ad ad

बागमती


भूमि आयोग नुवाकोटमा ९ हजार निवेदन

भूमि आयोग नुवाकोटमा ९ हजार निवेदन

नेपालखबर
भदौ १४, २०७९ मंगलबार ११:७, नुवाकोट

जग्गा माग गर्दै राष्ट्रिय भूमि आयोग नुवाकोट जिल्लामा करिब नौ हजार निवेदन परेका छन्। जिल्लामा रहेका १२ पालिकामध्ये आयोगको केन्द्रीय कार्यालयसँग ‘कार्य सहमति पत्र’मा सम्झौता गरेर निवेदन सङ्कलनको चरण पूरा भएको जनाइएको छ। 

आठवटा पालिकामा ८ हजार छ सय ४० निवेदन प्राप्त भएको आयोगको नुवाकोट अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए। उनका अनुसार २०७८ फागुन २६ मा आयोगले जारी गरेको ३५ दिने सूचनाको समयसीमा भित्र भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीमार्फत जग्गा प्राप्तिको माग गर्दै उक्त संख्याको निवेदन प्राप्त भएको हो।

प्राप्त निवेदनमध्ये भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या ४ सय २८ वटा छ भने अव्यवस्थित बसोबासीको संख्या ८ हजार २ सय १२ रुजु गरिएको छ।

‘विदुर नगरपालिका–३ ले निवेदन सङ्कलन गरिसकेको भए पनि कम्प्युटरमा प्रविष्ट गर्न बाँकी रहेकाले उक्त वडाको थप हुँदा निवेदन संख्या नौ हजार पुग्ने देखिन्छ’, जिल्ला अध्यक्ष न्याैपानेले भने ‘सङ्कलन गरिएका निवेदनमा यसअघिका विभिन्न नाममा गठन भएका आयोगले सङ्कलन गरेको निवेदनलाईसमेत समावेश गरिएको छ।’

आयोगको केन्द्रीय कार्यालयसँग स्थानीयतहले सम्झौता पश्चात निवेदन सङ्कलनको लागि जारी गरेको ३५ दिनको अवधिमा सङ्कलन भएका निवेदनको हाल वडातहमा रहेका सहजीकरण समितिले छानबिन अघि बढाएका छन् । सूचना प्रवाहको पहुँच भन्दा बाहिर रहेका तथा निवेदन बुझाउन आवश्यक कागजात पुराउन नसकेका एवं वडामा कर्मचारीको अभावले छुट भएका सुकुम्वासीको हकमा भने ‘विशेष निर्णय’ गरेर थप निवेदन सङ्कलन गर्न सकिने आयोगले जनाएको छ । 

आयोगसँग सम्झौता गरेको मध्ये जिल्लाको तादी गाँउपालिका–३ ले पाँच परिवार सुुकुम्वासी र ३८ परिवार अव्यवस्थित बासोबासीलाई ‘निवेदन दर्ता तथा नापनक्साको निस्सा’ गत असार २७ मा उपलब्ध गराएको थियो। जिल्लाको अन्य वडामा सहजीकरण समिति गठनको प्रक्रियामा रहेकाले त्यसपश्चात् निस्सा वितरण हुने भूमि आयोग नुवाकोटका सदस्यसचिव एवं नापी अधिकृत सञ्जीवकुमार सिंहले जानकारी दिए।

उनका अनुसार आयोगको केन्द्रीय कार्यालयसंग भएको सम्झौता अनुसार जिल्लाको बेलकोटगढी नगरपालिकासहित तारकेश्वर, पञ्चकन्या र दुप्चेश्वर गाँउपालिकाले जग्गा मागका लागि यही भदौ १ मा ३५ दिने सूचना जारी प्रकाशित गरेको छ।

निवेदन सङ्कलनपश्चात् कम्प्युटरमा प्रविष्ट, वडा र पालिका सहजीकरण समितिको निर्णय, पालिकाको कार्यपालिका बैठकको निर्णय हुँदै जिल्ला सहजिकरण समितिको सिफारिससहित आयोगले जग्गा उपलब्ध गराउन नुवाकोटमा कम्तिमा छ महिना लाग्ने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .