ad ad

अटो


डिजेलबाट बिजुली बसतर्फ रुपान्तरण हुँदै व्यवसायी

डिजेलबाट बिजुली बसतर्फ रुपान्तरण हुँदै व्यवसायी

वसन्त अर्याल
कात्तिक २०, २०७७ बिहिबार ११:१४,

नेपालमा निजी क्षेत्र विद्युतीय बसमा लगानी गर्न आतुर देखिएका छन्। यातायात व्यवसायीसँगै अटो व्यवसायीले पनि विद्युतीय बस नेपाल भित्र्याउन लागेका हुन्।

सरकारले पनि ठूलै संख्यामा विद्युतीय बस भित्र्याउने प्रक्रिया अगाडि बढाइरहँदा नेपालको निजी क्षेत्र पनि तयार देखिएको हो। अधिकांश व्यवसायी विद्युतीय बसको पूर्वाधार नहुँदा सरकारले पूर्वाधार निर्माण गरेपछि बस भित्र्याउने पक्षमा थिए।

सरकारले तीन सयवटा विद्युतीय बस सञ्चालन गर्ने बताउँदै स्पेसिफिकेसनसम्बन्धी काम गरे पनि टेन्डर आह्वान गर्नसकेको छैन।

निजी क्षेत्रको दिगोले विद्युतीय बस भित्र्याई बुकिङ समेत खुल्ला गरेको छ। फोटोन, ब्रिक्सनलगायतका ब्राण्ड नेपाली बजारमा भित्र्याउने व्यवसायीको योजना छ।

सुन्दर यातायात प्रालिले चीनबाट आफैँ विद्युतीय बस ल्याएर सञ्चालन गर्दै आएको छ। स्पेयरपार्ट्ससहितको शोरुम खोल्न लागेको कम्पनीले बस बिक्री गर्न बुकिङ समेत खुल्ला गरेको छ। कम्पनीले चीनको बीएके कम्पनीका बससँगै कार समेत बिक्री गर्ने बताएको छ।

दिगोले सीएचटीसी कम्पनीका विद्युतीय बस भित्र्याएको छ। उक्त बसमा एबीएस, भेन्टिलेसनसँगै रुफ ह्याच, स्टेयर लाइट, प्रोटेक्सन बार, एलईडी रुट बोड, रिमोट कन्ट्रोल डोर, डिजिटल घडी, एमपी ३, रेडियो, चार्जिङ ठाउँ, एयर कन्डिस्नर, हेड रेललगायतका सुविधा छन्।

दिगो कम्पनीका कार्यकारी अधिकृत (सीईओ) हेमन्त पुरानिकले बिक्री गर्ने उद्देश्यले विद्युतीय बस भित्र्याएको बताए।

‘हामीले विद्युतीय कार, हाइससँगै विद्युतीय ठूला बस पनि भित्र्याएका छौँ’, कम्पनीका सीईओ पुरानिकले नेपालखबरसँग भने, ‘२८ सिटे बसमा ७० जनासम्म मानिस अट्छन्। एकपटकको पूरा चार्जमा दुई सय किमिसम्म गुड्छ।’

सीएचटीसीका बसमा १ सय ४० किलोवाटको मोटर र १ सय २९ किलोवाट घण्टाको ब्याट्री छ। पुरानिकले विद्युतीय बस सञ्चालनको लागि यातायात व्यवसायीसँग छलफल भइरहेको जानकारी दिए।

एमएडब्लुले नेपालमा फोटोनका विद्युतीय बस भित्र्याउने बताएको छ। फोटोनका सेल्स एण्ड मार्केटिङ हेड नविन आचार्यले २०२१ को सुरुमै विद्युतीय बस नेपाल भित्र्याउने बताए।

‘हामीले विद्युतीय बस बिक्रीको लागि २०२१ को सुरुमा नेपाल भित्र्याउने लक्ष्य राखेका छौँ’, आचार्यले भने।

फोटोनले विद्युतीय बसका लागि छिमेकी मुलुक भारतसँग सहकार्य गर्दै भारतको प्रसिद्ध बस कम्पनी पीएमआईसँग ज्वाइन्ट भेन्चर (संयुक्त उपक्रम)मा म्यानुफ्याक्चरिङ प्लान्ट स्थापन गरेको हुँदा नेपाली बजारमा सहज उपलब्ध हुने कम्पनीले जनाएको छ।

चीनमा समेत फोटोनका प्लान्ट हुँदा भारत तथा चीन दुवै देशबाट ल्याउन सकिने उल्लेख गरेको छ।

फोर्स मोटर्सको आधिकारिक बिक्रेता समेत रहेको हिमालय अर्गनाइजेसनले अस्ट्रेलियन कम्पनी ब्रिगसनका विद्युतीय नेपाल भित्र्याउने बताएको छ।

