नुवाकोटमा फेसबुक स्टाटस सम्बन्धमा नेपाली कांग्रेसको जिल्ला समितिले आफ्ना एक नेतालाई स्पष्टीकरण मागेको छ।
जिल्लाको तारकेश्वर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि सूर्यमान श्रेष्ठ (गणेश) विरुद्ध नेपाली कांग्रेस जिल्ला अनुशासन समिति (नुवाकोट) मा उजुरी परेको हो।
तार्केश्वर गाउँपालिका वडा नम्बर १ निवासी कांग्रेसका क्षेत्रीय प्रतिनिधि जनार्दन अधिकारीले दिएको उजुरीमा उनले तार्केश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीको चरित्र हत्या हुनेगरी फेसबुकमा स्टाटस लेखेको आरोप लगाइएको छ। अधिकारी कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्।
सोही प्रकरणमा कांग्रेस जिल्ला समिति (नुवाकोट) ले पार्टीका क्षेत्रीय प्रतिनिधि श्रेष्ठलाई सात दिनभित्र स्पष्टीकरण दिन भनेको हो।
उनलाई कांग्रेसको विधान २०१७ (संशोधित सहित) को परिच्छेद ९ धारा ३४ उपधारा १ को (क) बमोजिम कांग्रेस पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरीत हुने गरि अनुशासन उल्लंघन गरेको आरोप लागेको समितिका संयोजक श्रीराम श्रेष्ठद्वारा जारी स्पष्टीकरण पत्रमा भनिएको छ।
वडाध्यक्ष श्रेष्ठले पालिकाको बोर्ड खरिदमा गाउँपालिका अध्यक्ष शिव अधिकारीले अनियमित गरेको आरोप लगाउँदै फेसबुकमा स्टाटस लेखेका थिए।
Shares
प्रतिक्रिया