बागमती प्रदेश सरकारले वैशाख १० गतेको उपनिर्वाचनपछि मात्रै पूर्णता पाउने भएको छ। कांग्रेसले उपनिर्वाचनपछि मात्रै पूर्णता दिने प्रस्ताव गरेपछि आउँदो सोमबार बागमतीको मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपालखबरलाई बताए।
बागमती सरकारलाई पूर्णता दिन वैशाख १० को उपनिर्वाचन कुर्ने तयारीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको उनले बताए।
‘बागमती प्रदेश सरकारले पूर्णता अब उपनिर्वाचनपछि मात्रै पाउँछ,’ उनले भने,, ‘किनकी अहिलेको सत्ता समीकरण राजनीतिक दलहरुबीचमा सबै प्रदेशको पनि छलफल गर्नुपर्ने अवस्था छ। कतिपय कुरा हामीले प्रदेश स्तरमा मात्रै छलफल गरेर टुंगिदैन।’
केन्द्रीय नेतृत्वको शीर्ष नेताहरूले पनि छलफल गरेर टुंग्याउनुपर्ने विषय रहेको भन्दै उनले बाँकी प्रक्रिया उपनिर्वाचनपछि मात्रै हुने बताएका हुन्।
साथै, उनले कांग्रेसका कारणले मात्र बागमतीको मन्त्रिपरिषद् विस्तार नरोकिएको दाबी गरे।
कांग्रेसले ‘अड्को’ थाप्दा सरकारलाई पूर्णता दिन समस्या भइरहेको हो? भन्ने नेपालखबरको प्रश्नमा जवाफ दिँदै जम्मकट्टेलले भने, ‘पार्टीभित्र जटिलता छ। बागमतीमा मात्रै होइन देशमा नै जटिल अवस्था चलिरहेको छ। कांग्रेसको कारणले मात्रै होइन, अरु पनि कारण छन्।’
अबको केही दिनमै यो सकसबाट आफू मुक्त हुने उनले दाबी गरे।
केन्द्रमा पनि उपनिर्वाचनपछि मात्रै पूर्णता पाउने तयारी रहेको भन्दै केन्द्रकै ढाँचामा बागमती सरकारलाई पूर्णता दिने उनले बताए।
बागमतीमा हाल स्वास्थ्य मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोेजगार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र संस्कृती पर्यटन तथा सहकारी मन्त्रालय रिक्त छ।
जसमा कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त हुनेछन्।
Shares
प्रतिक्रिया