कम्पनीले अस्ट्रेलियाबाट सिधै ल्याउँदा महंगो पर्ने भएकाले भारतमा स्थापना हुँदै गरेको प्लान्टबाट नेपाल ल्याउने जानकारी दिएको छ।

‘भारतमा २०२० को सुरुमै गाडी उत्पादन हुने भनिएको थियो। त्यहीअनुसार हामीले योजना बनाएका थियौँ’, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले नेपालखबरसँग भने, ‘कोभिड १९ का कारण भारतमै उत्पादन ढिला भइरहेको छ। सिधै अष्ट्रेलियाबाट ल्याउँदा एउटै बसको २ करोड बढी मूल्य पर्छ।’

उनले भारतको प्लान्टमै स्थापना भए नेपाल आयात गर्न केही सस्तो हुने बताए।

योजना बनाउँदै व्यवसायी
डिजेल बस सञ्चालन गरिरहेका यातायात व्यवसायी विद्युतीय बस सञ्चालन गर्न इच्छुक रहेका छन्। सुरुमा सरकारले तीन सय विद्युतीय बस भित्र्याउने र पूर्वाधार बनाएपछि आफूहरुले ल्याउने योजना बनाएका व्यवसायी सरकारले नल्याए पनि आफूहरु विद्युतीय बस भित्र्याउन तयार रहेको बताएका छन्।

सुन्दर यातायातले अहिले ४ वटा विद्युतीय बस सञ्चालन गरिरहेको छ। कम्पनीले २०२० भित्रै थप २५ विद्युतीय सब सञ्चालनमा ल्याउने दाबी गरेको छ।

सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले तिहारलगत्तै २५ विद्युतीय बस भित्रिने बताए।

‘हामीले २०२०को सुरुमै २५ वटा विद्युतीय बस भित्र्याउने तयारी गरेका थियौँ’, थापाले भने, ‘सुरुमा चीनमा कोरोना देखियो, त्यसपछि नेपालमा। त्यसैले बस आउन सकेनन्। तिहारपछि विद्युतीय बस आउँदै छन्।’

यातायातमा सिन्डिकेट हटाउँदा चर्चामा आएको मयुर यातायातले पनि विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ।

मयुर यातायातका अध्यक्ष मोहन श्रेष्ठले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने योजना बनिरहेको बताए। मयुर कम्पनीले सुरुमा ४० वटा बस चलाउने योजना भए पनि बस आउन नसकेको बताएको छ।

‘हामीले नेपालको एउटा कम्पनीसँग सम्झौता गरेका छौँ। उसले चीनबाट बस ल्याएर हामीलाई दिन्छ’, श्रेष्ठले भने, ‘हामीले सम्झौता गरेको कम्पनीले तत्काल १० वटा विद्युतीय बस उपलब्ध गराउन सक्ने बताएको छ। हामीले सुरुमै कम्तीमा ४० वटा विद्युतीय बस उपलब्ध गराउन भनेका छौँ।’

बसमा कुनै समस्या आए सम्झौता भएको कम्पनीले नै जिम्मा लिने हिसाबले काम गर्ने श्रेष्ठले बताए।

‘मंसिरमा उहाँहरुसँग छलफल हुँदै छ। उहाँहरुले कति बस उपलब्ध गराउन सक्नुहुन्छ, त्यो हेर्छौँ’, उनले भने, ‘हामीलाई त १०० वटा विद्युतीय बस एकैपटक चलाउन पाए राम्रो हुन्थ्यो।’

विद्युतीय बस सञ्चालनमा चुनौती
विद्युतीय बस नयाँ प्रविधि भएकाले पेट्रोलियमका बस सञ्चालनको तुलनामा धेरै चुनौती हुनेछ। सार्वजनिक यातायातमा विद्युतीय बस प्रयोग गर्न पर्याप्त पूर्वाधार समेत निर्माण भइसकेको छैन। विद्युत प्राधिकरणले ५० वटा चार्जिङ स्टेसन निर्माण गर्ने बताए पनि काम हुनसकेको छैन।

यातायात व्यवसायीले पूर्वाधारबाहेक प्राविधिक चुनौती समेत रहेको बताए। विद्युतीय बसको नेपालमा पार्ट्स तथा प्राविधिक जनशक्ति नहुँदा थप चुनौती रहेको उनीहरु बताउँछन्।

त्यस्तै स्पेयर पार्ट्स, सर्भिस सेन्टर, ब्याट्री र प्राविधिक व्यवस्थापनमा समस्या हुनसक्छ। दिगो कम्पनीले भने बससँगै स्पेयर पार्ट्स र सर्भिस सेन्टर उपलब्ध रहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .