मकवानपुरको बागमती गाउँपालिकाकी ३२ वर्षीया सर्मिला मगर आजको दिन (फागुन १) लाई आफ्नो जिन्दगीको महत्वपूर्ण दिनको रुपमा सम्झिरन्छिन्। जंगल डुल्दाका ती दिन, गोली बन्दुकसँग बिताएका दिन, अनि एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न रातभर हिँँडेका जूनेली रातहरू!
हात गोडाभरी चोट पटक अनि मनमा मरिन्छ कि बाँचिन्छ भन्ने एक प्रकारको तरंग। तर पनि नथाकेको मन लिएर एकोहोरो युद्धमा होमिएकी थिइन् कलिली सर्मिला।
१३ वर्षमै होमिन् जनयुद्धमा
२०६० साल। जुन बेला उनी १३ वर्षकी थिइन्। कक्षा ६ मा पढ्दै गरेकी उनलाई किताबको पढाई भन्दा माओवादी सशस्त्र द्वन्द्वले ध्यान खिच्यो। अन्ततः किताबको झोला छोडेर बन्दुक बोक्न तयार भइन्। तत्कालिन फापरबारी गाविस, सर्मिलाको गाउँलाई माओवादीको अखडा मान्ने गरिन्थ्यो। गाउँमा केटा मान्छेहरु कमै हुन्थे। किनकी गाउँमै बसे नेपाली सेनाले मार्ला भन्ने डर, वन गए युद्धमा मरिएला भन्ने डर।
हातमा राइफल बोकेर ड्याम–ड्याम जुत्ता बजार्दै आँगनमा आएर आर्मीले भन्थ्यो– ‘माओवादीलाई लुकाएर राखेका छौ हैन, बाहिर निकालेनौ भने गोली ठोकिदिन्छु’ यो आवाज आज पनि कानमा गुञ्जिरहेको जस्तो लाग्छ, सर्मिलालाई।
गाउँका सबै दाइ दिदीहरु यो अत्याचारबाट बाहिर निस्कन पर्छ भन्दै जंगल पसिसकेका थिए। सर्मिलालाई पनि पटक-पटक लागिरह्यो म पनि लडाकु बन्नु पर्छ। मैले पनि देशको रक्षा गर्न बन्दुक बोक्न पर्छ।
उनलाई आफ्ना गाउँका दाइ दिदीहरुले यसरी अन्याय सहेर बस्न हुँदैन, हामीसँगै हिँड भनेपछि उनी १३ वर्षको उमेरमै जनयुद्धमा होमिइन्। जंगलमै युद्धको तालिम लिइन्। आफ्ना दाइ दिदी, आफन्त पनि सँगै भएका कारण उनलाई युद्ध रमाइलो लाग्यो।
‘कसैले गाली गर्ला, धम्काउला अथवा मार्ने धम्की देला भन्ने सुन्न परेन। म सुरक्षित छु भन्ने लाग्यो त्यतिबेला’ उनले भनिन्। त्यहाँ पुगेपछि बिस्तारै युद्धको परिभाषा जानिन् उनले। अनि अरु साथीहरुसँगै बन्दुक बोक्न जान्ने भइन्।
झुरझुरेको भिडन्तमा बाँचिन्
युद्धकै लागि उनी मकवानपुर सहित चितवन, काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा लगाएतका जंगलहरुमा बसेको सर्मिलाले आज पनि सम्झिरहेकी छिन्।
त्यसो त, सशस्त्र युद्धको बेला २०६२ साल माघ ८ गते फापरबारीको झुरझुरेमा सबैभन्दा ठूलो दोहोरो भिडन्त भएको थियो। सरकार पक्ष र माओवादीको ११ घन्टा लामो भिडन्तमा थुप्रै माओवादी लडाकु र सेनाले ज्यान गुमाउनु परेको थियो। उनी पनि त्यो युद्धमा लगातार ६/७ घण्टा लडिरहिन्।
ज्यान जोगाउनको लागि कभरमा बसेकी उनलाई गोली भने लाग्न पाएन। उनी भन्छिन्, ‘मेरो भाग्य बलियो भएर होला धन्न त्यो बेला गोली चाहिँ लागेन, सामान्य चोटपटक घाउ त भए।’
क्याम्पमै विवाह
जनयुद्धमा होमिएको ४ वर्षपछि सर्मिलाको विवाह भयो। काभ्रेका दीपक रानामगरसँग चितवनको क्याम्पमा उनले लगनगाँठो कसिन्। त्यतिबेला उनी १६ पुगेर १७ वर्ष लागेकी थिइन्। २०६३ सालमा जंगलबाट निस्किएर क्याम्पमा बस्न थालेपछि उनीहरुले विवाह गरेका हुन्।
‘मन परापर भएको थियो, त्यतिबेला अरुको पनि क्याम्पमै विवाह गर्ने चलन थियो। हामीले पनि २०६४ साल भदौ २ गते बिहे गर्यौं। हामी दुवैजना युद्ध बुझेका जोडी हौं,’ उनले हाँस्दै भनिन्।
यसरी भएको थियो झुरझुरे युद्ध
हेटौंडाबाट ४५ किलोमिटर पूर्वमा पर्ने साबिक फापरवारी गाविस वडा न. १ झुरझुरे भन्ने इलाकामा २०६२ साल माघ ८ गते माओवादी लडाकु र तत्कालिन शाही नेपाली सेनाबीच बेलुकी ६ बजेदेखि भिडन्त सुरु भएको थियो। हेटौंडाबाट गस्तीमा निस्केको सेना हप्ता दिनपछि त्यहाँ पुगेको खबर पाएसँगै माओवादीको मध्य कमान्डमा कार्यरत जनमुक्ति सेनाको तेस्रो डिभिजन आक्रममणका लागि तैनाथ थियो।
नेपाली सेनालाई फापरवारी बजारमा नै हमला गर्ने उद्देश्यले सम्पूर्ण डिभिजन माथि डाँडैडाँडा दगुरेर त्यहाँ पुग्यो तर सेना खोलाको किनारै किनार जनमुक्ति सेना बसेको ठाँउसम्म पुगिसकेको थियो। जनसेना फेरि पुरानो ठाँउ स्कुलको चौरमा फर्किएपछि सुरु भयो लडाइँ।
माथिल्लो पट्टी जनसेना, तल नेपाली सेनाबीच भीषण गोलीबारुद चल्यो। जनमुक्ति सेनाले चारैतिर नेपाली सेनालााई घेराबन्दी गरेको थियो। पूर्वपट्टिबाट बासु स्मृति बिग्रेड, पश्चिम पट्टिबाट बेथान स्मृति बिग्रेड र उत्तर पट्टिबाट प्रताप स्मृति बिग्रेडले मोर्चा सम्हालेका थिए। नेपाली सेनाको नाइटभिजन हेलिकप्टरले तोराबोरामा बम खसाली रहेको थियो भने सेनाले स्थानीय जनताको घरलाई युद्ध कभर बनाएर अगाडि बढेको थियो।
सर्मिला सम्झिन्छिन्, ‘स्थानीय घरहरूमा बमले आगो लागेको थियो। माओवादीहरु स्थानीयको घरमा बसेको सोचेर नेपाली सेनाले गरेको हमलामा तीन जना सर्वसाधारणसमेत मारिएका थिए। प्रताप सिंह बजु, मान बहादुर बजु र ६ वर्षीय बालकको त्यो घटनामा ज्यान गएको थियो।’
दुवै पक्षको लडाईंमा ठूलो मात्रामा नोक्सानी भएको थियो। नेपाली सेनाले मृत्यु भएका एवम् घाइते सेनाको उद्धार गरिरहेको थियो।
१७ वर्षअघिको त्यो भीषण संघर्षमा भाग्यले बाँचेकी सर्मिलाले युद्धका दिन सम्झिँदै दोहोर्याइन्, ‘मेरो भाग्य बलियो भएर होला, धन्न त्यो बेला गोली चाहिँ लागेन।’
Shares
प्रतिक्रिया