ad ad

अटो


लकडाउन खुकुलोपछिको अटोबजारः निजी सवारीसाधनमा जनरुचि बढ्दो

लकडाउन खुकुलोपछिको अटोबजारः निजी सवारीसाधनमा जनरुचि बढ्दो

वसन्त अर्याल
असार १२, २०७७ शुक्रबार १०:४९,

दुईपांग्रे तथा चार पांग्रे सवारीले ल्याएको अफरसँगै निजी गाडीप्रति ग्राहकको चासो बढेको छ। कोभिड १९ को संक्रमण फैलिरहेको बेला मानिसको निजी सवारीसाधनप्रति चासो बढेको हो।

सार्वजनिक यातायात ठप्प रहेको र सवारीसाधन बिक्रेताले आकर्षक अफर ल्याउँदा मानिस निजी गाडीप्रति आकर्षित भएका हुन्।

गत वर्ष चैत ११ देखि पूर्णरुपमा लकडाउन भए पनि असार १ देखि केही खुकुलो पारिएको छ। झण्डै तीन महिना ठप्प रहेको अटो व्यवसायलाई चलायमान बनाउन व्यवसायीले विभिन्न स्किम ल्याएका छन्।

नाडा अटो मोबाइल एसोसिएसनका सचिव अनुप बरालले कोभिड १९ को संक्रमण फैलिरहेको अवस्थामा ग्राहकलाई आवतजावतको लागि केही सहज होस् भनेर सवारीसाधन बिक्रेताले स्किमहरु ल्याएको बताए।

अटो व्यवसायीले ल्याएको स्किमले धेरैको ध्यान ताने पनि सवारीसाधन नै खरिद गर्ने पक्षमा नरहेको व्यवसायीहरु बताएका छन्। यामाहाका मार्केटिङ हेड विक्राम पौडेलले भने, ‘मानिसको जागिर रहला नरहला भन्ने टुङ्गो छैन, त्यसैले सवारीसाधन किनिहाल्ने पक्षमा छैनन् तर सार्वजनिक यातायात चलेको अवस्थामा निजी सवारी चढ्न धेरैले चासो व्यक्त गरेका छन्।’

लकडाउन खुकुलो भए पनि बाहिर निस्किन सुरक्षित नहुने डर धेरैमा रहेको टीभीएस मोटर्सका नेशनल सेल्स हेड मन्जुल आमात्यले बताए।

‘लकडाउनको अवस्थामा त व्यापार पूरै ठप्प थियो। अहिले पनि मानिस बाहिर निस्किन नपरे हुन्थ्यो भन्ने मानसिकतामा छन्’, अमात्यले भने, ‘बाहिर निस्किँदा केही होला कि भन्ने डर छ, सुरक्षित महशुस गरिरहेका छैनन्।’

दुईपांग्रे सवारीमा मानिसको चासो बढी
कोभिड १९ भीडभाडमा बढी फैलिने जोखिम हुँदा मानिसहरु निजी सवारीसाधनमा आकर्षित भएका छन्। निजी सवारीमा पनि चारपांग्रे गाडी महंगो हुने भएकाले दुईपांग्रे मोटरसाइकल तथा स्कुटरमा चासो राख्ने बढी छन्।

‘लकडाउन खुलेसँगै दुईपांग्रे सवारीको व्यापार राम्रो देखिएको छ’, नाडा अटो मोबाइएल एसोसिएसन दुईपांग्रे सवारी समितिका सभापति मिलन बाबु मल्लले भने, ‘नेपालीहरुसँग चारपांग्रे गाडी किन्ने क्षमता कमजोर हुँदा दुईपांग्रे सवारीको व्यापार राम्रो छ।’

भेस्पा स्कुटरकी ब्राण्ड म्यानेजर करुना पुडासैनीले केही दिनयता स्कुटर बिक्री बढेको बताइन्।

‘पहिलाको जस्तो त छैन तर केही दिनयता दुईपांग्रे सवारीसाधनको बिक्री पनि बढिरहेको छ’, पुडासैनीले भनिन्, ‘भेस्पा तथा अप्रिलियाको स्किममा मानिसको धेरै चासो रहेको छ।’

धेरै ग्राहकले निजी सवारीसाधन फाइनान्समा खरिद गर्ने हुँदा भेष्पा तथा अप्रिलियाले ल्याएको शून्य प्रतिशत फाइनान्सको स्किममा एकदमै चासो रहेको उनले बताइन्।

टीभीएस नेशनल सेल्स हेड मन्जुल अमात्यले सवारीसाधन बिक्रेताले दशैँमा राम्रो अफर ल्याउँथे तर व्यापार ठप्प भएको अवस्थामा व्यवसायीहरुले प्रतिस्पर्धात्मक रुपमा अफर ल्याउँदा बजारमा चहलपहल बढेको बताए।

यामाहाका मार्केटिङ हेड विक्रम पौडेलले चासो व्यक्त गर्ने धेरै भए पनि बिक्रीमा भने समस्या भइरहेको बताए।

‘मानिसले सार्वजनिक यातायात सुरक्षित महशुस नगर्ने र चारपांग्रे सवारी चढ्ने धेरैको क्षमता नहुँदा दुईपांग्रे यातायातको विकल्पको रुपमा आउँछ कि भन्ने आशा रहेको छ’, उनले भने।

चारपांग्रेमा चासो दिने बढी बुकिङ गर्ने कम
चारपांग्रे अटो व्यवसाय सामान्य अवस्थामा फर्किन लामो समय लाग्ने बताउँछन् अटो व्यवसायी। हाल कम्पनीहरुले ल्याएको स्किममा मानिसको चासो भए पनि खरिद गर्न अझै तयार नभइसकेको उनीहरुको भनाइ छ।

फोर्स मोटर्सका आधिकारिक बिक्रेता धुव्र थापाले लकडाउन पूर्ण रुपमा नखुलेसम्म व्यवसाय चहलपहल सुरु नहुने बताए।

‘करिब ३ महिनापछि भर्खर व्यवसाय सुरु भएको छ। अझै पनि लकडाउनको अवस्था छ तर पनि केही मुभमेन्ट हुनथालेको छ’, उनले भने, ‘कोभिड १९ को अवस्थामा ग्राहकलाई पैसा तिर्न पनि गाह्रो हुन्छ भनेर एक वर्षसम्मको किस्ता हामीले तिर्ने गरी स्किम ल्याएका छौं । त्यसमा फोनबाट चासो लिने धेरै छन्।’

फक्सवागनका मार्केटिङ म्यानेजर विराज श्रेष्ठले निजी गाडी खरिदको लागि सोचेभन्दा राम्रो चासो आइरहेको बताए।

‘मानिसमा सार्वजनिक यातायातभन्दा निजी सवारी चढौं भन्ने मानसिकता वृद्धि भएको देखिन्छ’, श्रेष्ठले भने, ‘बुकिङ पनि भइरहेको छ। टेस्ट ड्राइभको लागि पनि धेरैले चासो दिनुभएको छ।’

उनले फक्सवागनको १० हजारमै ‘पोलो’ गाडी स्किममा बढी चासो रहेको बताए।

किया मोटर्स एसिस्टेन्ट म्यानेजर अनिस लामिछानेले ठप्प अटो व्यवसायलाई चलायमान बनाउने सरकारले कुनै योजना नल्याउँदा मानिसले गाडीहरु किन्नसक्ने अवस्था नरहेको बताए।

‘अटो व्यवसायी तथा खरिदकर्ताको लागि सरकारले कुनै योजना ल्याएको छैन’, लामिछानेले भने, ‘मानिस आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ भनेर गाडी किन्न खोजेका छन् तर गाडी किन्न चाहनेले पनि किन्न सक्ने अवस्था बनेको छैन।’

नाडा सचिव तथा सुजुकी गाडीका डिलर अनुप कुमार बरालले मानिस शोरुम भिजिट गर्न तथा फोनमार्फत बुझ्न सुरु गरेको बताए।

‘राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत सुविधाहरु ल्यायो भने मानिसहरुको गाडी खरिदमा चासो बढ्ला’, बरालले भने, ‘पूर्णरुपमा अर्थतन्त्रमा चहलपहल नभएसम्म अटो व्यवसाय पहिलाको अवस्थामा फर्किन सक्दैन।’

आंशिक खुलेका व्यवसाय सञ्चालनमा पनि कठिनाइ
बजार केही खुले पनि मानिस आवतजावतको लागि अझै सहज छैन। सरकारले जोरविजोर प्रणाली लागू गरेको छ। सार्वजनिक यातायात चलेको छैन। मानिसहरु बजारमा निस्किनसक्ने अवस्था अझै बनेको छैन।

मानिस बजारमा निस्किनको लागि अप्ठ्यारो परेको अवस्थामा व्यवसायीहरुले भने अनलाइनमार्फत बुकिङ गरी घरमै डेलिभरी पनि गरिरहेका छन्।

अटो व्यवसायीहरुलाई पनि शोरुम खोल्न समेत अप्ठ्यारो परिरहेको टीभीएस मोटर्सका सेल्स हेड अमात्यले बताए।

‘ग्राहकको सुरक्षाको कुरा पनि रहेको हुन्छ, सँगै कर्मचारीको सुरक्षा पनि हुन्छ। शोरुममा आउनेलाई सुरक्षित महशुस होस् भनेर मास्क, स्यानिटाइजर उपलब्ध गराई काम सुरु गरेका छौं’, अमात्यले भने ‘ग्राहकले निरीक्षण गर्नुपूर्व शोरुम, बाइक तथा स्कुटरमा पनि स्यानिटाइजर गर्ने काम भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .