्। अत्यावश्यक काम गर्ने धेरै सेवाग्राहीले सर्भिस तथा मोबिल समेत फेर्न नसक्दा गाडीमा समस्या देखिन थालेको गुनासो गरिरहेका छन्।

सेवाग्राहीको समस्या सामाधान गर्न अटोक्षेत्रका संघ÷संस्थाले भने कुनै काम गर्न सकेका छैनन्।

नाडा ओटोमोबाइल्स एसोसिएसनले अत्यावश्यक काम गर्ने सेवाग्राहीको लागि वर्कशप सञ्चालन गर्न सरकारसँग अनुमति माग गरे पनि नदिएको बताएको छ।

‘जिल्ला प्रशासन कार्यालयसँग अत्यावश्यक काम गर्ने सेवाग्राहीका लागि वर्कशप खोल्न आवश्यक छ भनी पत्र लेखेका थियौँ’, नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाले भने, ‘सरकारले अनुमति नदिएपछि हामीले त्यसै सञ्चालन गर्नसक्ने कुरा भएन।’

उनले वर्कशप खुल्न नसके पनि कम्पनीहरुले आफ्ना ग्राहकको लागि सर्भिसको व्यवस्था गरेको बताए।

‘सर्भिस गरिरहेको ठाउँमा फोन गर्नुहोस्, मेकानिक्स उपलब्ध हुन्छन्’, नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुर प्रसाद न्यौपानेले भने, ‘सबै वर्कशप खुल्ने अवस्था नरहे पनि आफूले सर्भिस गरिरहेको मेकानिक्सलाई सम्पर्क गरे समस्या समाधन गर्न सकिन्छ।’

उनले मेकानिक्सहरुलाई आपूmले सेवा दिइरहेका सेवाग्रहीको सवारीमा समस्या आए समाधान गर्न भनेको जानकारी दिए।

अत्यावश्यक चलिरहेका सवारीहरुमा समस्या आए फोनमार्फत सम्बन्धित ठाउँमा पुगेर सेवा दिइरहेको न्यौपानेले दाबी गरे।

उनले भने, ‘आफैँले वर्कशप नजिक आफ्नो सवारी पु¥याउने अवस्था नभए पनि वर्कशप अथवा मेकानिक्सलाई फोन गरौं सेवा पाइन्छ।’

पार्किङमा भएका सवारीको ध्यान कसरी राख्ने?
लकडाउनको अवधिमा गाडीलाई सुरक्षित राख्न गाडी कम्पनीहरुले विभिन्न माध्यमबाट सुझाव दिइरहेका छन्। लामो समय गाडी नगुड्दा इन्जिन, ब्याट्री, टायर, ब्रेक, स्टेरिङमा ध्यान दिनुपर्ने सुझाव उनीहरुले दिइरहेका छन्।

करिब २६ वर्ष अटोमोबाइल क्षेत्रमा बिताएका सिएल पासवानले लामो समय गाडी पार्किङ गर्दा ब्याट्रीमा ध्यान दिनुपर्ने बताउँछन्। उनका अनुसार ब्याट्रीको तार सकेसम्म डिस्कनेक्टेड गरी राख्नुपर्छ। यसले ब्याट्री ड्यामेज हुनबाट बचाउँछ।

पासवानका अनुसार पार्किङ गर्दा धेरै गाडी बाहिर घाममा भए ‘एयर टाइट’मा पनि ध्यान दिनुपर्छ। गाडीभित्र कतै न कतैबाट सामान्य हावा छिर्ने ठाउँ राख्नुपर्छ अन्यथा बाहिर बढी घाम लागेर गाडी तात्यो भने सिसा पड्कने समस्या हुन सक्छ।

अर्को महत्वपूर्ण कुरा इन्जिनको अवस्थाबारे जानकार हुनुपर्छ। तेल र लुब्रिकेन्टको अवस्था कस्तो छ भन्ने पनि ख्याल गर्नुपर्छ। लामो समय इन्जिन खाली पर्यो भने खिया लाग्न सक्छ। गाडीको कुलिङ स्टिमको पनि त्यत्तिकै ध्यान दिनुपर्छ ।

वैशाख १५ पछि अटो व्यवसाय खोल्नुपर्छः दुलाल
नाडाका अध्यक्ष दुलाल वैशाख १५ पछि लकडाउन लम्ब्याउन नहुने बताउँछन्। धेरै देशले लकडाउन खुकुलो पार्न थालिसकेका र नेपालको आन्तरिकरुपमा ठूलो जोखम नदेखिएकाले व्यवसाय चल्न पाउनुपर्ने उनको भनाइ छ।

‘अटोसम्बन्धी उद्योग तथा व्यवसाय पूरै ठप्प हुँदा कर्मचारीलाई तलब दिनसक्ने अवस्थामा छैनौं। अब कोरोनाबाट सुरक्षित रही व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने सबै अटो व्यवसायीको माग छ’, उनले भने, ‘बन्दको पनि सीमा हुन्छ। अब त बढी नै भयो, हामीले धान्न सक्दैनौं। संक्रमणबाट जोगिने विधि अपनाई काम गर्ने वातावरण बनाउनुपर्छ।’

उनले सरकारको पनि राजस्व उठ्न नसकेकाले ठूलो राहत दिन नसके पनि ब्याजदर घटाई किस्ता तिर्ने समय थप गर्ने व्यवस्था गर्नुपर्ने बताए। ‘असार मसान्तसम्म यो वर्षको कर तिरिसक्ने र बैंकको किस्ता असारपछि तिर्नसक्ने व्यवस्था आवश्यक छ’, दुलालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .