राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन्।
बिहीबार साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा एक कार्यक्रमकाबीच मानार्थ महारथीको चिन्ह प्रदान गरेकी हुन्। नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने नरवणे भारतीय सेनाका १८औं सेना प्रमुख हुन्।
योसँगै उनी नेपाली सेनाको मानार्थ महारथी बनेका छन्। नेपाली सेना र भारतीय सेनाले एकअर्काका प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने चलन छ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले दुई वर्षपहिले भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका थिए।
भारतीय सेना प्रमुख प्रधानसेनापति थापाको विशेष निमन्त्रणामा सम्मान ग्रहण गर्नका लागि बुधबार नेपाल आएका हुन्।
पहिलो दिन धार्मिक क्षेत्र वसन्तपुर दरबार, जीवित देवि कुमारीको दर्शन र पशुपतिको दर्शन गरेका नरवणेले बिहीबार भेटवार्ता तथा औपचारिक कार्यक्रम सुरु गरेका हुन्।
दुई देशका सेनाबीचको यो परम्पराले आपसी सम्बन्ध थप मजबुद बनाउने विश्वास गरिएको छ। भ्रमणकै क्रममा सेनाध्यक्ष नरवणेले नेपाली सेनालाई दुई वटा फिल्ड अस्पताल स्थापनाका लागि स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
नेपाली सेनाले पनि भारतीय सेनालाई नेपालमा बनेका एक लाख थान मास्क प्रदान गरेको छ। राष्ट्रपतिसँगको शिष्टाचार भेटवार्तापछि प्रधानसेनापति थापाले नरवणेको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन्।
शुक्रबार बिहान माउण्टेन फ्लाइटमा उनलाई सोलुखुम्बु लैजाने तयारी सेनाले गरेको छ। नेपाली सेनाको हेलिकोप्टरमा त्यहाँ गएर उनले सगरमाथा लगायत हिमालको अवलोकन गर्ने छन्।
त्यसपछि आर्मी कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
शुक्रबार दिउँसो रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि नरवणे स्वदेश फर्किनेछन्।
भिडियाे:
याे पनि:
- भारतीय सेनाध्यक्ष नरवणे आउनुअघि नेपाली सेनाले सार्वजनिक गर्यो यस्तो भिडियो
- भारतले भन्यो- सेनाध्यक्ष नरवाणेको भ्रमणका बेला द्विपक्षीय रक्षा साझेदारीबारे छलफल हुनेछ
- भारतीय सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु
- भारतीय सेनाध्यक्ष नरवाणेलाई मानार्थ महारथीको उपाधि दिने निर्णय
प्रतिक्रिया