भारत सरकारको अनुदान सहयोगमा नुवाकोटको विदुर नगरपालिकास्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ।
भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले भारत सरकारको अनुदान सहयोगमा निर्मित विद्यालय भवनको मंगलबार संयुक्त उद्घाटन गरे।
उद्घाटनपछि जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई उक्त भवनको स्वामित्व हस्तान्तरण गरेको छ।
कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधि उपस्थित थिए।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ५० लाखको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा भवन निर्माण भएको हो।
यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको 'आजादीका अमृत महोत्सव' अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनामध्ये एक हो।
यस विद्यालयको स्थापना सन् १९५१ मा भएको हो। त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर के.आई सिंहले यस विद्यालयको डिजाइन गरेका हुन्।
यस विद्यालयमा १३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन्। भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्नेछ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन्। तीमध्ये नुवाकोट जिल्लाका ७ गरी बागमती प्रदेशमा १०३ वटा छन्।
भारत र नेपालबीच बहुपक्षीय एवम् बहुपक्षीय विकास साझेदारी रहेको छ। जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्ने भारतीय दूतावासले जनाएको छ।
यस विद्यालय परियोजनाको कार्यान्वयनले शिक्षा लगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।
Shares
प्रतिक्रिया