काठमाडौं–तराई फाष्ट ट्र्याकको सुरुङ निर्माण तथा पुल निर्माण गर्न आएको चाईना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आज मकवानपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
चिनियाँ चिकित्सा सहायता अभियानको ६० औं वार्षिकोत्सवको अवसरमा मकवानपुरको भीमफेदी, बकैया गाउपालिकामा रहेका धेद्रे, कोलखोला, महादेवटार, चारघरे, आँपचौर गाउँका स्थानीयहरुका लागि निशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको छ।
यी गाउँबाट स्वास्थ्य परीक्षण तथा उपचार गर्न सदरमुकाम हेटौंडासम्म पुग्नुपर्ने बाध्यता भएपछि कर्पोरेशनले स्वास्थ्य शिविर सञ्चालन गरिएको कर्पोरेशनका मेटेरियल हेड लि ऊ ले जनाएका छन्।
सामाजिक उत्तरदायित्व स्वरुप निर्माण कर्पोरेसनले यस गाउँका करिब २ सय जनालाई निःशुल्क स्वास्थ्य परिक्षण र निःशुल्क औषधि पनि वितरण गरेको थियो। शिविरमा आउन नसक्ने शारीरिक रुपमा अशक्तलाई कर्पोरेशनले सवारी साधनको व्यवस्था गरेको थियो। स्वास्थ्य शिविरमा फास्ट ट्र्याक निर्माणमा खटिएका नेपाली सेनाले समेत स्वास्थ्य परीक्षण गराएका थिए।
स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका अधिकांशमा उच्च रक्तचाप, डायविटिज, मृगौलामा खराबी, महिलामा छाति तथा स्तनको समस्या जस्ता रोगहरु पाईएको शिविरका टिम लिडर डाक्टर च्याको भनाई छ।
शिविरमा चीनको परम्पगत चिकित्सा विधि एक्युपन्चरबाट पनि उपचार गरिएको थियो। शिविरमा इसिजी, अल्ट्रासाउण्ड, गाईनोलोजी, इएनटी लगायतको स्वास्थ्य सेवा प्रदान गरिएको मानव श्रोत शाखाका पवनराज आरणले बताएका छन्।
यस क्षेत्रका स्थानीयहरु बिरामी परेर अस्पताल जानु पर्ने भएमा निःशुल्क आफ्ना सवारी समेत उपलब्ध गराउँदै आएको चाईना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन (सीएससीईसी) ले विकट तथा दूरदराजका ग्रामीण वस्तीका स्वास्थ्य सेवाबाट बन्चित नागरिकलाई आफ्नै खर्चमा गरेको यो कार्य प्रशंसनीय रहेको स्थानीय बताउँछन्। कर्पोरेशनले प्रत्येक वर्ष स्वास्थ्य शिविर गर्ने भएको छ।
Shares
प्रतिक्रिया