ad ad

बागमती


कांग्रेसले केन्द्रको मुख ताक्दा बागमती सरकारले पाएन पूर्णता

कांग्रेसले केन्द्रको मुख ताक्दा बागमती सरकारले पाएन पूर्णता

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १७:५२, हेटाैँडा

बागमती प्रदेश सरकारका लागि नेपाली कांग्रेसले आफ्ना मन्त्रीको नाम नपठाउँदा बागमती मन्त्रिपरिषद् अझै अपूर्ण छ। कांग्रेसको अलमलताले बागमती सरकारले पूर्णता पाउन सकेको छैन। 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सरकारमा सहभागी दलहरुको अलमलले सरकार विस्तार हुन नसकेको बताएका हुन्। सरकारका प्रवक्ता समेत रहेका मन्त्री श्रेष्ठका अनुसार कांग्रेसले आफ्ना मन्त्रीको नाम मुख्यमन्त्री समक्ष अझै पठाएको छैन। 

‘हामीले त अस्तिनै मन्त्रिपरिषद् विस्तार गरौं भनेका हौं’ उनले भने, ‘तर सरकारमा सहभागी दलहरुबाट मन्त्रीको नाम अझै आएको छैन। कांग्रेसले नाम टुंगो लगाएर पठाउने बित्तिकै सरकारलाई पूर्णता दिन मुख्यमन्त्री आतुर रहनु भएको छ।’

मन्त्री श्रेष्ठका अनुसार सरकारमा सहभागी हुने एकीकृत समाजवादीले भने आफ्ना मन्त्रीको लागि नाम तयारी अवस्थामा राखे पनि कांग्रेसले केन्द्रको निर्णय पर्खंदै ढिला गरिरहेको छ। 

यता, आर्थिक मामिला तथा कानुनमन्त्री बहादुर सिंह लामा अबको केही दिन भित्रै कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने बताउँछन्। कांग्रेस बागमती संसदीय दलका नेता समेत रहेका लामाका अनुसार कांग्रेसले केन्द्रको निर्णय कुरिरहेको छ।

‘केन्द्रबाट पनि निर्देशन आएको छैन। यो बीचमा उपनिर्वाचन पनि भयो। अबको केहीदिन भित्रै हामी हाम्रो मन्त्रीको नाम पठाएर बागमती सरकारलाई पूर्णता दिन्छौं,’ मन्त्री लामाले भने।

बागमती प्रदेशका ११ मन्त्रालयमध्ये हाल मुख्यमन्त्री कार्यालयसहित ६ मन्त्रालयमा मन्त्री छन्। बाँकी ५ मन्त्रालयको जिम्मेवारी अझै पनि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको काँधमा छ।

गत आइतबार कांग्रेसबाट अर्थमन्त्रीमा बहादुरसिंह लामा र खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा तीर्थबहादुर लामालाई नियुक्त भएका थिए। त्यसको केही दिन भित्रै बाँकी ५ मन्त्रालयले मन्त्री पाउने दाबी गरेका मुख्यमन्त्री जम्मकट्टेलले एक हप्तासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। 

केन्द्रको राजनीतिक सत्ता गठबन्धन अनुसार बागमतीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी गरी तीन दलको सरकार छ।

अघिल्लो गठबन्धनमा पनि राप्रपा, एमाले र माओवादी मिलेर सरकार बनाउँदा त्यति समस्यामा नपरेका मुख्यमन्त्रीलाई कांग्रेस नेतृत्वको गठबन्धनले सकसमा पारेको छ। कांग्रेसले मन्त्रीको नाम समयमै नपठाउँदा सरकार विस्तारमा मुख्यमन्त्रीले चासो नदेखाएको भन्ने आलोचना भैरहेको छ।

बागमतीमा हाल स्वास्थ्य मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र संस्कृती पर्यटन तथा सहकारी मन्त्रालय रिक्त छ। जसमा कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त हुनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .